जिल्लामा पछिल्लो समय कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो छ। यान्त्रीकरणसँगै लागत घट्दा किसान लाभान्वित हुन थालेका छन्।
धान रोप्न, काट्न, दाउनी गर्न, मकै छर्न, तरकारीखेती गर्न र मकै दाउनी गर्न यान्त्रिकरण बढ्दै गएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले बताए। कृषि उपकरण महँगा हुने र प्रयोग कम हुने हुँदा सरकारको अधिकतम अनुदानबिना किसानले खरिद गर्न नसक्ने स्थानीय किसान राजकिशोर मेहताले बताए।
उपकरण प्रयोग गर्दा मजदुर खर्च ५० प्रतिशतदेखि ६० प्रतिशतसम्म बच्ने र कूल लागतमा २५ देखि ३० प्रतिशत खर्च घट्ने उनको भनाइ छ। धानको बीउ राख्न सिडर, रोप्न ट्रान्सप्लान्टर, काट्न रिपर र कम्बाइन हारभेस्टर र पराल उठाउन बेलरको प्रयोग हुँदै आएको छ।
कतिपय उपकरण गहुँ र मकै लगायतका बालीमा पनि प्रयोग हुने गरेको छ। विगतमा मधेश क्षेत्रका जिल्लामा धेरै पहिलेदेखि जोत्न ट्रयाक्टर प्रयोग हुने गरेको थियो। सबै किसानलाई उपकरणबारे ज्ञान भई नसकेकाले ठूला चक्लाबन्दी फार्ममा सामूहिक रूपमा तालिम दिई यान्त्रिकरणतर्फ जोड दिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
प्रकाशित: ५ असार २०८२ १२:१३ बिहीबार