डोटीको शिखर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७१ करोड ७ लाख ४३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
मंगलबार आयोजित १९औँ नगर सभामा उपप्रमुख सुनिता रावल जोराले उक्त बजेट प्रस्तुत गरेकी हुन्।
प्रस्तुत कुल बजेटमध्ये चालु खर्चतर्फ ३४ करोड २ लाख रुपैयाँ विनियोजन गरिएको छ भने बाँकी ३७ करोड ५ लाख ४३ हजार रुपैयाँ विकास निर्माण लगायतका पुँजीगत कार्यका लागि छुट्याइएको छ।
बजेटको स्रोत व्यवस्थापनका लागि नगरपालिकाले आन्तरिक आयबाट २ करोड १५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ। बाँकी रकम संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकका अनुदानमा निर्भर रहनेछ।
यस अन्तर्गत संघीय सरकारबाट समानीकरण अनुदानमा ११ करोड २३ लाख १ हजार, राजस्व बाँडफाँडमा १२ करोड २३ लाख १२ हजार, समपूरक अनुदानमा ३ करोड ५७ लाख र विशेष अनुदानमा १ करोड ५३ लाख रुपैयाँ समावेश छ।
त्यसैगरी, प्रदेश सरकारबाट समानीकरण अनुदानतर्फ ९९ लाख ९० हजार, राजस्व बाँडफाँडतर्फ ४९ लाख ४० हजार, समपूरक अनुदानतर्फ २ करोड ३ लाख, विशेष अनुदानमा ४० लाख र सशर्त अनुदानमा ३५ लाख रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख छ।
नगर प्रमुख दीर्घबहादुर बलायरले यस पटकको बजेटले विशेषगरी महिला तथा युवा, कृषि, सडक, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रलाई सम्बोधन गर्ने लक्ष्य राखेको बताए।
प्रकाशित: १० असार २०८२ २१:३२ मंगलबार