१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

सानो व्यापारबाटै फड्को मार्ने कला

तस्बिर : कृष्पा श्रेष्ठ

उद्यमी रविभक्त श्रेष्ठको व्यावसायिक करिअर लामो छ । कपडा पसलको पारिवारिक विरासतबाट व्यवसायमा अघि बढ्दै आएका रविभक्त अहिले बाबु इन्द्रभक्त श्रेष्ठले सन् १९७२ मा स्थापना गरेको एन. ई. ग्रुप (नेपाल इन्टरप्राइजेज) का अध्यक्ष छन् । उमेरले साठी उकालो लाग्दै गरेका रविभक्त म्यानुफ्याक्चरिङ, ब्याकिङ, इन्सुरेन्स, डिस्ट्रिब्युसन, इन्टरनेसनल ट्रेडिङ, कन्सल्टिङ सर्भिस र प्रोजेक्ट डेभलपमेन्टजस्ता आर्थिक क्षेत्रमा सक्रिय रहेको उनी बताउँछन् । सोल्टी होटल, समिट होटल, हिमालय बैंकजस्ता कहलिएका व्यापारिक प्रतिष्ठानमा स्वामित्व रहेको एन. ई गु्रपका मियो रविभक्तका विचारमा नेपालका सम्भावना क्षेत्र पर्यटन र जलस्रोत हुन् । नेपालको आर्थिक  विकास र समुन्नतिका लागि प्रशासनमा आमूल सुधार र निजी क्षेत्र मैत्री ऐन कानुनको आवश्यकता औल्याउँछन् उनी । आफ्ना उत्पादन र सेवाको राम्रो ब्रान्ड कमाउने र कम्पनीमा क्रिम कर्मचारी नियुक्ति गर्ने उनको नीति हो । यही नीतिले आफूलाई अगाडि बढाएको उनको आँकलन छ । युनिलिभर नेपाललाई सफलतापूर्वक स्थापना र सञ्चालन गर्दै आएका रविभक्त नेपालको प्रशासनिक झन्झट, आर्थिक नीति र कानुनकै कारण प्रत्यक्ष वैदेशिक लगानी चुनौतीपूर्ण देख्छन् उनी । नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एव संस्कृति, पर्यटन तथा सिभिल एभिएसन राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् रविभक्तले । नागरिक परिवारका लागि रविभक्तसँग विश्वमणि पोखरेलदिलिप पौडेलले गरेको कर्पोरेट कुराकानी । 

सानो कपडा पसलबाट सुरु भएको तपार्इंहरूको यात्रा अहिले एन. ई गु्रपको नाममा विस्तारित छ, विविधीकरण भएको देखिन्छ । कसरी यहाँसम्म आउनुभयो ? व्यावसायिक पृष्ठभूमि कस्तो हो ?   

हाम्रो परिवार व्यापार, व्यवसाय गर्दै आएको परिवार हो । हजुरबुबा–हजुरआमाको पालादेखि नै हामी व्यापारमा लागेका हौं । हाम्रो घर काठमाडौं इन्द्रचोक हो, त्यही घरको तल्लो तलामा सानो कपडा पसल थियो । बुबाहरू तीन भाइमध्ये जेठो मेरो बुबा व्यापार, व्यवसायमा लाग्नुभयो । माहिलो लक्ष्मीभक्त नेपाली कांग्रेसको राजनीतिमा लाग्नुभयो भने कान्छो केदारभक्त क्यारियर डिप्लोम्याट । मेरो बुबा इन्द्रभक्तले विविधीकरण र विस्तार गर्नुभयो । त्यसमा मैले आफैँले पनि विविधीकरण गर्दै लागें र अहिले मेरो छोरा रविन्द्रभक्तले आफ्नो हिसाबले अगाडि बढाउँछन् भन्ने विश्वास छ । 

