३१ असार २०८२ मंगलबार
image/svg+xml
अर्थ

सुनचाँदी व्यवसायीद्वारा आन्दोलनको घोषणा, पसल नै बन्द गर्ने चेतावनी

नेपालका प्रमुख सुनचाँदी व्यवसायी महासंघहरूले सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत ल्याएको कर नीतिको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।

दुई प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याटको व्यवस्थाले व्यवसाय नै धराशायी हुने भन्दै उनीहरूले तत्काल माग सम्बोधन नभए साउन १ गतेदेखि देशभर अनिश्चितकालीन रूपमा पसल बन्द गर्ने चेतावनी दिएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारले व्यवसायीका जायज मागलाई बेवास्ता गरेकाले आन्दोलनमा जान बाध्य भएको बताएका छन्।

विज्ञप्तिमा सरकारले ल्याएको कर नीतिले व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्ष असर पार्ने उल्लेख छ। ‘यो व्यवस्था लागू भएमा समग्र व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुग्ने निश्चित छ,’ विज्ञप्तिमा भनिएको छ।

यसअघि समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललगायत राजनीतिक दलका प्रमुख नेता र सरोकारवाला निकायलाई भेटेर ध्यानाकर्षण गराइएको महासंघले जनाएको छ।

तर, सरकारले जायज माग सम्बोधनमा तदारुकता नदेखाएको र निर्णायक पहल नगरेकाले आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाइ छ।

प्रकाशित: १० असार २०८२ २१:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App