३ श्रावण २०८२ शनिबार
image/svg+xml
अर्थ

उद्यमीमा उत्साह भर्दै महासङ्घ

अगाडि बढ्न सबैभन्दा जरुरी कुरा उत्साह हो। उत्साहको अभावमा अलमलमा परेको सबैभन्दा पुरानो महिला उद्यमी सङ्घ ललितपुरलाई उत्साह भर्ने काममा महिला उद्यमी महासङ्घ नेपाल लागिपरेको छ। चार दशक अगाडि स्थापना भएको उद्यमी महिलाहरूको समेत ‘जननी’को रूपमा चिनिने ललितपुरको महिला उद्यमी सङ्घमा पुगेर महासङ्घका अध्यक्ष ज्ञवालीले सुख–दु:खमा साथ दिने बाचा गरिन्।  

‘आज यहाँ आउँदा आमाको घरमा आएको जस्तो महसुस भएको छ,’ अध्यक्ष ज्ञवालीले भनिन्, ‘हामी आमा संस्थामा रहेको समस्याको समाधान गर्दै अगाडि बढ्न सहयोग पुर्‍याउने छौं।’ देशभरका महिलालाई उत्साह भर्ने अभियानमा हिँड्दै गरेकी ज्ञवालीले पुरानो संस्थालाई थोरै भए पनि सहयोग र साथ दिन पाएकोमा खुसी व्यक्त गरिन्।

 

‘नेपालभरिका सम्पूर्ण महिला उद्यमीहरूलाई एउटै सञ्जालमार्फत एउटै छाता सङ्गठनमा एकताबद्ध गर्दै हरेक सवालमा सम्बन्धित निकायसँग पैरवी गर्ने, क्षमता अभिवृद्धिका काम महासङ्घले गरिरहेको छ,’ अध्यक्ष ज्ञवालीले भनिन्, ‘यसका लागि विभिन्न क्षमतामूलक तालिम तथा महिला उद्यमीहरूको सामाजिक तथा आर्थिक सशक्तीकरणका काम गर्दै उद्यमशीलतालाई दिगोपनामा काम गरिरहेका छौँ।’

ललितपुर महिलासंघ सबैभन्दा पुरानो रहेको बताउँदै उनले यहाँका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा लैजान महासङ्घले पहल गर्ने बताइन्।

उद्यमी महिला सङ्घ ललितपुरकी अध्यक्ष रेखा अर्यालले महासङ्घ घरमै आउँदा निकै खुसी लागेको सुनाइन्। ‘हामी झन्डै झन्डै निराश अवस्थामा पुगेका थियौं,’ उनले भनिन्, ‘महासङ्घका अध्यक्षले उत्साह थप्ने काम गर्नु भएको छ।’ उद्यमी महिलाको पुरानो सङ्घ भए पनि राज्यले व्यवस्था गरेको उनले बताइन्। ‘हामीलाई उद्यममा अगाडि बढाउने बाटाको अभाव थियो,’ उनले भनिन्, ‘अब हामीले महासङ्घबाट त्यो अपेक्षा गरेका छौं।’

 ललितपुरका महिला उद्यमीले आफूहरू उत्पादन गर्न तयार रहेको तर बजार तथा व्यवस्थापनमा सहयोगको आवश्यक परेको सुनाए। ‘हामीले उत्पादन मौलिक उत्पादनको निकै माग छ,’ सङ्घकी कोषाध्यक्ष कल्पना श्रेष्ठले भनिन्, ‘तर बाहिरी बजारसम्म हाम्रो सिधा पहुँच रहेन।’ बजारसँग सिधा पहुँच भएमा उद्यमीमा उत्साह थपिने उनले सुनाइन्।  

महासङ्घकी अध्यक्ष शोभा ज्ञवाली महिलालाई सामाजिक र आर्थिक रूपमा बलियो बनाउन महासङ्घ लागिपरेको बताउँदै ललितपुरका महिलालाई सहयोग गर्न उत्तिकै तयार रहेको सुनाइन्। ‘उहाँहरूको समस्या हामीले बुझेर टिपेर गएको छौं,’ उनले भनिन्, ‘हामी सरोकारवाला निकायसम्म पुर्‍याउने काम गर्छौं।’

प्रकाशित: ५ असार २०८२ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App