कपडा पसलपछि हामीले औषधि पसल खोल्याैं र त्यसैबेला विदेशबाट आएकाहरूको पैसा सटही गर्ने काम पनि ग-यौँ । बुबा सानै उमेरदेखि व्यापारमा लाग्नु भएको हो । सानो कपडा पसल विस्तार गर्दै भारतबाट कपडा मगाउने र यहाँ होलसेलमा बिक्री गर्ने ग-यौँ । त्यतिबेला मुम्बईमा कपडा कोठी राखेको थियो । त्यहाँबाट कपडा आयात गरेर होलसेलमा बिक्री गरिन्थ्यो । त्यसपछि किराना पसल सुरु भयो । बु्रकबन्ड चियाको डिष्ट्रिब्युटनसिल लिनुभयो बुबाले । त्यस्तै व्यापारको सिलसिलामा हिन्दुस्तान युनिलिभरको प्रोडक्टको डिष्ट्रिब्युटर पाएर काम अघि बढ्यो । व्यवसायलाई एग्रेसिभ्ली विस्तार गर्ने क्रममा दक्षिण कोरियाबाट कपडा झिकाएर व्यापार अघि बढ्यो । दक्षिण कोरियासँग व्यापार गर्ने सम्भवतः पहिलो नेपाली बुबा नै हो । त्यसपछि बुबा उद्योगमा लाग्नुभयो । त्यो बेला भारतको जलान ग्रुपसँग मिलेर विराटनगरमा गणपति कपडा मिल चलायाैं । जलान ग्रुपका मुख्य मानिसको मृत्यु भएपछि मिल राम्रोसँग चल्न सकेन । हामी आफैँले त्यो मिल चलाउने प्रयास ग-यौँ, हिन्दुस्तान युनिलिभरको माल ल्याएर यहाँ बिक्री गर्दै आएका थियौं । त्यसपछि नेपालमा राम्रो बिक्री हुने भएकाले यहीँ उद्योग किन नराख्ने भन्ने विषयमा छलफल भयो । हाम्रो आग्रहपछि हिन्दुस्तान लिवरले युनिलिभर नेपाल हेटौंडामा स्थापना गर्यौँ । आजको दिन युनिलिभर नेपाली नेपालको एक मात्र सबैभन्दा धेरै डिभिडेन्ट वितरण गर्ने कम्पनी भएको छ । पब्लिक कम्पनीमा गएका छौं । यो उद्योगलाई सफलतापूर्वक अघि बढाएका छौं । बुबा इन्द्रभक्तले डाइभर्सीफाइ गर्नुभयो, त्यसमा हामी पाइला थप्दै छाैं । बुबा नेपाल चेम्बर अफ कमर्सको पाँचपटक अध्यक्ष हुनुभयो भने उद्योग वाणिज्य महासंघको पनि अध्यक्ष हुनुभयो ।

तपार्इं आफू कहिलेदेखि व्यवसायमा आउनु भयो ? यहाँको नेतृत्वमा कुन व्यवसाय सुरु भयो ?

कलेज पढ्दादेखि नै व्यापार व्यवसायमा लागेको हो । बुबाले व्यवसायको बारेमा पार्टटाइम सिकाउनु हुन्थ्यो । मैले त्रि–चन्द्र कलेजबाट बिकम गरेँ । त्यसपछि शंकरदेव क्याम्पसमा भर्ना भएँ एमकम अध्ययन गर्न । तर लामो समय यहाँ पढिँन । ६, ७ महिनापछि स्कलरसिपमा बिजनेस मेनेजमेन्ट पढ्नका लागि अमेरिका गएँ । त्यहाँ दुई वर्ष पढेर काठमाडौं फर्केपछि सन्  १९७४ बाट बिस्तारै व्यवसायमा जिम्मेवारी लिन सुरु गरेको हुँ । म व्यवसायमा आएपछि युनाइटेड इन्स्योरेन्स कम्पनी सुरु ग-यौँ ।  जुन पब्लिक लिमिटेड कम्पनी हो । त्यसपछि हिमालय बैंकमा प्रमोटरको रूपमा हाम्रो उपस्थिति छ । त्यसपछि भारतको एसआरएल डाइनेस्टिक कम्पनीसँग सहकार्य गरेर उच्च प्रविधिको एसआरएल प्रालि ल्याब सुरु गरेका छौं । जुन एसियाकै लार्जेष्ट गु्रप हो । बालाजु औद्योगिक क्षेत्रभित्र नेसनल आइसक्रिम फ्याक्ट्री पनि सञ्चालनमा ल्याऔं । सुरुमा युनिलिभरसँग मिलेर काम सुरु गरेको भए पनि पछि युनिलिभरको मेनेजमेन्ट परिवर्तन गरेपछि हामीले मात्र काम ग-यौँ । पछिल्लोपटक हाइड्रो पावर र टुरिजममा अघि बढिरहेका छौं । 

अहिले तपार्इंको प्राथमिकतामा हाइड्रो र टुरिज्म छन्  ?

