काठमाडौं - भारतीय राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको पहिलो ‘वाइड बडी’ जहाज ‘अन्नपूर्ण’ बुधबार दिउँसो साढे १ बजे काठमाडौं उडान भर्न तम्तयार छ।
२ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजको उक्त जहाजमा २ सयभन्दा धेरै यात्रु सिट बेल्ट बाँधेर बसेका छन् । तर, तालिकाअनुसार उड्नुपर्ने जहाज एक इन्चि पनि नहिँडेपछि यात्रुबीच खासखुस हुन थाल्छ । चालकदलले केही समयमै जहाज उड्छ, नआत्तिकन आ–आफ्नो सिटमा बस्न अनुरोध गर्छ ।तर, १५ मिनेट, आधा घन्टा, एक घन्टा हुँदै तीन घन्टा बितिसक्दा पनि जहाज नउडेपछि यात्रुबीच हल्लीखल्ली हुन्छ । न जहाज उड्छ, न यात्रु जहाजबाट बाहिर निस्किन पाउँछन् । अन्तिममा चालकदलले जहाज नउड्नाको गुह्य कारण घोषणा गर्छन्– ‘हाम्रो यो उडानलाई अनुमति दिने इन्जिनियर विमानस्थलमा नभएका कारण जहाज उडाउन पाइएन।’
सम्बद्ध स्रोतका अनुसार कलसाइन ‘९एन–एएलवाई’ भएको निगमको उक्त जहाजको उडान अनुमतिपत्रमा हस्ताक्षर गर्ने भारतीय इन्जिनियर दिल्ली विमानस्थलमा अनुपस्थित हुँदा तीन घन्टाभन्दा बढी जहाज उड्न पाएन ।
‘त्यति लामो समयसम्म पनि जहाज उड्न नपाएपछि बल्लबल्ल अर्का एक इन्जिनियर ल्याएर हस्ताक्षर गरेपछि साँझ ५ बजे जहाज उड्यो र एक घन्टापछि काठमाडौं अवतरण ग¥यो,’ स्रोतले बुधबार नागरिकसँग भन्यो, ‘हेर्दा सामान्य लागे पनि यो निगम व्यवस्थापनको चरम लापरबाही र हेल्चेक्र्याइँ हो । यस्तै घटनाका कारण निगमको छवि थप धुमिल हुँदै गएको छ।’
स्थानः नयाँदिल्ली, भारत
समयः दिउँसो १ः३० बजे
निगमले दिल्ली विमानस्थलमा आफ्ना जहाजका ‘ग्राउन्ड ह्यान्डलिङ’ गर्न तथा उडान अनुमतिमा हस्ताक्षर गर्ने लगायत अन्य प्राविधिक सहायताका लागि भारतकै छुट्टाछुट्टै निजी कम्पनीलाई जिम्मा दिएको छ । तीमध्ये उडान अनुमतिमा हस्ताक्षर गर्नुपर्ने कम्पनीका इन्जिनियरले हस्ताक्षर गरेपछि मात्र जहाज उडाउन पाइन्छ । निगमले सार्वजनिक बोलपत्र आह्वान गर्दा सबैभन्दा सस्तो प्रस्ताव राखेको एक भारतीय कम्पनीले खेलाँची गरेका कारण उक्त जहाज उड्न नपाएको हो।
निगमले दिल्लीका लागि बिहान ८ बजेको उडान तालिका बनाएको छ । यो रुटमा १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजको जहाज उडाउँदै आएको निगमले बुधबार भने पहिलो पटक २ सय ७४ सिटे वाइड बडी जहाज लगेको थियो । नियमित उडान समय पर सारेर बिहान साढे ११ बजे ठूलो जहाज दिल्ली उडेको थियो।
युरोपेली जहाज निर्माता कम्पनी एयरबसका प्रशिक्षक पाइलटको नेतृत्वमा गएको जहाजमा निगमका कोपाइलटहरू रमण घिमिरे र सजल कुइँकेल थिए । जाँदा एक र फर्कंदा अर्का कोपाइलटले जहाज उडाएका थिए । दिल्ली छोटो दुरीमा भए पनि आफ्ना को–पाइलटलाई क्याप्टेनमा ‘क्लियर’ गराउन निगमले पहिलो वाइड बडीलाई सकेसम्म धेरै उडान गराउने उद्देश्यले दिल्ली लगेको थियो।
‘हामीले उडाइरहने गन्तव्यमा यात्रु चापअनुसार हामीसँग भएका जुनसुकै आकारका जहाज लिएर उडाउने गरेका छौं,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले नागरिकसँग भने, ‘दिल्लीमा उडान अनुमतिमा हस्ताक्षर गर्ने भारतीय इन्जिनियर उपस्थित नहुँदा जहाज तीन घन्टासम्म रोकिएको जानकारी आएको छ, अझै विस्तृतमा बुझिरहेका छौं ।’
निगमसँग एयरबसमा निर्मित दुईथान वाइड बडी जहाज छन् । तीमध्ये पहिलोले साउन १६ गते कतारको दोहाका लागि पहिलो व्यापारिक उडान गरेको थियो । दोस्रो वाइड बडी भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुसेवा सञ्चालन तथा उडान अनुमतिपत्र (एओसी) लिने प्रक्रियामा छ । दोस्रो वाइड बडीलाई प्राधिकरणले ‘९एन–एएलजेड’ कलसाइन दिएको छ भने निगमले ‘मकालु’ नाम दिएको छ । प्रत्येकमा १८ बिजनेस क्लास र २ सय ५६ इकोनोमी क्लास सिट छन् । निगमले पहिलो वाइड बडी गत असार १४ र दोस्रो साउन १० मा काठमाडौं ल्याएको थियो ।
निगमसँग हाल २ सय ७४ सिटे दुईथान ‘ए३३०–२००’, १ सय ५८ सिटे दुईवटा ‘ए३२०–२००’, १ सय ९० सिटे एकथान ‘बि७५७–२००’, ५८ सिटे दुईथान ‘एमए–६०’, १७ सिटे चारथान ‘वाई१२–ई’ र १९ सिटे दुइटा ‘डिएचसी६–ट्विनअटर’ जहाज छन् । दुई वाइड र तीन न्यारो बडी तथा आन्तरिकतर्फका आठ साना जहाजबाट निगमले वार्षिक १७ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।
प्रकाशित: २४ श्रावण २०७५ ०१:३० बिहीबार