२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
अर्थ

मैवाखोलाको नीति: शिक्षकलाई मद्यपान/धुमपानमा निषेध, कम विद्यार्थी भए विद्यालय गाभिने

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक सुधारका लागि कडा नीति अख्तियार गरेको छ।

आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिकाले विद्यालयमा अनियमित हुने र अमर्यादित व्यवहार देखाउने शिक्षकलाई कारबाही गर्ने तथा विद्यार्थी संख्या न्यून भएका विद्यालयहरू गाभ्ने (मर्ज गर्ने) घोषणा गरेको हो।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमद्वारा मंगलबार प्रस्तुत नीतिमा मद्यपान, धुमपान तथा सुर्तिजन्य पदार्थ सेवन गरी विद्यालय आउने शिक्षकलाई कारबाहीको दायरामा ल्याइने उल्लेख छ।

साथै, विद्यार्थी संख्या अत्यन्त कम भएका विद्यालयहरूलाई एकआपसमा गाभ्ने वा तह घटाउनेसम्मको निर्णय लिने पालिकाले जनाएको छ।

शिक्षालाई पहिलो प्राथमिकतामा राखेको पालिकाले शिक्षकको दरबन्दी मिलान गर्ने, उत्कृष्ट नतिजा दिने शिक्षकलाई सम्मान गर्ने र गाउँपालिकालाई शिक्षामा नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

यसका साथै, पालिकाले ‘हाम्रो उत्पादन, हाम्रो डाक्टर’ नामक महत्त्वाकांक्षी अभियान घोषणा गरेको छ, जसअन्तर्गत ५ वर्षमा एक डाक्टर उत्पादन गरी पालिकाभित्रै कम्तीमा ५ वर्ष सेवा गर्ने व्यवस्था मिलाइनेछ।

स्वास्थ्य क्षेत्रतर्फ, प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसी सेवा सञ्चालन गर्ने, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरदैलो स्वास्थ्य जाँच सेवा दिने र सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गरिने भएको छ।

पूर्वाधारतर्फ ‘मैवाखोला चक्रपथ’ को स्तरोन्नति, ‘एक घर, एक धारा’ अभियानलाई निरन्तरता र व्यवस्थित बस्ती विकासका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।

पालिकाले प्राङ्गारिक कृषि प्रणालीलाई प्रोत्साहित गर्दै दूध, मासु र अण्डामा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ भने निष्क्रिय सहकारी संस्थाहरू खारेज गर्ने नीतिसमेत ल्याएको छ।

साथै, मैवाखोला ताप्लेजुङका नौ स्थानीय तहमध्ये आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने पहिलो पालिका समेत बनेको छ।

प्रकाशित: २७ जेष्ठ २०८२ २१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App