हो, हाइड्रो र पर्यटन दुवै नेपालमा सम्भावना क्षेत्र हुन् भन्ने लाग्छ मलाई । हाइड्रोमा साउथ कोरियाको एउटा ठूलो कम्पनीसँग मिलेर अपर मोदीखोला परियोजनामा काम गर्ने योजना अघि बढाउने कुरा थियो । त्यहाँको सरकारी कम्पनीसँग हाम्रो कुरा भएको थियो । तर, यहाँ जस्तै कोरियामा पनि सरकार परिवर्तन भएसँगै पदाधिकारी फेरिँदा रहेछन् । उक्त परियोजना अघि बढाउन सकिएको छैन । प्रयास जारी छ । 

पर्यटन क्षेत्रमा हाम्रो प्रवेश सोल्टी होटलबाट सुरु गरेको हो । सोल्टी होटलमा सेयर रहेको ओभराई ग्रुप भारत फर्किन खोजेपछि त्यसको मुख्य सेयर हाम्रो एन.ई गु्रपले किन्यो । त्यसपछि सोल्टी होटलमा डाइरेक्टरको  भूमिकामा काम गरिरहेको छु । सोल्टी बोर्डमा गएपछि नेपालको पुरानो पाँच तारे ब्रान्ड सोल्टीलाई विस्तार गर्नुपर्दछ भन्ने लाग्यो ।  ब्रान्डेड होटल सोल्टीको राजधानी बाहिर सञ्चालन गर्ने योजनाअनुसार सोल्टी सिवक्रिम होटल्स एण्ड रिसोर्ट जोइन्ट भेन्चर कम्पनी मिलेर नेपालगञ्जमा होटल सञ्चालन गरेका छौँ । पोखरामा पनि त्यस्तै होटल सुरु गर्न जग्गा किनेर प्रक्रिया अघि बढाएका छौँ । सोल्टी सिवक्रिम ज्वाइन्ट मेन्चरलाई नेपालमा मुख्य—मुख्य सहरमा विस्तार गर्ने योजना छ । काठमाडाैंको पुरानो समिट होटल हामीले लिएका छौं । झम्सीखेल, धोवीघाटमा चौधरी ग्रुपसँग मिलेर विजनेस होटल खोल्ने भएका छौं । 

मुलुकमा राजनीतिक स्थायित्व छ भनिँदैछ । यस्तो अवस्थामा औद्योगिक वातावरण र आर्थिक क्षेत्रको अवस्था कस्तो देख्नुहुन्छ ?

आर्थिक विकासमा राजनीति विषय महत्वपूर्ण हुन्छ । हामीले धेरै समय द्वन्द्वमा बितायौँ । अहिले संविधान बनेर संघीय, प्रदेश र स्थानीय सरकार बनेको छ । केन्द्रमा बहुमत प्राप्त सरकार छ । पूरा समय एउटै पार्टी वा नेताले मुलुक चलाओस् भन्ने निजी क्षेत्रको अपेक्षा छ । अब मुलुकको एजेण्डा आर्थिक समृद्धि हो । सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सारेको छ । त्यसबाट हामी हर्षित छौं । यसले आर्थिक विकासमा सकारात्मक प्रभाव पार्छ । प्रधानमन्त्रीदेखि मन्त्री सबै राजनीतिक दलका नेताले आर्थिक विकासका एजेण्डाको बारेमा भाषण गरे पनि अझै वातावरण बनेको छैन । 

तपाईंको विश्लेषणमा सरकारले कस्तो वातावरण बनाउनु पर्छ ?

आर्थिक एजेण्डालाई सफलतापूर्वक कार्यान्वयन गर्नका लागि प्रशासन क्षेत्रमा व्यापार सुधार आवश्यक छ । अहिलेका ऐन, नियम, कानुन आर्थिक विकासमा टेवा पुग्ने गरी परिवर्तन गर्नुप¥यो । लगानीमैत्री वातावरण चाहिन्छ । निजी क्षेत्रको सुझाब लिएर आर्थिक क्षेत्रसँग सम्बन्धित नीति बनाउनुपर्छ । विदेशी लगानी पनि अपेक्षितरूपमा आउन सकेको छैन । त्यसैले हामीले प्रशासन सुधार र आर्थिक ऐन कानुनलाई प्राथमिकताका साथ  अगाडि बढाउनुपर्दछ । 

करिब साढे दुई दसकअघि नै युनिलिभर जस्तो बहुराष्ट्रिय कम्पनीसँग साझेदारी गरेर विदेशी लगानी ल्याउनुभयो । अहिले लगानीकर्ता आकर्षित हुन सकेका छैनन् । कसरी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ल्याउने त ?

