coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

बुद्धको बनारस ‘अकुपेन्सी’ ८० प्रतिशतसम्म

बनारसको गंगा नदी किनारमा अवस्थित गंगा आरती घाट । तस्बिरः सुशील भट्टराई/नागरिक

बनारस - नेपाली र भारतीयसँगै तेस्रो देशका पर्यटक लक्ष्य गर्दै निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले सुरु गरेको ‘बनारस उडान’ को सिट भराइ दर (अकुपेन्सी) आशालाग्दो रूपमा बढ्न थालेको छ।

गएको असार १६ गतेदेखि भारतीय प्रसिद्ध धार्मिक सहर बनारस (वाराणसी) का लागि बुद्धले सातामा दुईवटा नियमित उडान गर्दै आएको छ। त्यसअघि महिनामा दुईदेखि चारवटासम्म ‘चार्टर’ उडान गर्दै आएको थियो। दुवै देशका यात्रु तथा पर्यटन व्यवसायीबाट माग बढेपछि बुद्धले नियमित उडान सुरु गरेको हो।

‘सातामा दुइटा नियमित उडान सुरु गरेपछि असाध्यै उत्साहजनक प्रतिक्रिया पाएका छौं,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले नागरिकसँग भने, ‘अहिले बनारस उडानमा हाम्रो जहाजको सिट अकुपेन्सी ७० देखि ८० प्रतिशतसम्म रहेको छ।’

उनका अनुसार बनारसका लागि नियमित उडान सुरु गर्नुअघि बनारससहित भारतको राजधानी नयाँदिल्लीदेखि अन्य सहरमा पनि बजार अध्ययन गरिएको थियो। काठमाडौंबाट गएको पहिलो उडान र बनारसबाट यता आएको उडानलाई उत्तर प्रदेशका मुख्यमन्त्री स्वामी आदित्यनाथले लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत तथा बिदाइ गरेका थिए। ‘यसबाट पनि हाम्रो नियमित उडानले उल्लेख्य चर्चा पाएको थियो,’ उनले भने।  

बुद्धका अनुसार काठमाडौंबाट बनारस एक घन्टा हवाई दुरीमा छ। हाल ४७ सिट क्षमतायुक्त ‘एटिआर४२–३२०’ सिरिजको जहाजबाट प्रत्येक साता सोमबार र शुक्रबार उडान भइरहेका छन् । ‘यात्रुको माग बढ्दै गएपछि बनारसका लागि ७२ सिट क्षमताको एटिआर७२–५०० सिरिजको जहाज प्रयोग गर्ने छौं,’ बस्नेतले भने।

बुद्धले बनारस उडानसँगै ‘भ्रमण प्याकेज’ पनि बिक्री गर्दै आइरहेको छ। यसबाट पनि नेपाली यात्रुलाई बनारस घुम्न थप सहज भएको छ। हाललाई बनाइएको तीनथरी भ्रमण प्याकेजमा प्रतिव्यक्ति ३२ हजार पाँच सय रुपैयाँ सुरुवाती मूल्यको तीन रात चार दिनको बनारस–सारनाथ, ३४ हजारको तीन रात चार दिनको बनारस–गया–बोधगया र ४१ हजार पाँच सय रुपैयाँको चार रात पाँच दिनको बनारस–इलाहावाद–अयोध्या प्याकेज छन्।

‘बुद्धको बनारस उडान र भ्रमण प्याकेजले यात्रुलाई धेरै नै सहज भएको छ र यसबाट हामीले आशालाग्दो प्रतिक्रिया पाइरहेका छौं,’ बुद्धको बनारस उडानको टिकट र प्याकेज बिक्री गर्दै आएको बनारसस्थित ट्राभल कम्पनी ‘ट्राभल ओसन’ का प्रतिनिधि रामबली मौर्यले नागरिकसँग भने, ‘यहाँबाट नेपाल जान बुद्ध एयरको मात्र उडान छ। यहाँका स्थानीय र यहाँ आइपुगेका विदेशी पर्यटक एक घन्टाको यात्रामा नेपाल पुग्छन् र नेपालका पोखरादेखि पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम घुम्न सक्छन्।’

बुद्धले बनारसका लागि चार्टर उडान गरिरहेको थियो तर करिब एक महिनादेखि नियमित उडान गर्न थालेका कारण भारतीय र अन्य देशका पर्यटकलाई सरल भाडा दरमा नेपाल जान सजिलो भएको मौर्यले जानकारी दिए। ‘त्यसमाथि बुद्धको ट्राभल प्याकेजले यात्रुलाई धेरै नै आकर्षित गरिरहेको छ,’ उनले भने।

बुद्धका प्रबन्ध निर्देशक बस्नेतले बनारसमा बढिभन्दा बढी नेपालीलाई लैजाने लक्ष्य लिइएको बताए। वृहत सम्भावना बोकेको नेपालको पर्यटनलाई भारतीय धार्मिक सहर बनारसमा प्रवद्र्धन गर्ने र उताका पर्यटकलाई पनि नेपालका पशुपतिनाथ, मुक्तिथान, जानकी मन्दिर, पोखरा जस्ता गन्तव्यमा पु-याउने उद्देश्यले नियमित उडान गरेका हौं,’ उनले भने, ‘नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक ल्याउन हाम्रो उडानबाट उल्लेख्य सहयोग पुग्ने विश्वास छ।’

बुद्धसँग हाल फ्रान्सको एटिआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका ६ थान ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज छन्।

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब तीन दर्जन उडान गरिरहेको छ। त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ।

प्रकाशित: ६ श्रावण २०७५ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App