२० श्रावण २०७७ मंगलबार
अर्थ

पहिलो वाइड बडी उड्यो

काठमाडौं -
थाई एयरवेज :
स्थापना– सन् १९६०
जहाज– ८२
गन्तव्य– ९१
कतार एयरवेज :
स्थापना– सन् १९९३
जहाज– २२०
गन्तव्य– १५०
इमिरेट्स एयरलाइन :
स्थापना– सन् १९८५
जहाज– २५५
गन्तव्य– १४३
श्रीलंकन एयरलाइन्स :
स्थापना– सन् १९७९ मा स्थापना १९९८ मा उडान सुरु
जहाज– २७
गन्तव्य– ४३
नेपाल वायुसेवा निगम :
स्थापना– सन् १९५८
जहाज– १३
गन्तव्य– करिब दुई दर्जन (आन्तरिकसहित)

यी पाँचवटै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका समान विशेषता छ, त्यो हो– सबै आफ्ना देशका राष्ट्रिय ध्वजाबाहक वायुसेवा हुन्।

थाई एयरवेज, कतार एयरवेज, इमिरेट्स एयरलाइन र श्रीलंकन एयरलाइन्ससँग हाम्रो ध्वजाबाहक निगमले दाँजिने हैसियत बनाउन नसकेको भए पनि निगमले बुझ्नैपर्ने के हो भने ती चारै वायुसेवा आफूभन्दा पछाडि स्थापना भएका हुन् । ती देशका अर्थतन्त्रको आकार र अवस्था, भौगोलिक बनावट, लगानी, स्थायी सरकार, राजनीतिक स्थायित्व लगायत कारण ध्वजाबाहकले उन्नति गर्ने गरेका छन् ।

नेपाल यो विषयमा विभिन्न कारण पछाडि परेको पक्कै हो । झट्ट हेर्दा, निगमसँग जहाज संख्या १३ र गन्तव्य करिब दुई दर्जन छन् । यसको अर्थ यो होइन कि सबै जहाज विदेश उड्ने र गन्तव्य पनि विदेशी नै हुन् । निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न ठूलो (वाइड बडी) आकारका दुई र सानो (न्यारोड बडी) आकारका तीन जहाज छन् भने बाँकी आठ जहाज सबै आन्तरिक उडान गर्ने साना हुन् । निगमका अन्तर्राष्ट्रिय गन्तव्य भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, हङकङ, युएईको दुबई र कतारको दोहा हुन् । बाँकी सबै गन्तव्य आन्तरिक हुन्।

वायुसेवा निगमको ६ दशक लामो इतिहास वा मुलुकको उड्डयन इतिहासमै पहिलो पटक दुईथान वाइड बडी जहाज खरिद गरिनु र तीमध्ये पहिलो जहाजले बुधबार राति ९ः२५ बजे काठमाडौंबाट दोहाका लागि पहिलो उडान गरेको छ ।
युरोपेली जहाज निर्माता कम्पनी एयरबसका एक क्याप्टेनको नेतृत्वमा निगमका क्याप्टेन श्रवण रिजालले पहिलो वाइड बडीको पहिलो उडान गरेका छन् । सुखद पक्ष के हो भने पहिलो उडानमा जाँदा र आउँदा लगभग पूरै (२ सय ७४) सिट बिक्री भएका छन्।

‘हाम्रो उड्डयन इतिहासमै पहिलो पटक पहिलो वाइड बडी जहाजले व्यापारिक उडान सुरु गरेको छ,’ पहिलो उडानमा यात्रुको नेतृत्व गर्दै दोहा जानुअघि निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बुधबार राति नागरिकसँग भने, ‘यात्रुको चाप देखेर हामी धेरै नै आशावादी भएका छौं । जाँदा र आउँदा दुवै उडान लगभग भरिएका छन् ।’निगमले केही दिनका लागि वाइड बडी जहाजको उडानमा प्रवद्र्धनात्मक भाडामा टिकट बेचिरहेको छ । काठमाडौंबाट दोहा जाँदा प्रतियात्रु एकतर्फी ११ हजार रुपैयाँ र दुईतर्फी १९ हजार रुपैयाँ तोकिएको छ । यो दरमा कर जोडिएको छैन ।
‘बजारीकरणमा आफैं पनि सन्तुष्ट हुन सकेका छैनौं, त्यही भएर वाइड बडी आउने मिति तय भएयता हामी आक्रामक रूपमा बजार प्रवेश गरेका छौं,’ महाप्रबन्धक कंसाकारले थपे, ‘त्यही भएर जहाजको सिट भराइ दर (अकुपेन्सी) र यात्रुको प्रतिक्रियाबाट हामी हौसिएका छौं।’

