जुम्ला - पछिल्लो समय चन्दननाथ नगरपालिका–१ आचार्यवाडाका गोविन्द आचार्यले कालीमार्सी धानको चामल बिक्री गर्न थालेका छन्।
उनले कोसेली घरमा व्यापार गर्न थालेको दुई महिनाभित्रै ६ क्वीन्टल मार्सी चामल बिक्यो । उनले जिल्लाको तलिउम र सिजा क्षेत्रबाट उक्त चामल संकलन गरेका थिए । ‘अहिले पसलमा मार्सी चामल छैन,’ उनले भने, ‘दैनिकजसो मार्सी चामल खोज्नको लागि उपभोक्ता आउँछन्।’
मुलुकको राजनीतिक वृत्तमा मार्सी चामलको चर्चा बढेसँगै यसको माग बढेको छ । ‘डा.गोविन्द केसी जुम्लामा मार्सी चामल खाएर अनसन बसेपछि माग झन बढेको हो,’ आचार्यले भने, ‘मैले पसलबाट एक सय ५० रुपैयाँमा मार्सी चामल बेच्थें, अहिले गाउँमै किसानले महंगोमा धान र चामल बिक्री गर्न थालेका छन् ।’ जुम्ली मार्सी चामलको अहिलेको मूल्य सबैभन्दा बढी भएको उनले बताए ।
अहिले यो चामलको खोजी जति बढेको छ, उत्पादनमा गिरावट आउँदा पाउन पनि उत्तिकै कठिन भएको उनको भनाइ छ । ‘गाउँमा मार्सी चामल खरिदको लागि जाँदा भेटिएन । अहिले बेमौसम भएकाले पनि सकिएको हो,’ आचार्यले भने, ‘मार्सी धानको चामल पाउन अब मंसिर नै कुर्नुपर्ने हुनसक्छ ।’यो चामल पोटिलो र शक्तिवद्र्धक हुनुका साथै ‘हाइ अल्टिच्युड’मा फल्ने भएकाले सबैको आकर्षण बन्ने गरेको छ । उनका अनुसार काठमाडौंस्थित घरदैलो डटकमबाट आठ क्वीन्टल मार्सी चामलको माग आएको छ । बुटवलबाट पनि पछिल्लो समय मार्सी चामलको माग बढेको छ । तर, उत्पादन घट्दा मागअनुसार चामल पुर्याउन सक्ने अवस्था नभएको उनले बताए।
चन्दननाथ–१ कै लक्ष्मीबहादुर भक्रीले जुम्ला विमानस्थल नजिकै मार्सी चामल बिक्री गर्न थालेको पाँच वर्ष बित्यो । उनले यो वर्ष २० क्वीन्टल मार्सी चामल बिक्री गरे । यसअघि यति धेरै चामल बिक्री गरेको अनुभव आफूसँग नभएको उनले बताए । ‘सिजा, गिडिखोला, तलिउम क्षेत्रबाट संकलन गरेर ल्याएको २० क्वीन्टल मार्सी चामल सकिसक्यो । अहिले खरिद गर्न जाँदा भेटिने अवस्था छैन,’ उनले भने । किसानले खेती गर्न छाड्दै गएका कारण उत्पादन घटेको उनको भनाइ छ।
‘मार्सी धानको व्यावसायिक खेती सुरु गर्न सके भविष्य राम्रो छ,’ उनले भने, ‘तर, छोरा प्याक बोक्ने र बुहारी ब्याक बोक्ने संस्कार विकास भएपछि खेतीयोग्य जमिन बाँझिन थालेका छन् । त्यसैले माग भएजस्तो उत्पादन हुनसक्ने देखिँदैन ।’ भक्रीका अनुसार यहाँको मार्सी चामल राणाकालमा राजा महाराजालाई हुलाकबाट पठाइन्थ्यो । संसारको उच्च स्थान छुमचौरमा मार्सी धान फलेकै कारण जुम्लाको नाम विश्वसामु चिनिएको छ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत बालकराम देवकोटा नेपाली बजारमा मार्सी चामलको माग ह्वात्तै बढेको बताउँछन् । ‘अहिले सदरमुकाम खलंगाका कोसेली घरमा पाइने मार्सी चामल पाइन छाडेको छ,’ उनले भने, ‘यो वर्ष ९० टन मार्सी चामल जिल्लबाट बाहिर पठाइसकिएको तथ्यांक छ ।’ जुम्लामा धान खेती हुने कुल दुई हजार आठ सय हेक्टर जमिनमध्ये एक हजार एक सय हेक्टरमा मात्रै मार्सी धानको खेती हुँदै आएको उनले बताए । पछिल्लो समय अधिकांशले उन्नत जातको धान खेती गर्ने गरेको उनको भनाइ छ।
मार्सीमा रोगको प्रकोप
कालीमार्सी धानमा पछिल्लो समय ‘ब्लास्ट’ रोगको प्रकोप बढेको छ । लागतअनुसार उत्पादनमा कमी हुँदै गएपछि किसानले खेती गर्न छाडेका छन् । ‘खेती छाडौं पहिचान गुम्ने चिन्ता । खेती गरौं मिहेनतअनुसार उत्पादन नहुने भएकाले किसान सन्तुष्ट हुन सकेका छैनन्,’ कृषि कार्यालयका योजना अधिकृत देवकोटाले भने, ‘ब्लास्ट रोग नियन्त्रण गरी उत्पादन वृद्धि गर्न बिउ राख्ने बेला ध्यान दिनुपर्छ ।’ बिउ राख्दा पोटिलो बिउ राख्ने र सुकाउँदा घाममा नभइ छहारीमा सुकाउनुपर्ने योजना अधिकृत देवकोटा बताउँछन् । बिउ रोपिसकेपछि खेतमा रासायनिक विषादीको प्रयोग नगर्न कृषि कार्यालयले पटक–पटक आग्रह गरिएको उनले बताए।
केही वर्ष पहिले जिल्लाको सबै खेतमा हुने कालीमार्सी धानको खेती पछिल्ला वर्षमा कमी हँुदै गएको छ । किंवदन्तीअनुसार चन्दननाथ बाबाले भारतको कास्मिरबाट ल्याएको कालीमार्सी धानको बीउलाई जुम्लाको तातोपानी गाविसको लाछु ज्युलामा रहेको गुरु फोक्टोमा सबैभन्दा पहिले खेती गरिएको थियो । सो फोक्टोमा बिउ राखेर परीक्षण गर्दा राम्रो भएपछि जुम्लामा कालीमार्सीको खेती सुरु गरिएको बताइन्छ । विश्वकै उच्च भूभागमा फल्ने, खाँदा मिठो र स्वादिलो, भण्डारण तथा संकलन गर्न सजिलो हुने यसको विशेषता हो । मार्सी धान प्रतिहेक्टर दुई दशमलव एक टन फल्ने कृषिविज्ञ बताउँछन् ।
प्रकाशित: १६ श्रावण २०७५ ०२:२२ बुधबार