१८ जेष्ठ २०८३ सोमबार
image/svg+xml
अर्थ

बेसार किलोको ४ सय, सुकुमेल २६ सय

विष्णु पोखरेल, काठमाडौं, साउन १६- राजधानीको बजारमा मसलाजन्य वस्तुको मूल्य अकासिएको छ। दैनिक उपभोग्य वस्तुको मूल्य बढिरहेका बेला मसलामा प्रयोग हुने सामग्रीको मूल्य पनि वृद्धि भएको हो।
स्वेदेशमा नै उत्पादन हुने र आयातित दुवैखाले मसलाजन्य वस्तुको मूल्यवृद्धि भएको व्यापारीहरु बताउँछन्। भान्सामा दैनिक प्रयोग हुने बेसारदेखि विलासी मानिने मसलाहरुको समेत मूल्य बढेको छ।

'अहिले सबैखाले मसलाको भाउ उच्च भएको छ,' किराना व्यापारी संघका उपाध्यक्ष पुरुषोत्तम मानन्धरले भने, 'तर कसैलाई मलतल छैन।' बजारमा एक महिनाअघिको तुलनामा सुकुमेल, बेसार, अलैंची, ल्वाङ, मरिच, काजु, किसमिसलगायतको मूल्य किलोको १ सय देखि ६ सय रुपैयाँ सम्म बढेको छ।

एक महिनाअघिसम्म बजारमा २ हजार रुपैयाँ किलो पाइने सुकुमेलको अहिले थोक मूल्य किलोको २ हजार ६ सय रुपैयाँ पुगेको छ। 'सुकुमेलको भाउ त पत्याउनै नसक्ने गरि बढेको छ,' रत्न खाद्य ट्रेडर्सका सञ्चालक रामचन्द्र राजकर्णिकारले भने, 'यस्तो विधि भाउ बढेको मलाई थाहा थिएन।' उनले सुकुमेलको भाउ १ हजार २ सयभन्दा माथि गएको थाहा नपाएको बताए।

नेपाली बजारमा ग्वाटेमालाको सुकुमेल बिक्री हुने गरेको छ। 'भारतबाटै आए पनि धेरै ग्वाटेमालाकै सुकुमेल हुन्छ,' उपाध्यक्ष मानन्धरले भने। सुकुमेल मात्र होइन, एक महिनाअघि बजारमा ८० देखि १ सय रुपैयाँसम्ममा पाइने बेसारको भाउ बढेर किलोको ३ सय ८० देखि ४ सय रुपैयाँसम्म पुगेको छ। स्वेदशमा नै उत्पादन हुने भए पनि बेसारको भाउ अकासिएको छ।

व्यापारीहरुका अनुसार जडिबुटी कम्पनीहरुले मसलाजन्य वस्तुको प्रयोग बढी गर्न थालेपछि माग बढेकाले भाउ वृद्धि भएको हो। नेपालमा नै उत्पादन हुने अलैंचीको भाउ पनि बढेको छ। एक महिनाअघि किलोको ४/५ सयमा पाइने अलैची राजधानीमा अहिले किलोको ११/१२ सय रुपैयाँ पुगेको छ।

एक महिनाअघि ३ सय रुपैयाँ किलोमा बिक्री भएको मरिच भने हाल ४ सय रुपैयाँ पुगेको छ। ल्वाङ्को मूल्य पनि अघिल्लो महिनाको तुलनामा बढेको व्यापारीहरु बताउँछन्। गत महिना ३ सय ५० रुपैयाँ किलोमा पाइने ल्वाङ् अहिले ४ सय ५० रुपैयाँ केजीमा बिक्री हुन थालेको छ।

सुकुमेल, बेसार, अलैची, मरिच, ल्वाङ्को जस्तै काजु र किसमिसको पनि मूल्य बढेको छ। 'अरु मसलाजस्तै काजु किसमिसको पनि भाउ बढेको छ,' अमात्य स्टोर त्रिपुरेश्वरका सञ्चालक रामश्वरलाल अमात्यले भने। बजारमा एक महिना अघि ५ सय ६० रुपैयाँ किलोमा पाइने काजु अहिले ६ सय ६० पुगेको छ भने १ सय ४० रुपैयाँ किलोको किसमिस २ सय २० रुपैयाँ पुगेको छ।

बजारमा सबैखाले उपभोग्य वस्तुको मूल्य अस्वभाविकरुपमा बढेपछि व्यापारीहरुले यस्ता वस्तुको सञ्चिती गरेको शंका गरिएको छ। व्यापारीहरुले सञ्चिती गरेर मूल्य बढाएको आशंकामा सरकारले उपभोग्य वस्तुको मौज्दात संकलन गर्ने निर्णय गरेको छ। शुक्रबार वाणिज्य मन्त्रालयमा भएको सर्वपक्षिय छलफलले आइतबारदेखि नियमित अनुगमन गरी उपभोग्य वस्तुको मौज्दात र मूल्यको लगत संकलन गर्ने निर्णय गरेको हो।

'अस्वभाविकरुपमा बढेको मूल्यको जानकारी लिन अनुगमन गरी लगत संकलन गर्न लागिएको हो,' वाणिज्य मन्त्रालयका प्रवक्ता गणेश ढकालले भने। उनले अनुगमन टोलीले एक्कासि मूल्य बढेका सबैखाले उपभोग्य वस्तुबारे जानकारी संकलन गर्ने बताए।

प्रकाशित: १५ श्रावण २०६७ २३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App