८ वैशाख २०८१ शनिबार
अर्थ

अवालेलाई जहाज उडाउन प्रतिबन्ध

काठमाडौं - विदेशी मुद्रा अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट करिब एक करोड रुपैयाँ जरिवानाको फैसला सुनाइएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई जहाज उडाउन नदिने निर्णय गरेको छ।

निगम व्यवस्थापनले गत असार पहिलो साता क्याप्टेन अवालेलाई पुनः जहाज उडाउन दिने व्यवस्था मिलाइदिन भन्दै मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको थियो। त्यसपछि अवाले स्वयं आफूलाई जहाज उडाउन दिनुपर्ने भन्दै प्राधिकरण धाएको धायै थिए।

‘फौजदारी अभियोग लागेका क्याप्टेन अवालेजस्ता पाइलटको हकमा हाम्रो उड्डयन ऐन, नीतिनियम, कानुनमा स्पष्ट व्यवस्था नभएका कारण नीतिगत निर्णय गर्न पर्यटन मन्त्रालयलाई पत्राचार गरेका थियौं,’ प्राधिकरण उच्च स्रोतले आइतबार नागरिकसँग भन्यो, ‘त्यसपछि मन्त्रालयले अवालेलाई जहाज उडाउन नदिने निर्णय गरेको हो।’

अवालेबारे निर्णय गरिएको पत्र प्राप्त भएलगत्तै प्राधिकरणले वायुसेवा निगमलाई उक्त निर्णयको पत्र पठाएको छ। ‘उडान सञ्चालन जस्तो अति संवेदनशील कार्यमा पाइलट अवालेलाई सहभागी गराउन उपयुक्त नहुने भएकाले आवश्यक कामकारबाही गर्नू,’ उक्त पत्र उद्धृत गर्दै निगमका एक उच्च अधिकारीले जानकारी दिए।

उड्डयन प्राधिकरणले विदेशी मुद्रा अपचलन मुद्दामा राजस्व अनुसन्धान विभागमा धरौटी बुझाएर तारेखमा छुटेका निगमका उनै क्याप्टेन अवालेलाई अनिश्चितकालका लागि उडान गर्न दिन नमिल्ने निर्णय २०७४ फागुन २७ गते गरेको थियो।

वरिष्ठ क्याप्टेन अवाले २०७३ चैत २८ गते जहाज कमान्ड गरेर दुबई उड्न लाग्दा ९३ हजार ६ सय अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । ‘प्रतिवादी सुवर्ण अवालेलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १७(१) बमोजिम बरामद भएको डलरको नेपाली बिगो ९६ लाख ९० हजार चार सय आठ रुपैयाँबराबरको रकम जरिवाना हुने ठहरिएको छ’ अवालेविरुद्ध एक वर्षभन्दा बढी चलेको मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७४ चैत २२ गत गरेको फैसलामा छ, ‘अवालेले उक्त रकम राजस्व अनुसन्धान विभागमा धरौटी राखेको देखिँदा त्यही रकम यस अदालतमा झिकाइ जरिवानावापत सदरस्याहा गर्नू।’

त्यसपछि निगम व्यवस्थापनले अवालेलाई पुनः जहाज उडाउन दिन आग्रह गर्दै प्राधिकरणलाई पत्राचार गरेको थियो। ‘विदेशी मुद्रा अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार क्याप्टेन अवालेले जरिवाना बुझाइसकेको र उक्त फैसलालाई अन्तिम मानी उडान इजाजत अद्यावधिक गरी उडानमा संलग्न गराउन स्वीकृतिको निम्ति अनरोध गरिन्छ,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसारकारले हस्ताक्षर गरेको पत्रमा थियो।

