२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

कोसेलीको बदलिँदो ट्रेन्ड

हिमालयको देश नेपाल घुम्न आउने पर्यटकहरु मिठो सम्झनासँगै केही न केही कोसेली लिएर फर्कन्छन् । नेपालबाट बाहिरिने कोसेलीमा खानेकुरा भन्दा सजाउने र दैनिक जीवनमा प्रयोग हुने सामान बढी हुन्छ । जस्तो कि कलात्मक भाँडावर्तन, कपडा, खुकुरी आदि।

घुमफिर गन्तव्यमा बग्रेल्ती कोसेली पसल छन् । विशेषतः काठमाडौं, पोखरा, चितवन र सगरमाथा क्षेत्रका पसल पर्यटक लक्षित हुन् । त्यहाँबाट विदेशीले सामान किन्छन् ।   सामान्यतः कोसेली तीन प्रकारका हुन्छन्–खाने, प्रयोग गर्ने र सजाउने ।नेपालबाट के के सामान लैजान्छन् त पर्यटक ?‘हातबुना सामानको व्यापार दिनदिनै कम हुँदैछ’, दुई दशकदेखि पर्यटन बजारमा कोसेलीजन्य सामान उत्पादन गर्दै आएको हिमालयन म्याप हाउसका निर्देशक पवन शाक्य भन्छन्, ‘अचेल बोक्न हल्का हुने र पैसा पनि सस्तो पर्ने सामान बढी बिक्रि हुन्छ।’

पर्यटकहरु फ्रिज म्याग्नेट, विभिन्न ठाउँका दृश्य समेटिएका प्लेट, स्नो ग्लोब, नेपालको कला, संस्कृति र सम्पदा झल्कने कप, कि रिङ, टकिला ग्लास, चम्चा,  बढी बिक्ने सामानमा पर्छन् ।धातु, सेरामिक्स र रबरबाट बनाइन्छ प्रिज म्याग्नेट । पर्यटकले रुचाउने अर्को कोसेलीमा पर्छ कोटमा सिउँरिने पिन व्याज । नेपालको झण्डा, हिमाल र वन्यजन्तुका तस्बिर अँकित हुन्छ त्यसमा । स्नो ग्लोबमा चाहिँ सगरमाथा, अन्नपूर्ण, बौद्धनाथ, स्वयम्भुनाथ, बुद्धका मूर्ति आदि झल्काइन्छ।  

म्याप हाउसले हिमाल, जनाबर, फूल आदिका तस्बिर राखेर खेल्ने तास बनाएको छ । यसको बजार पनि राम्रो छ । त्यसबाहेक बुक मार्क, अँग्रेजी क्यालेन्डर, तस्बिर पुस्तकहरु पनि बिक्रि हुन्छ ।पहिला हातैले बनाइएका सामानको माग बढी हुन्थ्यो । त्यतिबेला महँगा सामान बढी बिक्थ्यो । अचेल बोक्न सजिलो, हल्का अनि सस्तो सामान पर्यटकको रोजाईमा पर्दै आएको छ ।‘पहिले पहिलेका पर्यटकहरु अहिलेका भन्दा खर्चालु थिए’, शाक्य भन्छन्, ‘उनीहरु हस्तकला किन्न पाउँदा गर्ब गर्थे।’

अहिलेका पर्यटकको रोजाईमा हल्का र सस्ता सामान पर्दैछन् । हातबुना सामान गहुँगो र महँगो हुने भएकाले त्यसको व्यापार कम हुँदैछ ।   

कोसेलीको व्यापारमा कमि ल्याउने एउटा कारण बनेको छ डिजिटल युग । डिजिटल युगसँगै पोष्टकार्ड र पोष्टरको व्यापार स्वात्तै घटेको छ । ‘पोष्टर र पोष्टकार्ड त नगन्य मात्रामा विक्छ’, उनी भन्छन्, ‘नेपालको प्रकृति, कला, संस्कृती र जीवनशैली झल्कने कफि टेबल बुकको व्यापार पनि कम भैसक्यो ।’‘डिजिटलले पोष्टर पनि खायो, पोस्टकार्ड पनि खायो’, शाक्य सुनाउँछन्, ‘पुस्तकको व्यापार पनि स्वात्तै घटायो ।’  आज नेपाली कार्पेट र थाङका चित्रको व्यापार पनि पहिला जस्तो नभएको व्यवसायी सुनाउँछन्।

खाने कोसेलीमा नेपालबाट बढी बिक्ने सामान हो चिया । छिमेकी मुलुक चीनका पर्यटक बढेसँगै नेपाली चियाको बजार चाहिँ बढ्दो क्रममा छ ।पछिल्लो समय विदेशमा बसोबास गर्दै आएका गैरआवासिय नेपाली हुन् या पढ्न जाने विद्यार्थी नेपालबाट केही न केही कोसेली लाने गरेका छन् । उनीहरु आफन्त वा इष्टमित्रलाई उपहार दिन कोसेली किन्छन् । नेपालीले पोष्टरका साथै अन्य सामान किन्छन्।  

नेपाल हस्तकलामा धेरै अगाडि छ । जसरी नेपालले पर्यटनलाई प्राथमिकतामा राखेको छ त्यसैगरी हस्तकलाको पनि प्रवर्द्धन गर्नु पर्छ । हस्तकलाका सामानलाई नै कोसेलीका रुपमा आकर्षक रुपमा ब्राण्डिङ गरेर मार्केटिङ गर्नु पर्नेमा विज्ञहरुको जोड छ । ‘त्यसो गर्न सकियो भने हाम्रो मौलिक कोसेली विदेश पुग्छ’, शाक्य भन्छन्, ‘स्वदेशमा उद्यमशिलताको पनि राम्रो विकास हुन्छ ।’

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App