ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव सुरु भएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक तथा सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राईको अध्यक्षतामा सुरु भएको महोत्सवको कोशी प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्व मन्त्री तिलकुमार मेन्याङवोले महोत्सवको समुद्घाटन गरेका छन् ।
कार्यक्रममा पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बा,प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा,पालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना),सिदिङ्वा गाउँपालिकाका पूर्व अध्यक्ष नरबहादुर कडरिया,जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,पालिकाका ७ वटै वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य,वडा सदस्य,पूर्व जनप्रतिनिधि,सञ्चारकर्मी सहितको सहभागिता रहेको छ ।
महोत्सव स्थलमा याक तथा चौँरी प्रवर्द्धन कार्यक्रम अन्तरगत चौँरी प्रदर्शनी,चौँरीजन्य उत्पादन घिउ र छुर्पी,स्थानीय अल्लोको कपडाका स्टलहरू छन् भने स्थानीय जातजातिका परिकार चखाउने खाद्य परिकारका स्टलहरू समेत रहेका छन् । जेठ १५ देखि १७ गतेसम्म चल्ने महोत्सवका कार्यक्रम अन्तरगत सिदिङ्वा धाम दर्शन तथा श्रिङ्ग ऋषिको मूर्तिको प्राण प्रतिष्ठा कार्यक्रम समेत राखिएको छ ।
सिदिङ्वा धाममा श्रिङ्ग ऋषिको कठोर तपस्या पछि उनै ऋषिले मागेको वर प्राप्त भएको धामको रुपमा परिचित छ । मागेको वर पाउने जनश्रुति रहेको उक्त धाममा यो बेला ताप्लेजुङ बाहेक विभिन्न जिल्लाबाट दर्शनार्थी आउन थालेका छन् । महोत्सवका वडा स्तरीय भलिबल,हाफ म्याराथन,डोरी तान्ने र छोलो सहितका प्रतियोगिता समेत सञ्चालन हुँदैछन् ।
महोत्सव स्थल थामडाँडामा सांस्कृतिक कार्यक्रम समेत हुने गरी राष्ट्रिय तथा स्थानीय कलाकार समेत भेला हुँदैछन् । राजेशपायल राई देखि अन्य राष्ट्रिय तथा स्थानीय कलाकर्मीहरूले समेत महोत्सवमा आफ्नो कला प्रस्तुत गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिले जनाएको छ । महोत्सवमा सहभागीहरूलाई स्थानीय उत्पादनको चिनारी र प्रवर्द्धन गराउने गरी चौँरी तथा गाईको छुर्पीको माला लगाइएको छ ।
पछिल्लो समय दर्शनार्थीहरुको लोकप्रिय धार्मिक स्थलको ख्याति कमाइरहेको सिदिङ्वा धामको प्रवर्द्धन तथा सिदिङ्वा गाउँपालिका क्षेत्रका पर्यटकीय स्थलहरूको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको महोत्सव मूल समारोह समितिका अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । बिहीबारबाट सुरु महोत्सव शनिवार सकिने छ ।
प्रकाशित: १५ जेष्ठ २०८२ १८:०६ बिहीबार





