साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २.४० अंकले बढेर २७०६.३६ विन्दुमा पुगेको हो। योसहित लगातार छैटौं दिन बजार बढेको हो।
यद्यपि, कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा थोरै खुम्चिएको छ। आज बजारमा ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ०.६७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.२३ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३३ अंकले घटेको छ।
गत बिहीबार ९ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा आज कारोबार रकम घटेर ९ अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ। दिनभरमा २४९ कम्पनीका २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर खरिदबिक्री भएका थिए।
आइतबार नेपाल फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६९ रुपैयाँ ४० पैसाले बढेर ७६३ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ।
यता, १२ प्रतिशत गुडविल फाइनान्स डिवेञ्चरको मूल्य सर्वाधिक ८.८७ प्रतिशतले घटेको छ। यसैगरी, ग्रिन डेभलपमेन्ट बैंकको ८.५८ प्रतिशत र सिन्धु विकास बैंकको सेयरमूल्य ५.८१ प्रतिशतले घटेको छ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ७ वटाको सूचक बढेको छ भने ६ वटाको घटेको छ।
अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.०६ प्रतिशतले बढ्दा वित्त उपसमूह २.४९ प्रतिशतले उकालो लागेको छ। बैंकिङ, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार समूहको सूचक पनि सकारात्मक रह्यो।
प्रकाशित: २२ असार २०८२ १५:५३ आइतबार