अदालतमा अवालेले दिएको बयानमा ‘काठमाडौंबाट दुबई उडान गर्न जाने क्रममा मेरो झोलामा ९३ हजार ६ सय अमेरिकी डलर फेला पारी प्रहरीले पक्राउ गरेको हो। जहाज उडान, तालिम, भत्तालगायत आम्दानीबाट यो परिमाणबराबरको डलर घरमा सञ्चय गरेको थिएँ र त्यही रकम अमेरिकामा रहेकी जेठी छोरीलाई दिन लिएर जाँदा विमानस्थलमा पक्राउ परेको हुँ।’

अवालेको बयानपछि अदालत फैसलामा ‘अवालेबाट अबैध विदेशी मुद्रा बरामद भएको देखिन आयो र अनुमति नलिई उक्त रकम छोरीलाई पठाउने उद्देश्यले लगेको हो भनी कानुनको अज्ञानतावस उक्त कार्य भएको भनी बयान गरेको देखिए पनि कानुनको अज्ञानता क्षम्य नहुने हुँदा अवालेलाई अभियोग दाबीबमोजिमको सजाय निर्धारण हुनसक्ने देखियो’ उल्लेख छ।

फौजदारी अभियोगपछि क्याप्टेन अवालेको स्वास्थ्य अवस्था जाँच गरी सिफारिससहित प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको एक समितिको प्रतिवेदनपछि उड्डयन नियामक प्राधिकरणले अवालेलाई जहाज उडाउन दिन नमिल्ने निर्णय गरेको थियो।

प्राधिकरणका स्वास्थ्य सुपरीवेक्षक डाक्टर खगेन्द्र श्रेष्ठको संयोजकत्वमा उक्त समिति गठन भएको थियो। प्राधिकरणले तोकेका चिकित्सकहरूले क्याप्टेन अवालेको स्वास्थ्य तथा मनोवैज्ञानिक परीक्षण गरेपछि उनलाई उडान गर्न दिन नमिल्ने निष्कर्ष उक्त प्रतिवेदनको छ।

‘फौजदारी अभियोग लागेपछि अहिलेको अवस्थामा क्याप्टेन सुवर्ण अवालेमाथि मानसिक तनाव र दबाब हुन सक्ने भएको हुँदा यात्रु र जहाजको सुरक्षाका दृष्टिले यात्रुबाहक उडानजस्तो संवेदनशील कार्यमा उनलाई संलग्न गर्न नमिल्ने र उडान गर्न दिन नसकिने’ प्रतिवेदनको ठहर छ।

नियमित ड्युटीअनुसार जहाज कमान्ड गरेर दुबई जान लागेका अवालेलाई त्रिभुवन विमानस्थलमा २०७३ चैत २८ गते राति करिब ११ बजे विमानस्थल सुरक्षा गार्ड प्रहरीले शंका लागेर उनको ब्याग खानतलासी गर्दा अबैध डलर बरामद भएको थियो । कानुनअनुसार एक व्यक्तिले दुई हजार पाँच सय डलरसम्म साथमा लिएर विदेश जान पाउँछ। उड्डयन नियमअनुसार जहाजको चालकदलले आफूले पाउने भत्ताबाहेक एक पैसा पनि साथमा लिएर जहाज उडाउन पाउँदैन।

क्याप्टेन अवालेलाई निगमका महाप्रबन्धक कंसाकारको जोडबलमा सरकार आफैंले उडान लाइसेन्स अद्यावधिक गर्न तालिममा पठाउने अनुमति दिएपछि अवाले २०७४ पुस ७ गते निगमकै जहाजबाट मलेसिया हुँदै सिंगापुर गएका थिए। उनले त्यहाँ करिब दुई साता बिताएका थिए । त्यसअघि भदौ ८ मा पनि अवालेलाई सिंगापुर पठाउने कंसाकारको निर्णयबारे नागरिकले समाचार प्रकाशित गरेपछि सरकारले रोकेको थियो।

भदौ ८ गते क्याप्टेन अवालेलाई सिंगापुर जानबाट जुन निकायले रोकेका थिए, पुस पहिलो साता तिनै निकायले आँखा चिम्लिएर बाटो खुला गरिदिएका थिए । राजस्व अनुसन्धान विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वायुसेवा निगम सञ्चालक समिति र नागरिक उड्डयन प्राधिकरणले फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई उनको उडान लाइसेन्स अद्यावधिक गर्न सिंगापुर तालिममा पठाउने अनुमति दिएका थिए।