अहिलेको कानुनअनुसार एफडीआई आउन निकै कठिन छ । कानुनमा व्यापक फेरबदल गर्नुपर्ने हुन्छ । कानुन लगानी मैत्री बनाउनुप-यो । कुनै विदेशी लगानी गर्न चाहेर आयो भने भौंतारिएर फर्किने अवस्था छ । एउटा सरकारी कार्यालयले अर्कोमा पठाउने, अर्कोले अर्कोमा, यता उता धाउँदै दिक्क हुने स्थिति छ । सरकारी निकायले विभिन्न बहाना बनाएर अल्झाउने गरेका छन् । हैरान भएर फर्किएर गएको सुनिन्छ । एफडीआई आकर्षित गर्न आर्थिक पक्षसँग जोडिएका ऐन, नियममा व्यापक परिवर्तन आवश्यक हुन्छ । परिवर्तन नहुञ्जेल अहिले जस्तै स–साना विदेशी लगानी त आउँला । तर, हामीले अपेक्षा गरेको र मुलुकलाई चाहिएअनुसारको एफडीआई आउन सक्दैन ।

मुलुकको आर्थिक अवस्थालाई कसरी हेर्नु भएको छ ? बैंकहरुले लगानी गर्ने पुँजी छैन भनिरहेको अवस्था छ ?

बैंकहरुले लगानी गर्न कठिन मानिरहेका छन् । विदेशी लगानीकर्ता आयो भनेसँगै मिलेर काम गरौँ भन्ने लगानीको वातावरण छैन । बैंकमा तरलताको अभाव छ । ठूलो परिणामको पैसा बैंंकले तुरुन्त भुक्तानी दिन सकेको छैन । क्यासको समस्यामा सरकारी पक्ष गम्भीर नभएको हो कि जस्तो लाग्दछ । ऋणको ब्याज बढिरहेको छ । कुनै उद्योग सञ्चालन गर्नुप-यो भने १३ प्रतिशत ब्याज तिर्नुपर्ने अवस्था छ । जुन दुई वर्षअघि करिब आठ, नौ प्रतिशत थियो । अहिले फाइनान्सियल कष्ट उच्च भयो । ब्याजको कारण लगानी गर्न प्रोजेक्ट भायबल हुन सकेको छैन । ठूलो चेक काट्यो भने दुई तीन दिन पर्खिनुपर्ने अवस्था छ । लिक्विडिटी क्राइसिस छ । यो अवस्था धेरै समय लम्बिन दिनुहुँदैन । तत्काल समस्या समाधानका लागि सम्बन्धित निकायले अग्रसरता लिनुपर्छ । सरकारले लिक्विडिटी क्राइसिसबाट कसरी उम्किने भन्ने रणनीतिक योजना बनाउनु पर्छ । सरकारले यो समस्यामा गम्भीरता नलिएको हो कि जस्तै देखिँदैन । 

तरलता अभावको समस्याबाट कसरी उम्किने त तपार्इंको प्रेसक्रिप्सन ?

राष्ट्र बैंकले मौद्रिक नीति परिवर्तन गर्नुप-यो । पैसा अफिसियल च्यानलमा आएको छैन भनिन्छ । बजारमा लगानीयोग्य पैसाको अभाव छ । सरकारले निजी क्षेत्रको पनि सुझाब लिएर अघि बढ्नुपर्छ । निजी क्षेत्रको साथ र समर्थनविना अगाडि बढ्न सकिँदैन । 

अहिले पनि धेरै पैसा बैंकिङ च्यानलमा नआएको, कन्तुरमा राखेको र कालो धनको कुरा पनि छ नि ?

हो, अहिले पनि मोटो रकम बैंकिङ च्यानलमा नआएको सुनिन्छ । कालोधनको विषयमा धेरै कुरा आएको छ । अनुत्पादक भएर पैसा बस्नुलाई राम्रो मानिँदैन । चुनावमा खर्च भएको पैसा पनि बैंकिङ च्यानलमा आएको छैन भन्ने छ । हाम्रो मुलुकले एन्टी मनी लाउन्ड्रिङमा सही पनि गरेको छ । तर, ठूलो रकम बैंकिङ च्यानल बाहिर छ ।

