२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

तामाकोशीको शेयर आवेदनका लागि म्याद थप

सेयर आवेदन बुझाउन लामबद्ध दोलखाका काठमाडौंवासी । तस्विर : रासस

काठमाडौं - माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयर आवेदनका लागि एक साताको म्याद थप भएको छ। राजधानीमा बस्दै आएका दोलखाका बासिन्दाका लागि शुक्रबारसम्मको समयावधि भए पनि एक साताको म्याद थप गरिएको हो। थप गरिएको अवधिअनुसार आगामी भदौ १ गतेसम्म राजधानीमा शेयर आवेदन दिन सकिनेछ। यही साउन १६ गतेदेखि २५ गतेसम्म राजधानीमा आवेदन दिन पाउने अवधि भए पनि आवेदकको भीड बढेकाले एक साताको समयावधि थप गरिएको आयोजनाले जनाएको छ। 

नेपाल धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीले विहिवार एक साता समय थप गरिएको जानकारी दिए। “स्थानीय बासिन्दा, आयोजना र बिक्री प्रबन्धकको बोर्डले एक साताको अवधि थप गरेको छ, बिक्री प्रबन्धकले शुक्रबार सूचना प्रकाशित गरेर जानकारी देलान्।” उनले भने। 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले राजधानी काठमाडौंमा उत्साहप्रद रुपमा शेयर आवेदन भइरहेको जानकारी दिए। 

उनकाअनुसार बुधबार साँझसम्म करीब ४५ हजारले आवेदन दिएका छन्। बुधबार एकैदिन १५ हजारले शेयर आवेदन गरेका थिए। विहिवार समेत बैंक तथा वित्तीय संस्थामा ठूलो भीड लागेका कारण करीब १५ हजारको थप आवेदन परेको हुनसक्ने उनकाे भनाइ छ। बुधबार अबेरसम्म रु ९७ करोड ८६ लाख बराबरको आवेदन परेको छ। आयोजनाले स्थानीय बासिन्दाका लागि रु एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर बिक्री गर्न लागेको हाे। सरकारी नियमानुसार स्थानीय बासिन्दालाई १० प्रतिशत शेयर बिक्री गरिन्छ। 

करीब पाँच गुणाबढी आवेदन पर्ने 
प्रवक्ता डा न्यौपानेले राजधानीमा नै करीब दुई अर्ब बढीको आवेदन पर्ने अनुमान गरिएको बताए। 'दोलखाका बासिन्दा खेतीपातीमा व्यस्त रहेको र आवेदन फर्म मात्रै गाउँगाउँमा पुग्दै गरेको अवस्थामा सबै संकलन हुँदा पाँच गुणाभन्दा बढी आवेदन पर्ने सम्भावना देखिएको छ। त्यो भनेको करीब रु पाँच अर्ब बराबरको आवेदन पर्ने देखिएको छ।' प्रवक्ता डा न्यौपानेले बताए।

स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको छ। कूल ४५६ मेगावाट क्षमताको आयोजना आगामी पुस मसान्तसम्ममा निर्माण गर्ने समय तालिका तय गरिएको छ। हाल आयोजनाको ९६ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको छ। आयोजनाले स्थानीय बासिन्दालाई १० प्रतिशत शेयर बिक्री गरेपछि सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ। रासस

प्रकाशित: २४ श्रावण २०७५ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App