१४ माघ २०८२ बुधबार
image/svg+xml
अर्थ

‘विदेशको दुखभन्दा रुद्राक्षको सामान बनाएर बेच्न सजिलो’

धरान उपमहानगरपालिका–१४ का सन्तोष लामिछानेले रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन्। उनले धरान–१४ को पिण्डेश्वरी मन्दिर परिसरमा पाँच वर्षदेखि रुद्राक्ष बेच्दै आएका छन्।

बाह्र वर्ष भारत बसेर फर्किएका लामिछानेले स्वदेशमा केही गर्ने सोचले रुद्राक्षको माला बनाएर व्यवसाय सुरु गरेका हुन्। उनले भने, ‘विदेशमा दुख गर्नुभन्दा यहीँ रुद्राक्षका विभिन्न सामान बनाएर बेच्दा सजिलो र आम्दानी पनि राम्रो छ।’

रुद्राक्षका सामान बनाउन उनले धनकुटा, पाँचथर, भोजपुरबाट रुद्राक्ष किनेर माला, झोला, ढाकी, ज्याकेट बनाउँछन्। उनको मासिक आम्दानी २० हजारदेखि ३० हजार रुपैयाँ छ। खर्च कटाएर यो आम्दानीले घरखर्च चल्छ। उनले भने, ‘मनपर्ने सामान किन्न पनि यो आम्दानीले पुग्छ। दैनिक १–२ वटा सामान बिक्री भए पनि घरखर्च चल्छ, थोरै तर नियमित आम्दानीले सन्तुष्ट छु।’

लामिछानेका सामान धरान, सुनसरी, मोरङ, झापा, काठमाडौं, काँकडभिट्टा र विदेशी पर्यटकमाझ लोकप्रिय छन्। उनले भने, ‘विदेशीले रुद्राक्षका झोला बढी रुचाउँछन्।’

ग्राहकको मागअनुसार सामान बनाउँदा माला २० देखि ५०, ढाकी ३०० देखि ५००, झोला एक हजार ५०० देखि तीन हजार र ज्याकेट पाँच हजारदेखि पाँच हजार ५०० रुपैयाँमा बिक्री हुन्छ। दैनिक ५–७ वटा ढाकी बिक्री हुने उनले बताए। उनले भने, ‘सामान्य समयमा व्यापार ठिकै हुन्छ, तर साउनको बोलबम मेलामा व्यापार झन् राम्रो हुन्छ।’ उनले तीन कामदार राखेर सामान बनाउँछन्, अहिले एक कर्मचारीसँग काम गरिरहेका छन्।

रुद्राक्ष स्थानीय स्तरमा सजिलै नपाइने भएकाले उनले धनकुटा, भोजपुर गएर बोटै ठेक्कामा लिन्छन्। एक बोटको मूल्य १ लाखदेखि १ लाख ५० हजार पर्छ। उनले भने, ‘बोटबाट रुद्राक्ष ल्याएर सामान बनाएपछि बिक्रीमा समस्या हुँदैन, अर्डर राम्रो आउँछ।’

लामिछानेका अनुसार, रुद्राक्ष हरियो पात, लामा हाँगा र सेतो फूल फुल्ने रुखमा ओखरजस्तै फल्छ। उनले भने, ‘सामान्यतया १ देखि १४ मुखी रुद्राक्ष पाइन्छ। एकमुखी र ९ देखि १४ मुखी रुद्राक्ष दुर्लभ हुन्छन्। धार्मिक रूपमा महादेवको प्रिय मानिने रुद्राक्ष गाउँमा “दाना” नामले चिनिन्छ।’ रासस

प्रकाशित: ११ जेष्ठ २०८२ १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App