३२ असार २०८२ बुधबार
image/svg+xml
अर्थ

सडकले फेरिएको बाघमारा: कृषि उपजले पायो बजार, स्थानीयको जीवनस्तरमा सुधार

पोखरा महानगरपालिका वडा नम्बर–३३ बाघमारामा सुविधा सम्पन्न बाटो निर्माण भएपछि स्थानीय हर्षित भएका छन्।

वर्षौँदेखि जीर्ण सडकमा हिँड्न बाध्य उनीहरु अहिले पोखरा महानगरपालिकाको पहल तथा विश्व बैंकको सहयोगमा दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक खण्ड बन्न थालेपछि हर्षित भएका हुन्।

पृथ्वी राजमार्ग अन्तर्गत कोत्रेबाट दोबिल्ला हुँदै बिरौटा निस्किएर स्याङ्जा जाने वैकल्पिक सडकका रुपमा हेरिएको यो सडकको भौतिक प्रगति पुगनपुग ४० प्रतिशत हुँदा मात्रै पनि यसले स्थानीयको जीवनमा सकारात्मक प्रभाव पार्न थालेको छ। बाघमारा क्षेत्रमा भने सडक पिच भइसकेको छ भने सौन्दर्यीकरणको काम भइरहेको छ।

सडक निर्माणसँगै बाघमारा–पोखराको बाटो समय अवधि छोट्टिएको छ। जसले गर्दा पोखरामा जागिरे भएकालाई घरबाटै आवतजावत गर्न सजिलो भएको छ, भने स्थानीय उत्पादनलाई पोखरा बजारसम्म ल्याउन सहज भएको छ।

यसले समय छोट्टिनुका साथै स्थानीय उत्पादनले बजार पाएको पोखरा महानगरपालिका वडा नम्बर–३३ का अध्यक्ष रामचन्द्र अधिकारीले बताए। उनले भने, ‘बाटो राम्रो भएपछि स्थानीय उत्पादनले बजार मात्र पाएन, मूल्यसमेत पाएको छ।’

उनका अनुसार बाटो बनेसँगै बाटोको समय अवधी घटेसँगै ढुवानी खर्च पनि घट्नुका साथै यसले रोजगारी पनि सिर्जना गरेको छ। कृषिमा स्थानीय आकर्षित हुँदा लगानी पनि वृद्धि भएका कारण यसले रोजगारीसमेत बढाएको उनको दाबी छ।

जनप्रतिनिधि लिलादेवी केसीले सडक निर्माण भएसँगै स्थानीय जनता कृषिमा आकर्षित भएको बताइन्। ‘पहिले पनि कृषि नै थियो स्थानीयको मुख्य पेसा, तर स्थानीय उत्पादनले बजार नपाउँदा निराश थिए’, उनले भनिन्, ‘अहिले सडक निर्माणले गर्दा उत्पादित वस्तु सिधै पोखरा लगेर बेच्दा खपत बढेको छ, र पहिले भन्दा मूल्य पनि बढी पाएपछि उहाँहरू कृषिमा पुनः आकर्षित हुनु भएको छ।’

पोखरा–३३ पहिले सुन्तला खेतीका लागि प्रख्यात थियो। तर अहिले सुन्तलामा रोग लागेर मासिँदै गएपछि मौसमी तथा बेमौसमी तरकारी खेतीमा आकर्षित भएको उनले जानकारी दिइन्।

सडक निर्माणसँगै कृषि एम्बुलेन्सेसमेत स्थानीय उत्पादन बजारसम्म लैजान सघाउने गरेको उनले बताइन्। उनले भनिन्, ‘उत्पादित तरकारी लिन कृषि एम्बुलेन्स आउँछ। कतिपयले भने आफैले पोखरा लगेर बेच्छन्।’

स्थानीयले सडक छिटो सम्पन्न गर्न दबाब दिने गरेको वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए। सडकको दायाँबायाँ लगाइएको मापदण्डमा स्थानीयको चित्त नबुझ्दा सडक निर्माणमा ढिलाइ भएपनि अब भने निर्माणले रफ्तार लिने उनको विश्वास छ। ‘हाम्रो वडामा धेरैजसो समस्या समाधान भइसकेको छ’, उनले भने, ‘सायद अब चाँडै निर्माण सम्पन्न होला।’

पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यको पहलमा निर्माण गरिएको यो सडक खण्ड १२.४४ किलोमिटरको छ। यसको निर्माण गर्ने ठेक्का आशिष् निर्माण सेवाले ७७ करोड ६८ लाखमा लिएको छ।

गत असारमा एक वर्ष भित्रमा बनाइसक्ने भनिएपनि विभिन्न कारणले नसकिएपछि एक वर्ष म्याद थपिएको छ। यस सडक खण्डमा सडकको दायाँबायाँ साइकल ट्र्याक निर्माण गरिनेछ भने सडकमा फुटपाथ पनि रहनेछ।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो खण्डसँगै पोखरामा विश्व बैंकको सहयोगमा ३ वटा सडक निर्माण भइरहेको बताए। उनका अनुसार तालचोक–बेगनास र शिसुवा–सिसाघाट सडक खण्ड पनि निर्माणको क्रममा रहेको छ।

पोखराले क्रमैसँग भौतिक पूर्वाधारमा फड्को मारिरहेको उनले बताए। ‘तर केही मान्छेहरू केही भएन भनेर भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ’, उनले भने, ‘भए, गरेका कामलाई ए गरेछ है भनेर स्याबास भन्ने गरौं। पोखरामा विश्व बैंक, एसियाली विकास बैंक, जाईकालगायतको सहयोगमा २७ अर्ब लगानी भित्रिएको र आयोजना सम्पन्न भएपछि पोखराले विकासमा छलाङ मार्ने उनको दाबी छ।

प्रकाशित: ३१ जेष्ठ २०८२ २०:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App