कालोधनलाई कसरी वैधानिक गर्ने भन्ने विषय गम्भीर छ । विदेशी मुलुकमा गरेका अभ्यासलाई आधार बनाएर एउटा कुनै स्किम ल्याएर एकपटकका लागि आफूसँग भएको रकम डिक्लेयर गर । सरकारले निश्चित प्रतिशत राजस्व लिएर ह्वाइट बनाउने अवसर पनि प्रयोग गरेको छ केही देशमा ।  कुनै वेआउट निकाल्न सकिन्छ । कन्तुरमा रहेको पैसालाई पनि अब बैंकहरुले ल्याउन पहल गर्नुपर्छ । यसमा राष्ट्र बैंकको ठूलो भूमिका हुन्छ । 

सरकारबाट के अपेक्षा गर्न सकिन्छ । वामपन्थी विचारधाराले नेतृत्व गरेको सरकार छ । निजी क्षेत्रले कसरी हेरिरहेको छ यसका काम कारबाही ?

अर्थतन्त्र कुन मोडलबाट अघि बढ्छ भन्ने कुरा अहिलेको  प्रमुख कुरा हो । भर्खर बजेट आयो । समाजवाद उन्मुख जान लागेको हो कि भन्ने उद्योगी व्यवसायीलाई परेको छ । विदेशीको बुझाइ पनि यस्तै छ । सरकारले के सोच्नु प¥यो भने नेपाल विश्व अर्थतन्त्रसँग अछूत भएर बस्न सक्दैन । विश्वअर्थतन्त्रसँग हाम्रो मुलुकलाई जोड्दै अघि बढाउनुपर्ने हो । कसरी विश्व अर्थतन्त्र जोडिने भन्ने चिन्ता हुनुपर्दछ । यस्ता मूलभूत विषयमा सरकार  छर्लङ्ग हुनुपर्छ ।

सफल उद्योगीको दृष्टिकोणबाट हेर्दा अहिले मुलुकको चुनौती के हो ? सरकारले के गर्नुपर्छ ?

विगतमा अस्थिर सरकार भन्ने थियो । अहिले राजनीतिक स्थिरता आएको छ । सरकारले अहिले तत्काल गर्ने भनेको प्रशासनिक संयन्त्रमा हेरफेर । आर्थिक नियम र पोलिसीमै रिफर्म गर्नुपर्ने छ । छिमेकी मुलुकको पोलिसी कस्तो छ ?  विकासमा फड्को मारेका  मुलुकको रिफ्रेन्स लिएर अघि बढ्नुपर्ने देखियो । उद्योगलाई पहिला विद्युतको समस्या थियो । अहिले त्यो बिस्तारै हटेर गएको छ । विद्युत निर्यात गर्ने अवस्था आउँछ । एफडीआई बढाएर विश्व अर्थतन्त्रको मापदण्डअनुसार नीति नियम बनाउनु पर्छ ।

यहाँहरु व्यापारबाट उद्यममा आउनु भयो । कतिपय व्यापारिक घराना उद्योगबाट व्यापारतर्फ केन्द्रित भएका छन् किन ?

उद्योगी व्यवसायीले जहाँ नाफा हुन्छ त्यहीँ लगानी गर्छ । कोही पनि नोक्सान खानका लागि लगानी गर्दैन । विभिन्न क्षेत्रमा काम गर्नुपर्छ । लगानीकर्ताले जहाँ अवसर छ त्यस क्षेत्रमा काम गर्छ । त्यसलाई अन्यथा मान्नु हुँदैन ।

नेपालमा लगानीका लागि कुन क्षेत्रमा सम्भावना छ ?

यो महत्वपूर्ण विषय हो । हामीले सबै क्षेत्रमा हातहाल्नु हुँदैन । नेपालको सम्भावना र बलियो पक्ष जुन क्षेत्रमा छ त्यसलाई फोकस गरेर अघि बढ्नुपर्छ । जलस्रोत नै अहिलेको सम्भावना हो । आज भुटानको जिडिपी हेरौं त । हामीभन्दा सानो मुलुकले धेरै राम्रो गरेको छ । उनीहरुले हाइड्रोमा फोकस गरेका छन्  । प्रशस्त विद्युत उत्पादन गरेर भारतलाई बेचेको छ । त्यसले भुटानको आर्थिक अवस्थामा ठूलो परिवर्तन ल्याएको छ । हाम्रो मुलुकमा पनि हाइड्रो र टुरिज्ममै सम्भावना छ । नेपाल पर्यटनमा स्वर्ग हो । हिमाल, पहाड, तराईको फरक–फरक वातावरण छ । धार्मिक पर्यटकलाई पनि बढाउन सक्छौं । बुद्ध, पशुपतिनाथ, सगरमाथा हाम्रै मुलुकमा छन् । यसलाई आधार बनाएर काम गर्ने हो भने नेपालको आर्थिक अवस्थामा व्यापाक सुधार आउँछ । हामीकहाँ बहुमूल्य जडिबुटी  छन् । उपयोगमा आउन सकेको छैन । अस्पताल, स्कुल जस्ता क्षेत्रमा पनि सम्भावना छ, हाम्रो वातावरणका कारण । यति भन्दाभन्दै पनि हाम्रो मुलुकभित्र कनेक्टिभिटी छैन । हाइवे, सडक, रेल्वे, एयर कनेक्टिभिटी मुख्य कुरा हुन् लगानीका लागि ।

