७ आश्विन २०७७ बुधबार
अर्थ

सामूहिक धान रोपाइँमा युवा

धादिङको सिद्धलेकस्थित परेवाटारमा सामूहिक धान रोपाइँ गर्दै युवा। तस्बिर : सरिता/नागरिक

धादिङ - टन्टलापुर घाममा कोही कोदाली बोक्दै त कोही मेसिन चलाउँदै थिए। अघिअघि हाते ट्याक्टरले धान रोप्नका लागि माटो सम्याउँदै थियो भने बाउसेहरु कोदालोको सहायताले कुनाकाप्चा मिलाउँदै थिए। रोपारहरु बीउ लिएर पछिपछि रोप्दै थिए। जिल्लाको सिद्धलेक गाउँपालिका–६ परेवाटारमा युवाहरुले सामूहिक रुपमा गरेको धान रोपाइँँको दृश्य हो यो। कामदारको अभाव र आकासे पानीको भर पर्नुपर्ने बाध्यतासँगै खेतमा युवाहरुले सामूहिक धान रोपेका हुन्। 

युवाहरु आधुनिक प्रविधिसँगै कृषि पेसामा लाग्न र नेपालमै रोजगारी सिर्जना गर्ने सन्देश दिन सामूहिक रुपमा धान रोपाइँ गरिएको हो। नेपाली उखानअनुसार माना खाएर मुरी उब्जाउने यो असार÷साउनको महिनामा दुःख गरेर रोपेको धान मंसिरमा भित्र्याउने गरिन्छ। किसानहरुले लगाएको धानले वर्षदिनभरीको छाक टार्ने गरिन्छ। साउन दोस्रो साता लागिसक्दा पनि मनसुन कम परेका कारण धान रोपाइँमा ढिला भएको किसानको भनाइ छ। 

गाउँमा काम गर्ने कामदारको अभाव देखिएको छ। युवाहरु विदेश पलायनका कारण खेतीयोग्य जमिन क्रमश बाँझिदै गएको छ। अधिकांश युवाले वैदेशिक रोजगारी र अध्ययनका लागि गाउँ छाडेकाले काम गर्ने कामदारको अभाव देखिएको हो। त्यही अभाव परिपूर्ति गर्नका लागि युवा संघ धादिङ र वाइसिएल धादिङका युवाले संयुक्त रुपमा धान रोपेका हुन्। ‘तीन दिन जनश्रममा युवा अभियान’अन्तर्गत सामूहिक धान रोपाइँ गरिएको युवा संघ धादिङका अध्यक्ष दिपक खतिवडाले बताए। रोपाइँ कार्यक्रममा ६० भन्दा बढी युवासँगै स्थानीय किसान पनि सहभागी थिए। 

जिल्लामा वार्षिक ५० हजार मेट्रिक टन वर्षे धान र २० हजार मेट्रिक टन चैते धान उत्पादन हुँदै आएको छ। विशेषगरी टारहरु अर्थात कम उचाइ भएका ठाउँमा मकवानपुर १, सावित्री, सुक्खा १, २, ३, ४, ५ रामधान जस्ता धान लगाइने गरिन्छ। बढी उचाइ भएका ठाउँमा अर्थात अलि चिसो हावापानी भएका ठाउँमा खुमल ४, खुमल १०, हर्दिनाथ १, हर्दिनाथ २, सुमलचार, खुमल ११, गोरखनाथ, बायोसिट जातका धानखेती गरिँदै आएको छ।  

जिल्लामा १६ हजार हेक्टर क्षेत्रमा धान खेती गरिँदै आएकोमा अहिलेसम्म ७० प्रतिशत धान रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालय धादिङका प्रमुख केशव देवकोटाले बताए। ‘रोपाइँ ढिला भएपनि आकासे पानीको भर पर्नुपर्ने खेतमा रोपाइँ धामाधम चलिरहेको छ,’ देवकोटाले भने, ‘चैते धान ढिला पाकेको र लगाइएको मकै नपाकेका कारण ढिला रोपाइँ भएको हो।’ जिल्लाको नीलकण्ठ नगरपालिका, सल्यानटार, गजुरी, नौविसे, जीवनपुर, गोगनपानी, कल्लेरी, ज्यामरुङ, सांकोष, त्रिपुरेश्वर, मार्पाक र दार्खा धानखेती हुने पकेट क्षेत्र मानिँदै आएको छ। 

समयमै वर्षात भएका कारण गत वर्षको तुलनामा यो वर्ष धेरै खेतमा रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालय धादिङले जनाएको छ। मनसुन पूर्ण रुपमा सक्रिय भई सबै ठाउँमा एकैनासले पानी परेपछि गत वर्षको तुलनामा यो वर्ष जिल्लाको अधिकांश धान फल्ने क्षेत्रमा रोपाइँ सकिएको छ। जिल्लाका अधिकांश स्थानमा रोपाइँ सकिए पनि कतिपय स्थानमा भने मकै नपाकेकाले मकै लगाइएका खेतमा रोपाइँ गर्न बाँकी नै रहेको देवकोटाले जानकारी दिए। 

नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३३ प्रतिशत योगदान रहेकामा धानको मात्र १० प्रतिशतभन्दा माथि रहेको छ। हाल नेपालमा धानखेती हुने जमिन वार्षिक रूपमा ६ प्रतिशतले घट्दै गइरहेको तथ्यांकले देखाएको छ। बर्सेनि उर्वर भूमि घरघडेरीका लागि उपभोग हुँदै जानु, कृषिमा जनशक्तिको अभाव, जग्गा प्लटिङ गरी बाँझै राख्नु आदि कारणले खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै गइरहेकाले चामलको उच्च मागलाई धान्न धानको उत्पादकत्व वृद्धि गर्नु आवश्यक रहेको विज्ञको भनाइ छ।

प्रकाशित: १३ श्रावण २०७५ ०९:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App