दुई महिनादेखि गभर्नरविहीन रहेको नेपाल राष्ट्र बैंकले सम्भवतः आजै(मंगलबार) नयाँ गभर्नर पाउने छाँटकाँट देखिएको छ। गभर्नर पदलाई राजनीतिक दाउपेचको ब्युहमा फँसाएका नेपाली कांग्रेस र नेकपा एमालेबिच आज सुलह भएको बताइएको छ।
बिहान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संवाद भएको थियो। दुई जनाको संवादका साक्षी एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र कांग्रेसबाट गृहमन्त्री रमेश लेखक थिए।
दुई शीर्ष नेताले गरेको सहमति बमोजिम अर्थमन्त्री पौडेलले बैठकस्थलबाटै गभर्नर सिफारिस समितिको बैठक डाँकेका छन्। समितिमा अर्थमन्त्री पौडेल संयोजक छन् भने निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन्।
दुई पटक गठन भएको सिफारिस समितिको बैठक हालसम्म बस्न सकेकै थिएन। आज बसे त्यो पहिलो हुनेछ।
शीर्ष नेताबिचको संवादमा प्रधानमन्त्री ओली राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेललाई गभर्नर बनाउन फेरी एकपटक राजी भएको बताइएको छ। सोही अनुसार सिफारिस समितिले पौडेलसहित राष्ट्र बैंककै डेपुटी गभर्नर नीलम ढुंगानासहित तीन जनाको नाम सिफारिस गर्ने र आजै बस्ने मन्त्रिपरिषद्को बैठकबाट पौडेललाई गभर्नर नियुक्त गर्ने बताइएको छ।
अझैँ आशंका
गभर्नर प्रकरणमा प्रधानमन्त्री ओली र एमालेको भूमिकाले अझैँ पनि ढुक्क हुने अवस्था नभएको विश्लेषण भइरहेको छ।
दुई दलबीच गभर्नरबारे पटक–पटक सहमति हुने र तोड्ने क्रम चलिरहेकाले अझैँ विश्वस्त हुने अवस्था नरहेको कांग्रेस नेताहरु नै बताउँदै छन्।
यसअघि प्रधानमन्त्री ओली र सभापति देउवाबीच राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो। सोहीअनुसार भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा पनि दिएका थिए। तर, कायम मुकायम गभर्नरको जिम्मेवारी पाएकी डेपुटी गभर्नर ढुंगानाले राजीनामा स्वीकृत नगरिदिएपछि ओलीले भट्टको विकल्प खोज्न देउवालाई सुझाएका थिए।
त्यसपछि देउवाले योजना आयोगका पूर्व उपाध्यक्ष पौडेलको नाम लिएका थिए। ओली त्यसमा तत्काल सहमत भएपनि त्यसपछि उनले ढिलासुस्ती गर्दै आएका थिए।
पछिल्ला केही दिन यता प्रधानमन्त्री ओली पौडेललाई पनि गभर्नर बनाउन तयार भएका थिएनन्। सोमबारको नियमित मन्त्रिपरिषद् बैठकसम्म कांग्रेस पर्खिएको थियो। अन्तिममा मन्त्रिपरिषद् बैठक नै स्थगित गरेपछि भने कांग्रेस झस्किएको थियो।
सोमबार साँझ ओलीले भेट्न बालुवाटार बोलाउँदा देउवा गएनन्। साँझ नै देउवाले कांग्रेसका केही नेतालाई घरमा बोलाएर छलफल गरेका थिए। जसमा गभर्नर नपाए सरकारबाट बाहिरिनेसम्मका विषयमा छलफल भएको एक नेता बताउँछन्।
त्यसपछि कांग्रेसले सरकारकै विकल्पमा जानसक्ने देखेपछि मंगलबार ओली गभर्नर कांग्रेसलाई दिन तयार भएका हुन्। यसरी साँझसम्म अर्को केही ट्विस्ट नआए पौडेल नयाँ गभर्नर हुने देखिएको छ।
आज गभर्नर नियुक्त भएपछि भोलि सपथग्रहण गराएर कार्यभार सम्हाल्ने पनि बताइएको छ।
प्रकाशित: ६ जेष्ठ २०८२ १५:५४ मंगलबार

