२४ असार २०८२ मंगलबार
image/svg+xml
अर्थ

इजरायल–इरान युद्धः नेपालको एउटा पर्यटन बजार रोकियो

इजरायली पर्यटक प्रभावितः व्यावसायी

इजरायल र इरानबीच आक्रमण र प्रत्याक्रमण चलिरहँदा त्यसको मार नेपालको पर्यटन क्षेत्रमा पर्ने भन्दै पोखराका पर्यटन व्यावसायीले चिन्ता जनाएका छन्। व्यावसायीका अनुसार पछिल्लो समय नेपालमा इजरायली पर्यटकको आगमन बढिरहेको बेला युद्धका कारण पाहुना आउन नसक्ने अवस्था आउँदा पर्यटनमा मार पर्ने उनीहरुको चिन्ता छ।  

व्यावसायीका अनुसार इजरायली पर्यटकहरु बढीमात्रामा पदयात्रा र साहसिक पर्यटकीय गतिविधिका लागि नेपाल आउने गर्छन। पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार पछिल्लो समय नेपालमा इजरायली पर्यटक घटेका छन। युद्ध सुरु हुनुअघि भित्रिएका पर्यटक पनि अहिले स्वदेश फर्किसकेका छन।  

‘इजरायली पर्यटकका लागि अप्रिल देखि जुनसम्मको समय उपयुक्त हो। तर, यतिबेला इजरायली पर्यटक देखिनै छाडेका छन। आएका पर्यटक पनि युद्ध सुरु भएपछि स्वदेश फर्केका छन। नयाँ आउने पाहुना रोकिएका छन,’ आचार्यले भने, ‘नेपालको पर्यटनको एउटा श्रोत बजार ठप्प भएको छ। इजरायली मात्र नभई मध्यपूर्वका मुलुकका भित्रिने पर्यटक बढी प्रभावित हुने अवस्था छ।’

आचार्यका अनुसार इजरायली पर्यटकहरु बढीमात्रामा पदयात्रामा जान्छन। युवापुस्ताका अधिकांश इजरायली पर्यटक अन्नपूर्ण फेरो र अन्नपूर्ण आधारशिविरक्षेत्रको पदयात्रामा जान्छन। ‘साहसिक गतिविधिमा रमाउने भएकोले पनि इजरायली पर्यटक नेपाल भित्रिने हुन। तर, अहिले पाहुना भित्रिने समयमै युद्धमा होमिएकोले आगमन रोकिएको छ,’ उनले भने।  

उनका अनुसार इजरायली पर्यटकहरु बढीमात्रामा युवापुस्ताका हुन्छन। उनीहरु सैन्य तालिम लिएकोले पनि बढीजसो साहसिक गतिविधिमा रमाउन खोज्ने आचार्यको भनाई छ। आचार्यका अनुसार इजरायलीहरु जागिरबाट निवृत्त भएपछि पनि घुम्न आउने खालका हुन्छन।  

सरकारको तथ्यांक अनुसार नेपालमा सन् २०२४ मा दशहजार हाराहारीमा इजरायली पर्यटक भित्रिएका थिए। सन् २०२५ को पाँचमहिना (जनवरी–मे) अवधिमा पनि ५६ सय बढी इजरायली पर्यटक नेपाल भित्रिसकेका छन। योवर्षको अप्रिल महिनामा मात्रै झन्डै २७ सय इजरायली पर्यटक नेपाल भित्रिएका थिए। २०२५ को यो नै इजरायली पर्यटकको सबैभन्दा ठूलो आगमन संख्या हो।

पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने इजरायली पर्यटन क्षेत्र नेपालको गतिलो श्रोत बजार भएपनि अहिले द्वन्द्वमा फँसेकोले पर्यटक आगमन प्रभावित हुने बताउँछन। ‘वर्षमा १० हजारको संख्यासम्म इजरायली पर्यटक नेपाल आउँछन। योवर्ष अहिलेसम्म ५६ सय भन्दा बढी इजरायली पर्यटक भित्रिसकेका छन,’ लामिछाने भन्छन, ‘तर, अब युद्धका कारण इजरायली पर्यटक भित्रिने अवस्था रहेन। नेपालले पर्यटनको एउटा श्रोत बजार गुमाएको छ। द्वन्द्व नरोकिएसम्म इजरायली पर्यटक आउने अवस्था रहन्न।’

लामिछानेका अनुसार इजरायली पर्यटकलाई केहीवर्ष अघिसम्म ‘बजेट’ पर्यटकको रुपमा अथ्र्याइन्थ्यो। तर, अहिले खर्चिला इजरायली पर्यटक पनि आउने गरेका छन। ‘सैन्य तालिम लिएका इजरायलीहरु बिदा मनाउन नेपाल आउँछन । नेपालको पदयात्रामा उनीहरु रमाउँछन। लामो दूरीको पदयात्रामा जाने साहसिक खालका पर्यटकको रुपमा इजरायलीलाई चिनिएको छ,’ लामिछानेले भने। पदयात्रा र जलयात्रामा पनि इजरायलीको रुची बढी हुने लामिछानेले बताए। पछिल्लो समय इजरायली पर्यटक पनि पर्याप्त खर्चिला हुन थालेका छन।

द्वन्द्वमा फँसेकोले इजरायल मात्र नभई मध्यपूर्वका मुलुकबाट आउने पाहुना बढी प्रभावित हुने लामिछाने बताउँछन। उनका अनुसार युद्धका कारण कतिपय विमानस्थल पनि बन्द छन। इजरायली पाहुना यतिबेला आफ्नो मुलुकबाट बाहिरिन सक्ने अवस्था नभएपछि नेपालको पर्यटनमा असर पर्ने लामिछानेको भनाई छ। अप्रिल देखि जुन तथा सेप्टेम्बर–अक्टोवर इजरायली पर्यटकको नेपाल आउने सिजन रहेको पनि लामिछानेले बताए।  

‘युद्धका कारण हवाई उडान प्रभावित छन। यो बेला इजरायली पर्यटकको नेपाल आउने सिजन पनि हो। तर, अहिले आउन सक्ने अवस्था छैन। नेपालको पर्यटनमा इजरायल–इरान युद्धले असर पार्ने पक्का छ,’ लामिछानेले भने, ‘नेपालले विदेशी पर्यटक भित्रिने एउटा श्रोत बजार अहिले गुमाएको छ। अब द्वन्द्व समाधान नभएसम्म इजरायली पर्यटक आउने अवस्था रहन्न।’ 

इजरायली पर्यटकलाई बजेट पर्यटकको रुपमा चिन्दै गएपनि पछिल्लो समय त्यहाँका पर्यटक खर्चिला पनि थिए।  ‘युवापुस्ताका भन्दा पाका उमेरका पाहुना बढी खर्चिला हुन्थे। केहीवर्ष अघिसम्म इजरायलीलाई सस्ता पर्यटकको रुपमा मात्र चिनिएको थियो,’ उनले भने, ‘नेपालमा रहेका इजरायलीहरु पनि अहिले त स्वदेश फर्किसकेका छन। आउने तयारीमा रहेका पाहुना पनि रोकिएका छन।’ दुइ मुलुकका युद्धका कारण अब इजरायल मात्र नभई मध्यपूर्वको आकाश हुँदै आउने पर्यटक पनि प्रभावित हुनसक्ने उनले बताए। हवाई उडान प्रभावित हुने हुँदा पर्यटकहरु यात्रामा निस्कनबाट रोकिन सक्ने उनले बताए।

प्रकाशित: २ असार २०८२ १७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App