१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

शिवाईस्थित भत्केको पक्की पुलमा अस्थायी ट्रस पुल जोड्ने तयारी

प्रदेश सरकारले ट्रस पुल बनाउन प्रस्तावित बाढीले भत्काएको शिवाई पुलको स्ल्याब। तस्बिरः महेश्वर

झण्डै आधा दशकअघि बाढीले भत्काएर अलपत्र परेको चौदण्डीगढी ५ सुन्दरपुरको शिवाईस्थित त्रियुगा नदीको पक्की पुलमा प्रदेश सरकारले अस्थायी ट्रस पुल (फलामे पुल) जोडेर सुचारु गर्ने भएको छ। यहीँ असार १ गते प्रस्तुत प्रदेश सरकारको आगामी आर्थिक  वर्ष ०८२/८३ को नीति तथा कार्यक्रममा त्यसका लागि बजेट सुनिश्चित गरिएको हो।

निर्माण सुरु भएको ११ वर्षपछि सम्पन्न हुनै लाग्दा ४ वर्षअघि ०७८ असार २० गते राति बाढीले पुलको एउटा फाउण्डेसन पिल्लर बङ्गाएको थियो। पिल्लर बाङ्गिदा पुलका २ वटा स्ल्याब भत्केपछि सडक पुल सुपरिवेक्षण कार्यालयको प्राविधिक टोली आएर स्थलगत अनुगमन गरी फर्केको थियो। तर, टोलीले अध्ययन प्रतिवेदन दिन नभ्याउँदै फेरि साउन २ गतेको बाढीले अर्को पिल्लर पनि भाँचेपछि ३ वटा स्ल्याब भत्कदा पुल अलपत्र परेको छ।

यतिका समयसम्म मर्मत नगरेको तथा नयाँ बनाउने योजना पनि अघि नबढ्दा अलपत्र पुल सुचारु गर्न प्रदेश सरकारले आगामी वर्षका लागि ६० लाख रुपैयाँ बजेट सुनिश्चित गरेको छ। स्ल्याब भत्केको ठाउँमा फलामे ट्रस जोडेर आगामी वर्षदेखि पुल सञ्चालन गर्ने गरी बजेट विनियोजन गरेको उदयपुर निर्वाचन क्षेत्र १ (१) का प्रदेशसभा सदस्य राजन किराती (बासु)ले बताए।

सांसद किरातीका अनुसार ४ वर्षअघि भत्केको पुल अहिलेसम्म मर्मत नभएको र नयाँ बनाउने टुङ्गो पनि नलागेकाले अस्थायी रूपमै भए पनि आवागमन गर्न सहज होसे भनेर बजेट विनियोजन गरिएको हो। हरेक प्रदेश सांसदले २ करोड बराबर बजेट उनीहरूको छनौटका योजनालाई दिने प्रदेश सरकारको नीति अनुसार आफ्नो कोटाको ६० लाख रकम त्यहाँ ट्रस पुल बनाउन विनियोजन गरिदिएको राईले बताए।

‘यस वर्ष हरेक प्रदेश सांसदको छनौटमा २ करोडको योजना दिने प्रदेश सरकारको नीति अनुसार मेरो कोटाको ६० लाख त्यो पुलका लागि छुट्याउन लगाएको हुँ,’ सांसद राईले भने, ‘भत्केको ठाउँमा अस्थायी ट्रस पुल जोडेर सञ्चालन गर्न सके त्यस क्षेत्रका हजारौँ बासिन्दा बर्सेनिको बाढी र कहरबाट केही वर्ष भए पनि मुक्ति पाउँछन् भन्ने अपेक्षा छ।’  

सांसद राईका अनुसार शिवाई पुलको रेखदेख गर्ने गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरका प्रमुख (डिई) पशुपति ज्ञवालीको परामर्श अनुसार ट्रस पुल जोड्न लागिएको हो। भत्केको पुलमा ट्रस पुल जोड्न प्राविधिक तथा कानुनी रूपमा मिल्ने नमिल्ने भन्ने सल्लाह माग्दा डिई ज्ञवालीले मिल्ने बताएपछि बजेट सुनिश्चित गरिएको उनले बताए। नयाँ बनाउन समय लाग्ने र मर्मत गर्ने टुङ्गो नभएकाले अस्थायी ट्रस जोड्न बजेट छुट्याएको हो। आउँदो साउनदेखि नै प्राविधlक खटाएर ट्रस पुलको काम थाल्ने प्रतिबद्धता पनि सांसद राईले जनाएका छन्।

यस वर्ष डुङ्गा चढेरै नदी आउजाउ गर्नु परे पनि आगामी वर्ष बेलैमा ट्रस पुल सञ्चालन गर्ने योजना रहेको सांसद राईको भनाइ छ। ‘नयाँ पुल बन्ने टुङ्गै छैन, त्यसैले अस्थायी पुल बनाएर चल्दै गर्छ, नयाँ पुल बन्दै गर्ला,’ प्रदेशसभा सार्वजनिक लेखा समिति सभापतिसमेत रहेका सांसद राईले भने। 

शिवाई पुल निर्माण सुरु भएको ११  वर्षपछि सम्पन्न हुनै लाग्दा बाढीले भत्काएको हो। ०६७ सालमा ९ करोड ७६ लाखमा ठेक्का लिएर सुरु भएको ११ स्पान, ८० मिटर लामो पुल ०७८ सम्म आईपुग्दा लागत बढेर ११ करोड २७ लाख पुगेको थियो। धीमा गतिमा भएको काम सकिनै लाग्दा बाढीले भत्काएर अलपत्र पारेपछि चौदण्डीगढीका ५, ९ र १० नं. वडावासीलाई नगरमुकाम बेलटार बजार आउजाउ गर्न वर्षौँको समस्या ज्युँका त्युँ छ।

पुल भत्केपछि वर्षौँदेखि कहर खेप्दै आएका स्थानीयवासीलाई बाढीबाट मुक्ति पाउने आसा बिलाएको छ। पुल नहुँदा वर्षौँदेखि डुङ्गा चढेर आउजाउ गर्दै आएका सुन्दरपुर, हडिया र जोगीदहवासी नागरिक यो वर्ष पनि बेलटार आउजाउ गर्न डुङ्गै चढ्न बाध्य छन्।

प्रकाशित: ८ असार २०८२ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App