१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

चौँरीको स्रोत केन्द्र बनाइँदै चोत्र गाउँ

जुम्लाको गुठिचौर गाउँपालिका-१, चोत्र गाउँलाई चौँरीको स्रोत केन्द्र बनाउने लक्ष्यसहित किसानहरूलाई ४० वटा चौँरी गाई वितरण गरिएको छ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले आइतबार एक कार्यक्रमका बीच हिमाली हिल्सा चौँरी पकेट समूहलाई उक्त चौँरी हस्तान्तरण गरेको हो।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य, कृषि विकास कार्यालयका प्रमुख राम अधिकारी र वडाध्यक्ष अर्जुनकुमार महताराको उपस्थितिमा समूहका अध्यक्ष तिलाबहादुर महतारालाई चौँरी हस्तान्तरण गरिएको थियो।

पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार वितरण गरिएका चौँरीमा ३७ वटा प्रजनन योग्य नाक (माउ) र ३ वटा याक (भाले) रहेका छन्, जससँगै २२ वटा बाछाबाछी समेत रहेका छन्।

छिमेकी जिल्ला डोल्पाको भालु व्यावसायिक चौँरी फर्मबाट खरिद गरिएका यी चौँरीका लागि कुल २८ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ।

पशु कार्यालयका नायब प्राविधिक सहायक विमला काफ्लेका अनुसार प्रति नाक ७० हजार र प्रति याक ८५ हजार रुपैयाँमा खरिद गरिएको हो।

कर्णाली प्रदेशको ‘पशुपन्छी उत्पादन क्षेत्र विशेष कार्यक्रम’ अन्तर्गत साझेदारीमा यो तीन वर्षे कार्यक्रम सञ्चालन भएको हो। यस वर्षको कुल ३० लाखको बजेटमा १५ लाख रुपैयाँ पशु कार्यालय र १५ लाख रुपैयाँ किसान समूहको लगानी रहेको छ।

प्रमुख बुढ्थापाले चौँरीको दूध उत्पादन बढाएर किसानको जीविकोपार्जनमा सुधार ल्याउने र चोत्र गाउँलाई चौँरी पालनको स्रोत केन्द्रका रूपमा विकास गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए

हाल ६४ घरधुरी मात्र रहेको यस गाउँमा पहिलेदेखि नै करिब १,६०० चौँरी पालिँदै आएको छ। यसकारण, चोत्र गाउँलाई चौँरी पालनका लागि सम्भावनायुक्त र उपयुक्त क्षेत्र मानिएको छ।

कार्यक्रम अन्तर्गत गत वर्ष पनि सोही गाउँमा १९ वटा नाक र १ वटा याक गरी २० चौँरी वितरण गरिएको थियो। नयाँ चौँरी पाएपछि स्थानीय किसानहरू निकै खुसी भएका छन्।

प्रकाशित: १५ असार २०८२ २१:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App