१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

एक करोड ३३ लाखमा पुग्यो ब्रोडब्यान्ड

काठमाडौं - मुलुकमा मोबाइल ब्रोडब्यान्ड इन्टरनेट चलाउनेको संख्या बढ्दा ब्रोडब्यान्ड इन्टरनेट चलाउनेको संख्या एक करोड नाघेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआइएस रिपोर्ट अनुसार नेपालमा कुल जनसंख्याको ४६ प्रतिशतले ब्रोडब्यान्ड इन्टरनेट चलाउँछन्।

सरकारले अगामी तीन वर्षभित्र कुल जनसंख्याको ६० प्रतिशतमा ब्रोडब्यान्ड पहुँच पु-याउने योजना अघि सारेको।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष ०७५/७६ देखि ०७७/७८ सम्मको मध्यकालीन खर्च संरचनामा तीन वर्षमा ६० प्रतिशतको पहुँचमा ब्रोडब्यान्ड पु-याउने उल्लेख छ। 

मुलुकमा ब्रोडब्यान्ड इन्टरनेट चलाउनेको संख्या झन्डै ४६ प्रतिशत पुगेको छ। यो भनेको एक करोड ३३ लाख जनसंख्या हो। अबको तीन वर्षमा ६० प्रतिशतमा ब्रोडब्यान्ड पु-याउने सरकारी लक्ष्य छ।

५१२ केबिपिएसदेखि माथिको इन्टरनेट सेवालाई ब्रोडब्यान्ड भनिन्छ। त्यस्तै, मोबाइलमा थ्रिजीदेखि माथिको सेवा ब्रोडब्यान्ड हो। ‘ब्रोडब्यान्ड इन्टरनेटको तथ्यांक हेर्दा उक्त संख्या ४५.६७ प्रतिशत पुगेको छ,’ नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘यसलाई अलि गुणस्तरीय इन्टरनेटका रुपमा लिइन्छ।’ फिक्स ब्रोडब्यान्ड इन्टरनेटमा एक घरधुरी कनेक्सनलाई झन्डै पाँचजना ग्राहक (४.८८) मानिएको छ।

जिपिआरएस अर्थात टुजी प्रयोगकर्ताको संख्या भने मुलुकभर झन्डै ६३ प्रतिशतभन्दा माथि पुगेको छ। यसमा जिपिआरएस लगायतको सेवालाई पनि जोडिएको छ। तर यो स्पिडको इन्टरनेटमा गुणस्तर नहुने र काम गर्न गाह्रो हुने हुनाले प्राधिकरणले ब्रोडब्यान्ड इन्टरनेटलाई प्राथमिकता दिएर तथ्यांक निकालेको हो।

प्राधिकरणले सार्वजनिक गरेको फागुन महिनाको तथ्यांक अनुसार ब्रोडब्यान्ड चलाउनेको कुल संख्या एक करोड ३३ लाख ७८ हजार छ। तथ्यांक विभागको दुई करोड ९२ लाख अनुमानित जनसंख्यालाई आधार मान्दा ब्रोडब्यान्ड इन्टरनेट चलाउनेको संख्या ४५.६७ प्रतिशत पुगेको प्राधिकरणले उल्लेख गरेको छ।

तथ्यांक अनुसार नेपाल टेलिकमले मोबाइल र फिक्स्ड लाइनका माध्यमबाट ५५ लाख ८४ हजारमा ब्रोडब्यान्ड पु-याएको छ। एनसेलले थ्रिजी र फोरजीमार्फत ५८ लाख ४० हजार ग्राहकमा मोबाइल ब्रोडब्यान्ड इन्टरनेट पु-याएको तथ्यांकमा उल्लेख छ। त्यसैगरी, इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले १८ लाख ७५ हजार सेवाग्राहीलाई ब्रोडब्यान्ड पु-याएका छन्। त्यस्तै, युटिएलले ६३ हजार र स्मार्ट टेलिकमले १४ हजारलाई ब्रोडब्यान्ड इन्टरनेट सेवा दिइरहेको छ।

समग्र ब्रोडब्यान्ड चलाउनेको संख्या बढ्नुमा मोबाइल ब्रोडब्यान्ड इन्टरनेटको योगदान उल्लेख्य रहेको छ। दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले मुलुकका धेरै ठाउँमा थ्रिजी र प्रमुख सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउँदा मोबाइल ब्रोडब्यान्डको प्रयोग बढेको छ।

प्राधिकरणले सार्वजनिक गरेको फागुन महिनाको तथ्यांक अनुसार मोबाइल ब्रोडब्यान्ड इन्टरनेट प्रयोग झन्डै एक प्रतिशत बिन्दुले बढेको छ। माघको तथ्यांकमा मोबाइल ब्रोडब्यान्ड प्रयोग संख्या ३४.५६ प्रतिशत थियो जुन बढेर ३५.६६ प्रतिशत पुगेको हो। ब्रोडब्यान्ड इन्टरनेटमा मोबाइल जिपिआरएस, टुजीको संख्या समावेश गरिएको छैन।

पछिल्लो तथ्यांक अनुसार कुल फोरजी चलाउने ग्राहकको संख्या १४ लाख १९ हजार तीन सय छ। यसमा निजी क्षेत्रको दूरसञ्चार प्रदायक एनसेलको ग्राहक आठ लाख ५७ हजार छन् । नेपाल टेलिकमको ग्राहक संख्या पाँच लाख ४७ हजार पुगेको तथ्यांकमा उल्लेख छ। त्यस्तै, पछिल्लोपटक फोरजी सुरु गरेको स्मार्ट टेलिकमका फोरजी ग्राहक १४ हजार पाँच सय छन्।

हालसम्म नेपाल टेलिकमले काठमाडौं उपत्यका र पोखरा क्षेत्रमा फोरजी सेवा सञ्चालन गरिरहेको छ। एनसेलले मुलुकका प्रमुख २१ सहरमा फोरजी सञ्चालनमा ल्याइसकेको छ।

मुलुकमा कुल तेस्रो पुस्ताको मोबाइल इन्टरनेट थ्रिजी चलाउने ग्राहकको संख्या ८८ लाख २७ हजार पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। यसमध्ये नेपाल टेलिकमबाट थ्रिजी चलाउने ग्राहक ३८ लाख ४४ हजार छन् । एनसेलमार्फत थ्रिजी सेवा लिनेको संख्या ४९ लाख ८३ हजार छ।

झन्डै नौ प्रतिशत जनसंख्याले फिक्स्ड लाइनबाट ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गरिरहेका छन्। वायरलेस (फिक्स्ड) बाट १.१२ प्रतिशतले चलाइरहेको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: २७ जेष्ठ २०७५ ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App