उदाहरणको रूपमा आजभन्दा ५०/६० वर्षअघि दक्षिण कोरियाको प्रतिव्यक्ति आय हाम्रोभन्दा कम थियो भन्ने सुनेको थिएँ । अहिले कहाँ पुग्यो कोरिया । कोरियाले कुनै समय आफ्नो बजेटको ६० प्रतिशत बजेट पूर्वाधार विकास गर्नका लागि विनियोजन गरेको थियो । विदेशी मुलुकले गर्न सक्ने हामीले गर्न नसक्ने भन्ने हुँदैन । राजनीतिक नेतृत्वमा इच्छाशक्ति हुनुप-यो ।  हामीले पनि मुलुकभर सुपर हाइवे बनाएर कनेक्टिभिटी बनाउनु पर्छ ।

अहिले पनि हुम्ला, जुम्लाबाट बहुमूल्य जडिबुटी ल्याउन महाभारत छ । हेलिकोप्टर चार्टर गरेर ल्याउनुपर्ने अवस्था छ । कनेक्टिभिटी भयो भने क्रमशः विकास हुँदै जान्छ । छिमेकी मुलुक भारतलाई नै हेरौं । हाम्रो मुलुक पूर्वाधार विकासमा प्राथमिकतामा परेको देखिँदैन ।

नेपालको उद्यम क्षेत्र सिन्डिकेट र कार्टेलिङ भयो भन्ने आरोप छ नि ? आम उपभोक्ताको तर्फबाट हेर्दा उपभोक्तामैत्री कसरी हुने ?

सिन्डिकेट र कार्टेलिङ गर्नु नै हुँदैन । सरकारले रोक्न प्रयास पनि गरेको छ । हटाउन पहल गर्नुपर्छ । व्यापारीमाथि पनि विभिन्न आरोप छन् । केही व्यवसायी, उद्योगीको कारणले सबै उद्यमी व्यवसायलाई त्यही दृष्टिकोणले हेर्नु भएन । अहिले खुला अर्थतन्त्रमा गएकाले यी प्रवृत्ति छन् भने हटाउनु पर्छ ।

को दोषी देख्नु हुन्छ ?

दुवैको मिलेमतो भएपछि हुन्छन् यस्ता काम । भ्रष्टाचारमा लिने र दिने दुवै पक्ष संलग्न भएजस्तै त हो नि । 

निजी क्षेत्रको कमजोरी के देख्नुहुन्छ ?

दुःखका साथ भन्नुपर्छ हामी उद्योगी व्यवसायीमा पनि राजनीति हुन्छ । हामीबीचको राजनीतिले सरकारसँग लबिङ गर्न र दबाब सृजना गर्न सक्षम छैनौं । राजनीतिकरण भएर हामी आफैँ कमजोर भैरहेका छौं । 

व्यवसायीको छाता संस्थाको भूमिका कमजोर भएको हो ? 

हो ठिक कुरा गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले अपेक्षितरुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेका छैनन् । अहिले यी संस्थाबीच मात्र नभएर एउटै संस्थाभित्र पनि राजनीति छ । सबै आफ्नै पाराले हिँडेका छन् । मैले भन्न खोजेको के हो भने उद्योग वाणिज्य महासंघको नेतृत्वमा सबै एकै ठाउँमा उभिएर नीतिगत सुधारका लागि पहल गर्नुपर्छ । सबै हल्का रूपमा प्रस्तुत भएपछि सरकारले कसरी टेर्छ ? सरकारले पनि आर्थिक मुद्दासँग सम्बन्धित पोलिसी बनाउँदा निजी क्षेत्रसँग सल्लाह लिनुपर्छ । 

निजी क्षेत्र पनि उपभोक्ता ठग्न उद्दत रहेको गम्भीर आरोप छ नि ?