फौजदारी अभियोग लागेको मात्र नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा बन्देज पनि लागेका क्याप्टेन अवालेलाई विदेश पठाउने जिम्मेवारी लिएपछि निगम महाप्रबन्धक कंसाकारको त्यसबेला आलोचना भएको थियो । केही सरकारी अधिकारीले गम्भीर फौजदारी अभियोग लागेका व्यक्तिलाई विदेश पठाउन जमानी बस्ने कंसाकारलाई सरकारले कारबाही गर्नुपर्ने बताएका थिए।

अमेरिकी डलर तस्करी अभियोगमा राजस्व अनुसन्धान विभागको हिरासतमा एक महिना बसेर धरौटीमा छुटेका अवालेले त्यही विभागबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ ल्याएपछि निगमले उनलाई उडान लाइसेन्स अद्यावधिक तालिम (सिमुलेटर) पठाउन पर्यटन मन्त्रालयसँग अनुमति मागेको थियो । राजस्वले अवालेलाई दिएको प्रमाणपत्रमा ‘क्याप्टेन अवालेलाई तारेखमा राखिएको र उनलाई तालिममा विदेश पठाउन आपत्ति छैन’ भन्ने उल्लेख छ । तर, तालिम अवधिभर उनको तारेखमा राखिएको थिएन।

राजस्वको पत्रसहित निगमले पर्यटन मन्त्रालयसँग थप अनुमति मागेको थियो । त्यसपछि मन्त्रालयले ‘कडा सर्तहरू’ राखेर तालिममा पठाउन सकिने र थप प्रक्रियाका लागि उड्डयन प्राधिकरण पठाएको थियो।

पर्यटन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अवालेलाई तालिममा पठाउनुअघि केही कडा सर्त बनाइएका थिए । अवालेमाथिको अनुसन्धान प्रभावित हुन नहुने, तालिममा जाँदा लाग्ने खर्च धरौटीवापत अवालेसँग लिनुपर्ने, निगम सञ्चालक समितिबाट पनि अनुमति लिनुपर्ने, सिंगापुरबाट फर्किएनन् वा भविष्यमा मुद्दा हारे भने त्यसबापतको सबै खर्चको विवरण निगमका महाप्रबन्धक कंसाकारले लिनुपर्ने लगायत सर्त थिए । सर्तनामामा कंसाकारले हस्ताक्षर गरेका छन्।

राजस्व अनुसन्धानबाट धरौटीमा छुटेदेखि अवालेले जहाज उडाउन नपाए पनि निगममा जागीर खाएर नियमित तलब बुझिरहेका छन् । उनलाई निगमले हालसम्म निलम्बन समेत गरेको छैन।

नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार हवाई सुरक्षा नियमावलीमा विमानस्थलभित्र फौजदारी अभियोगजस्ता गतिविधिमा संलग्न हुनेलाई काम गर्न रोक लगाउने उल्लेख भएका कारण क्याप्टेन अवालेलाई जहाज उडाउन रोक लगाइएको हो । उक्त नियमावलीले त्यस्ता अभियोग लागेका व्यक्तिलाई विमानस्थलभित्र प्रवेश गर्न निषेध पनि गरेको छ।

करिब ३० वर्षअघि ट्विनअटर जहाज उडाएर निगममा जागीर सुरु गरेका ५६ वर्षीय अवालेले त्यसपछि प्रशिक्षक पाइलट हुँदै ‘बोइङ ७५७’ जहाज उडाउन थालेका थिए । पछिल्लो दुई वर्षदेखि भने उनी ‘एयरबस ३२०’ जहाजको वरिष्ठ क्याप्टेनका रूपमा काम गरिरहेका थिए।

प्रकाशित: २८ श्रावण २०७५ ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App