१ श्रावण २०८२ बिहीबार
image/svg+xml
अर्थ

वर्षामा यातायात अवरोध हुन नदिन पूर्व तयारी

वर्षा याममा बाढीपहिरोले सडक अवरुद्ध भए यातायात सेवा तत्काल खुलाउन पूर्व तयारी गरेको दाबी सरकारले गरेको छ। बाढी पहिरोले हरेक वर्ष देशभरिका राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गहरू अबरुद्ध हुँदै आएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले गत वर्षको असोजमा आएजस्तो अबिरल वर्षा भएबाहेक अन्य अवस्थामा यस वर्षको वर्षायाममा राष्ट्रिय राजमार्गहरू चार घण्टाभन्दा बढी अवरोध हुन नदिने गरी तयारी गरिएको बताए।

‘पोहर साल असोज ११ र १२ गते भएको वर्षा विशेष अवस्था हो। नभए वर्षा याममा यस वर्ष चार घण्टाभन्दा बढी राष्ट्रिय राजमार्गहरू अवरोध हुन नदिने गरी हामीले तयारी अघि बढाएका छौ’, शर्माले भने, ‘सडकमा अवरोध आए तत्कालै अवरोध हटाउन ठाउँठाउँमा मेसिन राखेका छौं। त्यसैगरी ढुंगा, जालीलगायत आवश्यक सबै सामग्री तयारी अवस्थामा राखेका छौं।’

उनका अनुसार मन्त्रालयले वर्षा याममा राष्ट्रिय राजमार्गहरूको अवस्थाबारे जानकारी दिने गरी मन्त्रालयले एउटा मोबाइल एप बनाएको छ। उक्त एपमा मन्त्रालयका सबै प्रावधिक तथा कर्मचारीहरू जोडिएका छन्। सो मोबाइल एपमा देशभरिका राष्ट्रिय राजमार्गहरूको तत्कालीन विवरण राखिने भएको छ। ‘कुनै ठाउँमा अवरोध भइहाले त्यसलाई हटाउन हाम्रो जनशक्ति तत्कालै परिचालन हुने छ’, शर्माले भने।

उनका अनुसार वर्षा याममा कुनै ठाउँमा अवरोध आए आवश्यक जनशक्ति पनि तयारी अवस्थामा राखिएको छ। ‘ताकि वर्षाको कारण सडकमा अवरोध आएमा तत्कालै अवरोध हटाउन हरसम्भव प्रयास गरीरहेका छौ,’ उनले भने।

यता मौसमविद्हरूले यस वर्ष वर्षा याममा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेका छन्। मौसमविद्हरूको यस्तो प्रक्षेपणपछि मन्त्रालयका प्राविधिक कर्मचारीहरू यसतर्फ अझै सतर्क अवस्थामा रहेको शर्माको भनाइ छ। राष्ट्रिय राजमार्ग अवरुद्ध भए सडक विभाग मातहतको सम्भार महाशाखाले पुननिर्माणको काम तत्काल गर्ने भएको छ। यस कामका लागि यस वर्ष मात्र सम्भार महाशाखालाई नौ अर्ब रूपैयाँ बजेट छुट्याइएको छ।

पोहर साल असोज ११ र १२ गते आएको वर्षाले ४२ वटा राजमार्गको आठ सय तीन स्थानमा अवरोध सिर्जना गरेको थियो। सडक विभागका अनुसार वर्षाका कारण त्यतिबेला देशभरि २१ हजार मिटर बाटो भत्किएको थियो। यसैगरी वर्षाले पाँचवटा पुलमा क्षति पु¥याएको थियो, जसमा दुईवटा बेलिब्रिजसमेत परेका थिए। ती पुल मर्मत तथा पुनर्निर्माण गर्न तत्कालै साढे दुई अर्ब रूपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो।

विभागका अनुसार त्यतिबेला अरनिको राजमार्ग, कान्ति राजमार्ग र बिपी राजमार्गमा गम्भीर क्षति पुगेको थियो। बिपी राजमार्गको एक हजार पाँच सय ५० मिटर सडकको जगसमेत बिग्रिएको थियो। यसबाहेक अन्य थुप्रै ठाउँमा सानोतिना क्षति भएका थिए।

अर्थ मन्त्रालयले गत असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण सबैभन्दा बढी क्षति भएका २६ वटा सडक तथा पुलको स्थायी किसिमबाट पुनर्निर्माण गर्न पैसा उपलब्ध गराएको छ। पोहर साल भत्किएका १३ वटा राजमार्ग र १३ वटा पुलको पुनर्निर्माण गर्न अर्थ मन्त्रालयले १८ अर्ब ८८ करोड २० लाख रूपैयाँको स्रोत सुनिश्चत गरेको छ। यस काममा अर्थले चालु आवमा तीन अर्ब ६६ करोड सात लाख रूपैयाँ दिएको छ भने तत्कालै ६० करोड २४ लाख रूपैयाँ उपलब्ध गराएको थियो।

विभागका अनुसार १० वटा मुख्य राजमार्गको पुनर्निर्माण गर्न १५ अर्ब ८३ करोड १० लाख तथा तीनवटा वैकल्पिक सडक पुनर्निर्माण गर्न एक अर्ब १५ करोड रूपैयाँको सुनिश्चितता गरिएको छ। यसैगरी भत्किएका १३ वटा पुलको पुनर्निर्माण गर्न एक अर्ब ९० करोड १० लाख रूपैयाँको स्रोत सुनिश्चतता गरेको छ।

बिपी राजमार्गको पुननिर्माण कसरी हुँदैछ?

वर्षाले सबैभन्दा बढी क्षति विपी राजमार्गमा पु¥याएको छ। बिपी राजमार्गको पुनर्निर्माण गर्न अर्थले भक्तपुर सडकतर्फ सात अर्ब ५० करोड र चालु आर्थिक वर्षमा एक अर्ब ५० करोड रूपैयाँ उपलब्ध गराएको छ।

यसैगरी सिन्धुली खण्डतर्फको सडक पुनःनिर्माण गर्न जम्मा एक अर्ब रूपैयाँ छुट्याइएको छ र त्यसका लागि चालु आवमा २० करोड रूपैयाँ उपलब्ध गराइएको छ। काठमाडौंदेखि पूर्वी नेपाल जोड्ने बिपी राजमार्गलाई स्थायी रूपमै पुनर्निर्माण गर्न सडक डिभिजन भक्तपुर र सडक डिभिजन सिन्धुलीले काम अघि बढाइरहेका छन्।

वर्षाले विपी राजमार्गको २८ किलोमिटर लामो बाटो पूर्ण रूपमा भत्काएको थियो। भत्किएको बाटो अब पहिलेकै अवस्थामा ल्याइने भएको छ। त्यो पनि एक लेन बढेर निर्माण गरिने भएको छ।

भक्तपुर डिभिजनले २५ किमी र सिन्धुलीले तीन किमि बाटो हेर्दै आएको छ। सडक डिभिजन भक्तपुरका अनुसार अब निर्माण हुने राजमार्ग दुई लेनको हुनेछ अर्थात् सडकको चौडाइ नौ मिटरको हुनेछ। विपी राजमार्ग पुनःनिर्माण गर्न भक्तपुर डिभिजनले तीन वटा प्याकेजमा काम अघि बढाएको छ।

प्रकाशित: ५ असार २०८२ ०९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App