केही उद्यमी व्यवसायीको कारण भएको होला । कुनै उद्योगी व्यवसायीले गलत काम गरेको छ भने उसलाई अनुसन्धान गरेर कारबाही गर्नुपर्छ । दोषी प्रमाणित भए दण्डित गर्ने हो । यहाँ त सुरुमै लगेर थुन्ने प्रचलन छ । त्यसो गर्नु भएन । उसलाई थुनेपछि उसको इज्जतमा दाग लाग्छ । उसले पछि सफाइ पायो भने पनि उसको गुमेको इज्जत प्रतिष्ठा फर्कने होइन । यस्तो प्रवृत्ति सच्याउनु प-यो ।

तपाईं सफल उद्यमी मानिनुहुन्छ ।  तपाईंको वर्किङ स्टाइल ?

म आँफूले मात्र मिहिनेत गरेर यो अवस्थामा आएको होइन । सबैभन्दा मुख्य कुरा त कर्मचारी नै हुन् । कप्मनीमा राम्रो राम्रो क्रिम मान्छे लिनुपर्दछ । त्यस्तो भयो भने कम्पनी चलाउन  सजिलो हुन्छ । इज्जतसाथ बसेर गुडविल सृजना गर्नुपर्छ । कुनै कम्पनीको गुडविल भएपछि कामको पछि जानु पर्दैन । काम तपाईंको पछि आउँछ मेरो मूलमन्त्र यही हो। सबैभन्दा गुडविल राम्रो बनाउनुपर्छ ।

नेपालमा कर्पोरेट कल्चर कस्तो छ । धेरै जस्तो व्यापारिक घराना विरासतमा चलेको देखिन्छ नि ?

हाम्रो पनि फेमली बिजनेस नै होे । तर, सबै निर्णय हामी आफैँले गर्ने गर्देनौँ । कम्पनीका स्टाफलाई चित्त दुखाउने कुरा हुँदैन । हामीले हरेक क्षेत्रको जिम्मा स्टाफलाइ नै दिएका हुन्छौं । कुनै मेजर निर्णय गर्नु परे बोर्डले निर्णय गर्छ ।

यहाँहरुको व्यवसाय पुस्तान्तरण हुँदै गएको हो ?

हो । हाम्रो व्यवसाय थर्ड जेनेरेसनमा जान लाग्यो । म पनि व्याक सिटमा बस्न थालिसकेको छु । मेरो छोरा रविन्द्रभक्त श्रेष्ठ व्यवसायमा आइसकेको छ । अहिले व्यापारलाई विविधीकरण गर्न र बढाउनमा काम गरिरहेको छ । बुबा र मेरोबीचमा पनि व्यवसायको केही प्रकृति फरक भयो ।अब छोराले पनि फरक काम गर्दै जान्छ ।

यहाँहरु संलग्न भएको युनिलिभरलगायतका कम्पनीलाई पब्लिक लिमिटेडमा लैजानु भयो । धेरै कम्पनी पब्लिकमा जान हिच्किचाएको देखिन्छ । तपार्इंको अनुभवले के भन्छ ?

अहिले सरकारले बजेटमै पब्लिक लिमिटेडमा गयो भने निश्चित प्रतिशत छुट दिने भनेर घोषणा गरेको छ । आफ्नो उद्योग सर्टेन साइजमा पुगेपछि पब्लिक लिमिटेडमा जानु राम्रो हुन्छ । पब्लिकमा गएपछि अझै धेरै सफलता मिल्छ । उदारणका रुपमा इन्डियाको अम्बानी ग्रुपलाई हेर्न सकिन्छ । मुकेश अम्बानीलाई हेरौँ । ऊ पहिला ब्रोकर थियो । मैले सुनेको ऊ सफल हुनुमा पब्लिक मनी खेलाएर त्यो स्थानमा आएको हो । पब्लिकको पैसा सहभागी बनाएर सफलता पाउने देख्छु ।

पछिल्लो समय धेरै व्यापारी घराना मेनुफ्याक्चरिङभन्दा सेवा क्षेत्र र ट्रेडिङ बिजनेसमा केन्द्रित भएको देखिन्छ नि ? किन यस्तो अवस्था ?

