८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

सडकमा सत्ताधारी एमाले: अराजकता रोक्न कि, कमजोरी ढाक्न ?

संसदीय अभ्यासमा ‘सरकार सत्ता पक्षको र सदन प्रतिपक्ष’को भन्ने मान्यता संसारभर स्थापित छ । सरकार अर्थात् सत्ता नागरिकका आवाज र अजेन्डा सम्बोधन गर्ने थलो मानिन्छ । यसैले सत्ता पक्ष आवाज उठाउनेभन्दा खुरुखुरु काम गर्नुपर्छ भन्ने मान्यता छ । 

यसैगरी प्रतिपक्षले नागरिकका माग र मुद्दाहरू आवाजका माध्यमबाट सदनमा प्रस्तुत गरी सरकारको ध्यानाकर्षण गराउँछ । सदनमा सत्तापक्षले आवाज नसुने कतिपय अवस्थामा प्रतिपक्ष सडकमा पनि ओर्लिएर दबाब दिने परम्परा छ । यसर्थ, सडक पनि प्रतिपक्षकै मानिन्छ । नेपालमा यो मान्यताको वकालत कैयन् नेताहरू कुनै न कुनै सन्दर्भमा गरिरहेकै हुन्छन् ।

यसको वकालत अझ बढी गर्नेमा नेकपा (एमाले)का नेताहरूले पर्छन् । योगेश भट्टराई, रघुजी पन्तलगायतका नेताहरू यो मान्यताका सदाबहार पक्षपोषक रहँदै आएका छन् । 

एमालेद्वारा दरबारमार्गमा आयोजित जागरणसभा ।

प्रचलित यो मान्यताविपरीत शुक्रवार एमाले सडक निस्किएको छ । जबकि, एमाले सरकारको नेतृत्व गरिरहेको दल हो । स्वयं एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रधानमन्त्री छन् ।

काठमाडौंको दरबारमार्गमा ‘जागरण सभा’ का नामले एमालेले अघोषित ‘शक्ति प्रदर्शन’ नै गरेको छ । जसमा देशका प्रधानमन्त्री रहेका उनै ओलीले सम्बोधनसमेत गरेका छन् । अर्थात्, संसदीय मान्यताको बर्खिलापमा सरकारका प्रधानमन्त्रीले नै सडक कब्जाको रणनीतिमा ओर्लिएर अमूक शक्तिलाई चुनौती दिन भ्याएका छन्। सभामा ओलीको सम्बोधनको सार थियो– एमालेले नै देश बनाउँछ, एमालेविरुद्ध गरिएको प्रचारमा कुनै सत्यता छैन, अराजकताविरुद्ध एमाले जे पनि गर्न तयार छ ।

दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै केपी शर्मा ओली ।

तर, यहाँको प्रमुख विषय यो होइन, यहाँ संसदीय अभ्यासमा स्थापित मान्यताविपरीत प्रमुख सत्तारूढ एमाले किन सडक निस्क्यो भन्ने हो । यसबारे एमाले महासचिव शंकर पोखरेलको जवाफ छ- ‘एमाले अलोकप्रिय बन्दै गयो भन्ने भाष्य सिर्जना गर्न खोजिएको छ  । पार्टी र पार्टीका नेतालाई विभिन्न आरोपहरू लगाउन खोजिएको छ । यसलाई परास्त गरेर हामी सुखी नेपाली, समृद्ध नेपाल बनाउने कार्यमा जुट्नका लागि आह्वान गरेका हौँ ।’

तर, राजनीतिक विश्लेषकहरूले भने सत्तारूढ एमालेको सडक प्रदर्शनलाई त्यसरी हेर्दैनन् । विश्लेषकहरूको नजरमा एमालेको यो प्रदर्शन आफ्नो कमी कमजोरी ढाकछोप गर्नका लागि हो ।

‘सरकार बनेको १०० दिन अस्ति नै कटेको हो । सरकारले अहिलेसम्म के गर्‍यो भन्ने प्रश्नको जवाफ भेटिँदैन । जनतामा असन्तुष्टि बढेको बढ्यै छ । सरकारको नेतृत्व गरेको एमाले र त्यसका नेताप्रति आलोचना बढ्दो छ । यस्तो बेलामा एमालेले प्रदर्शन गरेको छ,’ राजनीतिक विश्लेषक हरि रोकाको विश्लेषण छ, ‘यसलाई आफूले गरेको कमी कमजोरीहरूको ढाकछोपका लागि गरिएको भनेर अर्थ्याउन मिल्छ । गरेको पनि त्यही हो ।’

विश्लेषक हरि रोका ।

 यस्तै अर्का विश्लेषक गेजा शर्मा वाग्ले एमालेले प्रदर्शन गरेर दोहोरो चरित्र देखाएको बताउँछन् । राम्रो दृष्टिकोण लिएर जनताको बिचमा निस्किनु गलत नभए पनि सत्ताको बागडोर सम्हालिरहेको पार्टी डेलिभरी छाडेर सडकमा निस्किनु अस्वाभाविक रहेको उनको भनाइ छ । 

विश्लेषक गेजा शर्मा वाग्ले ।

‘अहिले एमालेले सडकमा निस्किनेभन्दा पनि सरकारमा रहेर सुशासनको प्रत्याभूत गर्ने हो । विकास निर्माणमा केन्द्रित हुने हो,’ वाग्ले भन्छन्, ‘तर, ऊ सडकमा निस्क्यो । यसलाई स्वाभाविक मान्न सकिन्न ।’ 

अर्का विश्लेषक केशव दाहाल जन असन्तोषलाई ढाकछोप गर्नका लागि एमालेले सभाको आयोजना गरेको बताउँछन् । ‘त्यो असन्तोष एमालेको ‘नर्सरी’मा नै उम्रिएको हो,’ दाहाल भन्छन्, ‘सरकारमा रहेको पार्टीले सडकमा आन्दोलन गर्ने होइन कि डेलिभरी दिने हो ।’

विश्लेषक केशव दाहाल ।

समाजमा अराजकता रहेको स्वीकार गर्दै दाहाल त्यो अराजकता पनि एमालेकै बारीबाट बढी मौलाएको बताउँछन् । "सरकार चलाइरहेको पार्टी नै सडकमा निस्किएर प्रदर्शन गर्ने होइन, अराजकतालाई अराजकताले नै समाधान दिन सक्दैन," उनले भने ।

प्रकाशित: ७ मंसिर २०८१ १९:३८ शुक्रबार

#CPNUML #UML Protest