वायुसेवा निगमले पहिलो वाइड बडी गत असार १४ र दोस्रो साउन १० मा काठमाडौं ल्याएको थियो । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उडड्डयन प्राधिकरणले निगमको २ सय ७४ सिट क्षमतायुक्त दुईथान ‘ए३३०–२००’ सिरिजका वाइड बडीमध्ये पहिलोलाई ‘९एन–एएलवाई’ र दोस्रोलाई ‘९एन–एएलजेड’ कलसाइन दिएको छ । निगमले पहिलो वाइड बडीलाई ‘अन्नपूर्ण’ र दोस्रोलाई ‘मकालु’ नाम दिएको छ । प्रत्येकमा १८ बिजनेस क्लास र २ सय ५६ इकोनोमी क्लास गरी २ सय ७४ सिट छन्।

दुई वाइड  र तीन न्यारो तथा आन्तरिकतर्फका आठ साना जहाजबाट निगमले वार्षिक १७ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । महाप्रबन्धक कंसाकार लक्ष्य पूरा हुनेमा ‘ढुक्क’ छन् । तीन महिनासम्म पुरानै गन्तव्यमा उडेपछि वाइड बडीलाई जापानको टोकियो, दक्षिण कोरियाको सोल र साउदी अरबको रियाध उडाएर आम्दानी वार्षिक १७ अर्ब पुर्याउने निगमको लक्ष्य छ।

निगमसँग अब २ सय ७४ सिटे दुईथान ‘ए३३०–२००’, १ सय ५८ सिटे दुइटा ‘ए३२०–२००’, १ सय ९० सिटे एकथान ‘बि७५७–२००’, ५८ सिटे दुईथान ‘एमए–६०’, १७ सिटे चारथान ‘वाई१२–ई’ र १९ सिटे दुइटा ‘डिएचसी६–ट्विनअटर’ जहाज छन् ।हाल निगमले आन्तरिक र अन्तर्राष्ट्रिय उडान तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने विदेशी वायुसेवा कम्पनीलाई ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवा दिएवापत वार्षिक १० देखि ११ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ । यो आम्दानीमा दुइटा वाइड बडी जहाज समेटिएका छैनन्।

‘दुइटा वाइड बडी जहाजले नियमित उडान गर्न थालेपछि वार्षिक आम्दानीमा न्यूनतम ६ देखि अधिकतम ८ अर्ब रुपैयाँ वृद्धि हुने हाम्रो बजार प्रक्षेपण छ,’ महाप्रबन्धक कंसाकारले भने, ‘अब तीन नयाँ गन्तव्य जापान, कोरिया र साउदी अरब उड्न थालेपछि अन्तर्राष्ट्रिय गन्तव्य ११ पुग्नेछन् । त्यसपछि आम्दानी बढ्दै जाने छ ।’
निगमले तयार पारेको व्यापारिक योजनाअनुसार जापान, कोरिया र साउदी अरबका लागि वाइड बडी जहाजबाट प्रत्येक साता तीन उडान सञ्चालन गरिनेछन् । काठमाडौंबाट कोरिया र जापान पुग्न सिधा आठ घन्टाभन्दा बढी उड्नुपर्छ भने साउदी अरब पुग्न पाँच घन्टाभन्दा बढी उड्नुपर्छ । जहाजको सिट भराइ दर (अकुपेन्सी) बढ्दै गए ती गन्तव्यमा उडान संख्या थप्दै जाने निगमको योजना छ । वाइड बडीले जापान, कोरिया र साउदी अरब उडान नगरुन्जेल दुबई, दोहा, हङकङ, बैंकक, मलेसिया, दिल्लीलगायत गन्तव्यमा उडाइने निगमको भनाइ छ ।
 
निगमले दुइटा वाइड बडी जहाज खरिद गर्न सरकारी स्वामित्वका कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२÷१२ अर्ब रुपैयाँका दरले ऋण लिएको छ । दुवैको वार्षिक ब्याज दर १० प्रतिशत छ । यो हिसाबमा निगमले दुइटा वाइड बडीलाई वार्षिक ब्याजमात्र २ अर्ब ४० करोड रुपैयाँ तिर्नुपर्छ । निगमलाई जहाज आपूर्ति गर्ने अमेरिकाको एएआर कर्पोरेसनले वाइड बडी जहाज प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले उपलब्ध गराउने सम्झौता गरेको थियो ।

प्रकाशित: १७ श्रावण २०७५ ०६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App