नेपालमा म्यानुफ्याक्चरिङ उद्योगलाई गाह्रै छ । सजिलो छैन । उत्पादन लागत बढी छ । पहिला विद्युतको पनि समस्या थियो । अहिले केही सुल्झिए पनि लेबर पोलिसी पनि उद्योग मैत्री छैन । नयाँ लेबर पोलिसी हामीलाई चित्त बुझेको छैन । हामीले दिएको सुझाबलाई समावेश गर्न सरकारले पनि इच्छा देखाएन । अझै सुधार गर्नुपर्ने विषय छन् । सर्भिस क्षेत्रमा पर्यटन धेरै राम्रो छ । गएको वर्ष नेपालमा १० लाख पर्यटक आएको थियो । २० लाख पर्यटन नेपालमा एक दुई वर्षमै ल्याउन सक्छौं । निजी क्षेत्रले जोखिम मोलेर लगानी गरेको छ । सरकारले कनेक्टिभिटी बनाउनु प-यो । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालत हेरौं त । एयर, रोड र रेव वे कनेक्टिभिटी बनाउनु प-यो । अहिले नेपालमा आन्तरिक पर्यटको संख्या पनि बढिरहेको छ ।

अलिकति फरक प्रसंगमा जाऔं । यहाँको दैनिकी कस्तो छ ?

म बिहान ६ बजे उठ्छु । शनिबार साढे ६ बजे । बाथरुम गएपछि हरेक दिन जिममा गएर एक घण्टा बिताउँछु । फर्केपछि नुहाइँधुवाइँ गरेर पूजा कोठीमा २० मिनेट बिताउँछु । त्यसपछि ब्रेकफाष्ट खाने । घरबाट निस्किने बेलामा ९४ वर्षको आमासँग आशीर्वाद लिएर 

अफिस साढे १० बजे निक्सिन्छु । कार्यक्रम नहुँदा साँझ साढे सात आठ बजेसम्म घर फर्किन्छु । दिउँसो व्यवसायका अतिरिक्त विभिन्न कार्यक्रममा सहभागी हुन्छ । जसले बोलाए पनि सकेसम्म कार्यक्रममा सहभागी हुनुपर्छ भन्ने मेरो मान्यता छ । 

खानपिन ?

घरमा ड्रिङ्क्स गर्दिन । अक्सर बाहिर हुने भएकाले हार्ड ड्रिङ्क्स गर्छु । दुई प्याक ।

घरमा को–को हुनुहुन्छ ?

आमा जवाहरदेवी र मेरी श्रीमती कान्ता छन् । दुई छोराछोरीमध्ये छोरी रेसाको विवाह भैसकेको छ । ज्वाइँ डा. सरोजराज वैद्य, नातिनीहरू  शैभी र कासभी श्रेष्ठ वैद्य छन् । छोरा रविन्द्र मसँगै छन् । छोराको विवाह गर्न बाँकी छ ।

बिदाको दिन कसरी बिताउनु हुन्छ ?

शनिबार अबेरसम्म सुत्छु । घरमै बसिरहन मन लाग्छ । हामी सानेपा बस्छौं । तर, पुख्र्यौली घर भएकाले हरेक शनिबार इन्द्रचोक आउँछु । आकाश भैरवनाथको मन्दिरमा दर्शन गर्दछु, । साथीभाइसँग त्यहीँ भेटघाट हुन्छ । 

सामाजिक कार्यमा तपाईंको संलग्नता ?

हाम्रो ग्रुपअन्तर्गत एउटा ट्रष्ट नै छौं । बुबा–आमाको नाममा इन्द्रजुहार सहयोग गुठी छ । यो गुठीले विशेष गरी शैक्षिक, स्वास्थ्य र संस्कृतिको क्षेत्रमा योगदान छ । शैक्षिक क्षेत्रअन्तर्गत त्रिभुवन विश्वविद्यालयको एमबीएका विद्यार्थीलाई हरेक वर्ष जेहेन्दार असहाय दुई विद्यार्थीलाई फूल स्कलरसीप दिन्छौं । नेपालभर एमबीएमा टप गर्नेलाई दीक्षान्त समारोहमा इन्द्रभक्त गोल्ड मेडल प्रदान गर्छौं । एक करोड रुपैयाँ अक्षय कोषमा छ त्यसमा । स्वास्थ्य क्षेत्रअन्तर्गत शिक्षण अस्पताल महाराजगञ्जमा असहाय बालबालिकाको उपचारका लागि एक करोडको कोष खडा छ । अरू विभिन्न क्षेत्रमा काम पनि सघाउँदै आएका छौं ।

प्रकाशित: २३ श्रावण २०७५ १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App