१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपाल टेलिकम नेतृत्वविहीन

काठमाडौं – नेपाल टेलिकमको आधिकारिक ट्रेड युनियनले टेलिकम नेतृत्वविहीन हुँदा दिनप्रति दिन अद्योगतिमा गएको भन्दै यथाशीघ्र प्रबन्ध निर्देशक नियुक्त गर्न माग गरेको छ। सरकारले गम्भीर भएर छिटोभन्दा छिटो प्रबन्ध निर्देशक नियुक्त नगरे आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।  

नेपाल दूरसञ्चार कर्मचारी संघले बुधबार विज्ञप्ति जारी गर्दै सरकारलाई ध्यानाकर्षण गराएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले एक महिनाअघि तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि टेलिकम नेतृत्वविहीन छ।

नेपाल टेलिकमले निजी क्षेत्रसँग चर्को प्रतिस्पर्धा गर्नुपरेको अवस्था छ। वायरलेस सेवामा बहुराष्ट्रिय कम्पनीसँग समेत तीव्र प्रतिस्पर्धा गर्दै अघि बढिरहेको बेला नेतृत्वविहीन हुँदा थप क्षति भएको संघले जनाएको छ।  

प्रतिस्पर्धी दूरसञ्चार बजारमा फोरजी तथा एफटिटिएच लगायत नयाँ सेवाको तीव्र विस्तार एवं वितरण गर्ने बेला सरकार यसप्रति रत्तिभर गम्भीर बन्न नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

आधिकारिक ट्रेड युनियनसँग भएको सहमति अनुरुप कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासका अवसरलाई थप फराकिलो पार्ने विषयमा पनि मौनता देखाएको युनियनले जनाएको छ।

सरुवा, तालिम, रिजल्ट, नियुक्ति जस्ता कम्पनीभित्रका अत्यन्त सामान्य र नियमित कामसमेत प्रबन्ध निर्देशक नभएको बहानामा काम नगरिएको उसको भनाइ छ। पाइपलाइन रहेका पुराना निर्णयहरूको कार्यान्वयनमा समेत तत्परता देखिएको छैन । कम्पनीको वर्तमान गति र कार्यशैलीले निरन्तरता पाएमा कम्पनी अधोगतिमा गइरहेको प्रति युनियनले चित्ता व्यक्त गरेको छ।

कम्पनीमा प्रतिस्पर्धी एवं क्षमतावान प्रबन्ध निर्देशक नियुक्त गर्ने सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्ले नै ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा, सुविधा सम्बन्धी निर्देशिका, २०७३ जारी गरी कार्यान्वयन समेत गरिसकेको अवस्थामा यसपटक सो निर्देशिकालाई बेवास्ता गर्दै लामो समयसम्म निमित्तलाई कम्पनी जिम्मा लगाई संस्थालाई यथास्थितिमा राखिएको संघको भनाइ छ।

प्रकाशित: २८ भाद्र २०७५ ०५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App