नारायणगढ–बुटवल सडक खण्डको दुम्कीबासस्थित विनयी खोलामा निर्मित पुलबाट बिहीबारदेखि यातायात सञ्चालन गरिएको छ। गत पुस २६ गते विनयीमा रहेको फलामे पुल भाँच्चिएपछि यहाँबाट ओहोर–दोहोर गर्ने मालबाहक गाडीलाई डाइभर्सनबाट पालैपालो आउजाउ गराइँदै आएको थियो। पाँच महिनामै मोटरेवल पुल निर्माण गरिएको हो।
बिहीबारबाट सोझै विनयी पुलबाट सबै गाडी गुड्न थालेको बुटवल–नारायणगढ सडक आयोजना पूर्वी खण्डका प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिए। उनका अनुसार बिहीबार मध्याह्न १२ बजेदेखि पक्की पुलबाट यातायात सञ्चालन भएका हुन्।
२१ करोडका लागतमा दुई सय ४५ मिटर लम्बाई र ७.५ मिटर चौडाइको पुल निर्माण भएको हो। पुलमा फुटपाथसमेत निर्माण गरिएको छ। यहाँबाट एक पटकमा सय टन मात्र मालसामान ढुवानी हुनसक्ने आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए। पुलबाट यातायात सञ्चालन भएपछि मालबाहक गाडीसमेत यही पुल हुँदै वारपार गरेका छन्। बिहीबारबाट डाइभर्सन हुँदै आउजाउ गर्नुपर्ने बाध्यता हटेको छ।
पानी पर्नासाथ बाढीले डाइभर्सन बगाउने बाध्यतासमेत थियो। आयोजनाका अनुसार अहिलेसम्म नौ पटक बाढीले डाइभर्सन बगाएको छ। सोही स्थानमा गत असार ६ गते बाढीले यात्रुवाहक बस बगाएको थियो। दुम्कीबासका स्थानीय सुनिल खनाल पुल बनेसँगै यात्रुलाई केही सहज भएको बताउँछन्। ‘यहाँ पानी पर्नासाथ डाइभर्सन बगाएर यात्रुहरू अलपत्र परेका हुन्थ्थें, अलपत्र परर भोकै रहेका यात्रुलाई हामीले खानासमेत खुवाएका थियौं,’ उनले भने, ‘अहिले पुल बनेपछि हामी हर्षित छौं।’ उनले दाउन्ने खण्डको सडकलाई सहज बनाउन समेत सम्बन्धित पक्षलाई अनुरोध गरेका छन्।
पूर्वी सडकखण्डमा ३४ वटा पुल रहेका छन्। त्यसमध्ये ३१ वटा पुल निर्माण भइसकेको खनालले जानकारी दिए। उनका अनुसार जयश्री, गिरुबारी र अरूणखोलामा पुल निर्माण हुँदैछ। यस सडक खण्डको सास्ती भने अझै बाँकी छ। दाउन्ने सडक खण्डको १४ किलोमिटर सडकमा पानी पर्ना साथ गाडी फस्ने हुँदा घण्टौं जाममा पर्नुपर्ने बाध्यता यथावत् छ। यस सडकखण्डको प्रगति ६९ प्रतिशत भएको छ। यसको म्याद साउन ८ गते सकिन्छ।
ठेकेदार कम्पनीले यस खण्डमा स्तरोन्नति गर्न करिब डेढ वर्ष म्याद थप गर्न प्रस्ताव गरेको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले १७ अर्ब दुई करोड रूपैयाँमा यो खण्डको स्तरोन्नतिका लागि सन् २०१८ को डिसेम्बर १९ मा सम्झौता गरेको थियो। त्यसयता तेस्रोपटक म्याद थप परिएको छ। पूर्वी खण्ड ६४.४२५ र पश्चिम खण्ड ४८.५३५ किलोमिटरको छ। त्यसमध्ये दाउन्ने खण्डको १४ किलोमिटर सडकले यात्रुलाई सास्ती दिएको छ।
प्रकाशित: २० असार २०८२ ११:५२ शुक्रबार





