१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गुणस्तरहीन दूध उत्पादन गर्ने डेरीमा सिल

काठमाडौं - सरकारले गुणस्तरहीन दूध उत्पादन गर्ने दुई उद्योगमा सिल गरेको छ । बालाजु औद्योगिक क्षेत्रको आधुनिक डेरी प्रोडक्ट प्रालि र पुष्प दूधका नाममा बिक्री वितरण गर्दै आएको पुष्प डेरी फर्मको गोदाममा सिल गरेको हो।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल नेतृत्वको टोलीले सोमबार बालाजु क्षेत्रका दुग्ध उद्योगमा अनुगमन गरेको थियो । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको समेत सहभागिता थियो । टोलीले निजी डेरी उद्योगको अनुगमन गर्दा तीनवटा उद्योगमा कैफियत भेटेको जनाएको छ ।

दूध उत्पादन गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्ड, जिएमपी, उचित तापक्रम, सरसफाइ लगायत आधारभूत मापदण्ड पूरा नगरेको भेटिएपछि टोलीले दुईवटा उद्योगमा सिल गरेको हो ।आधुनिक डेरीले प्रयोग गर्ने पाउडर दूधमा लेबल स्पष्ट थिएन । सामान्यतया यस्ता वस्तुमा पाकेटमै स्पष्ट लेबल र उत्पादन मिति उल्लेख गर्नुपर्ने हुन्छ । उपभोग्य अवधि समेत उल्लेख गरेको हुनुपर्छ ।

आधुनिकले पाउडर चितवन, फ्रान्स र न्युजिल्यान्डबाट ल्याएको पाइएको छ । अनुगमन टोलीले ती पाउडर दूध शंकास्पद देखिएपछि विभागमा थप अनुसन्धानका लागि ल्याएको छ । औद्योगिक क्षेत्रभित्रकै सामूहिक कृषक डेरी लिमिटेडमा पनि कैफियत भेटिएको छ । उक्त उद्योगले सुलभ मिल्कका नाममा आफ्ना उत्पादन बजारमा पठाउने गरेको छ।

सामूहिकले पनि दूध उत्पादन गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्ड पूरा नगरेको टोलीको भनाइ छ । उद्योगले दूध उत्पादन गर्दा अपनाउनुपर्ने जिएमपी, दूध उत्पादनका प्रक्रियामा अपनाउनुपर्ने उचित तापक्रम, सरसफाइ लगायत मापदण्ड पालना नगरेको अनुगमन टोलीले जनाएको छ ।

कृषि मन्त्री खनालले दूध उत्पादनमा आधारभूत मापदण्ड पूरा नगरेका व्यवसायी तथा उद्योगमाथि कारबाही हुने बताए । ‘उपभोक्ताले दैनिक रुपमा प्रयोग गर्ने दूधमा मापदण्ड पूरा गरेको छैन भने कानुन अनुसार कारबाही हुन्छ,’ मन्त्री खनालले भने।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग महानिर्देशक सञ्जीवकुमार कर्णले दुग्ध उद्योगले दूध उत्पादनमा गुणस्तरहीन पाउडर प्रयोग गरेको बताए । ‘दूध उत्पादनमा प्रयोग गरिएको पाउडर गुणस्तरहीन छ । पाउडरमा लेबल छैन,’ महानिर्देशक कर्णले भने, ‘पाउडरको प्याकिङ मिति समेत छैन । यसकारण उत्पादित दूधमा शंका लागेर अनुगमन थालेका हौं ।’

उनले पनि मापदण्ड विपरीत दुग्ध उत्पादन गर्ने उद्यागलाई कारबाही हुने बताए । मापदण्ड पूरा नगरी गुणस्तरहीन दूध उत्पादन गर्ने व्यवसायीलाई खाद्य ऐन बमोजिम १० हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।उपत्यकाको विभिन्न ठाउँबाट २८ ब्रान्डका दूधको नमूना संकलन गरी परीक्षण सुरु गरेको विभागले जनाएको छ ।

प्रकाशित: २९ जेष्ठ २०७५ ०३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App