धान, मकै, सुन्तला र तरकारी खेतीका लागि पोखरा आसपासका गाउँ परिचित छन्। तर, पछिल्लो समय पोखरा आसपासका कतिपय गाउँका बासिन्दाले तरबुजा खेती पनि गर्न थालेका छन्। किसानले नयाँ खेतीको रुपमा तरबुजा रोप्न थालेका हुन।
अघिल्ला वर्षसम्म परीक्षणको रुपमा मात्र तरबुजा रोपेका किसानले योवर्ष भने व्यावसायिकता नै दिएका छन। धानमात्र फल्ने खेतलाई पनि उनीहरुले तरबुजा खेतीमा उपयोग गर्न थालेका छन। खेतसँगै जोडिएको तर उपयोग नभएको खोला किनारको क्षेत्रलाई पनि किसानले तरबुजा खेतीमा उपयोग गरिरहेका छन।
पोखरा महानगरपालिकाका अनुसार अहिले किसानले नयाँ खेतीको रुपमा सुरु गरेको तरबुजा खेतीले किसानलाई सफलता दिलाएको छ। नयाँखेतीको रुपमा तरबुजा खेती सुरु गरेका किसानले तरबुजाबाट आर्थिक लाभ पाउने देखेपछि व्यावासायिकता दिन थालेका हुन। तरबुजा खेतीमा अतिरिक्त लगानी पनि थप्न थालेको किसानले बताएका छन्।
पोखरा–२१ का ज्ञानबहादुर कार्की लामो समय यूरोपमा बसे । यूरोपमा उनले खेतीपातीको अनुभव बटुले। बिदेशको त्यो अनुभवलाई अहिले स्वदेशमा उपयोग गर्दैछन। त्यसक्रममा कार्कीले पोखरामा तरबुजा खेती गरिरहेका छन्। साथीहरुसँग मिलेर कार्कीले पोखरा–३३ पिउरीदोभानमा तरबुजा खेती गरिरहेका छन। पिउरीदोभानको करिब ३५ रोपनीक्षेत्रफलमा कार्की समूहले तरबुजा खेती गरिरहेको छ।
‘तरबुजा तराईमा मात्र फल्ने फलको रुपमा बुझिएको थियो। गर्मीमा मात्र फल्ने भन्ने लागेको थियो। तर, अहिले त हामीले नै पोखराभित्रै फलाउन सकेका छौं,’ उनले भने, ‘तरबुजा अब नयाँ खेतीको रुपमा भित्रिएको छ। वैकल्पिक खेतीको रुपमा पनि गर्न सकिने भएको छ। अहिलेसम्म सुन्तला, धान, मकै र तरकारी मात्र खेती भएकोमा अब नयाँखेतीको रुपमा तरबुजा रोप्न सकिने भएको छ।’
पिउरीदोभानको खेत र खोला किनारको अलपत्र जग्गालाई उनीहरुले तरबुजा खेतीको थलो बनाएर रोपेका थिए। ‘धान फल्ने खेत हो। त्यो बाहेक खोलाको कटानले बचेको सार्वजनिक जग्गालाई पनि उपयोग गरेका हौ। हामीले सोचेभन्दा राम्रोगरि तरबुजा फलेको छ,’ उनले भने।
यूरोपमा लामो समय बस्दा कार्कीले खेतीको अनुभव बटुलेका थिए। त्यही अनुभवलाई स्वदेश फर्केर प्रयोग गरेको उनले बताए। ‘यूरोपमा रहँदा अर्काको मुलुकमा खेतीपाति गरियो। अहिले त्यही अनुभवलाई स्वदेशमा प्रयोग गर्दैछु,’ उनले भने, ‘हाम्रो अभ्यास पोखरा क्षेत्रका लागि नयाँ छ। नेपालको माटोमा खेतीपातिका लागि तागत छ भन्ने पनि यसले पुष्टि गरेको छ।’
.jpg)
उनका अनुसार एकरोपनी क्षेत्रफलमा करिब साढे तीनटन तरबुजा फल्नुपर्छ। तर, पोखरा क्षेत्रमा नयाँ काम भएकोले यो वर्ष सोचेजति उत्पादन दिलाउन सकिएन। उनका अनुसार अहिले ३५ रोपनी क्षेत्रफलमा ७५ टन मात्र तरबुजा फलेको अनुमान छ। ‘हाम्रा लागि पनि नौलो अभ्यास हो। नयाँ खेती भएकोले हामीले पनि सिक्दैछौ। सायद अर्काेवर्षदेखि अझै बढी उत्पादन दिलाउन सक्नेमा विश्वस्त छौ। पहिलो पटक गरेको खेती भएकोले उचित रेखदेख गर्न नजानेको पनि हुनसक्छ,’ उनले भने।
कार्की समूहले गत फागुन अन्तिम साता पिउरीदोभानमा तरबुजा रोपेका थिए। अहिले तरबुजा टिप्ने समय भईसककेको छ। पियरीदोभान बाहेक उनै कार्कीले पोखरा–२१ कृस्तिमा ११ रोपनी क्षेत्रफलमा तरबुजा खेती सुरु गरेका छन्।
‘कृस्तिमा पनि परीक्षणको रुपमा तरबुजा खेती गरेको थिए। यो पटक भने ११ रोपनी क्षेत्रफलमा खेती गर्ने तयारी छ। पोहोरसम्म सिंचाईको सुविधा नहुँदा समस्या भएकोले खेती राम्रो भएन,’ उनले भने, ‘अहिले भने सिंचाइका लागि पानी टंकी निर्माण गरेको छ। अब आउने सिजनमा खेती गर्ने हो।’
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाका अनुसार पछिल्लो समय पोखरा क्षेत्रमा तरबुजा खेती हुन थालेको छ। ‘जलवायु परिवर्तनको असर पो हो जस्तो लाग्न थालेको छ, नयाँनयाँ खेतीले पनि उत्पादन दिन थालेको छ। पहिलापहिला तरबुजालाई तराईमा मात्र फल्ने खेतीको रुपमा बुझिएको थियो। तर, अब त पोखराजस्तो ठाउँमा पनि हुन थालेको छ,’ कडरियाले भने, ‘अरु खेतीलाई भन्दा बढी तातो र बलौटे माटोमा मात्र तरबुजा खेती हुन्छ। अहिले पोखरा आसपासका धेरै ठाउँमा किसानले तरबुजा खेती सुरु गरेका छन। नौलो खेतीले सबैलाई हौस्याएको छ।’
कडरियाका अनुसार अहिले पोखराका १३, १४, १६, २३, ३०,३२ र ३३ नम्बर वडाका किसानले तरबुजा खेती सुरु गरेका छन। महानगरपालिकाको करिब २ सय रोपनी क्षेत्रफलमा ५० बढी व्यवसायिक किसानले अहिले तरबुजा खेती गरेको उनले बताए। उनका अनुसार पोखरामा मात्र करिब करिब २ सय टन तरबुजा उत्पादनको अनुमान गरिएको यस खेतीबाट २ करोड रुपैयाँ किसानले आम्दानी गरेको उनले बताए।
पछिल्लो समय पोखरा महानगरपालिका क्षेत्रमा तरबुजाको उत्पादन राम्रो भएको र यसखेति प्रति किसानले आकर्षण बढेपछि महानगरपालिकाले खेतीका लागि सघाउनेगरि केही सामाग्री पनि दिने गरेको छ। महानगरले तरबुजा खेती गर्ने किसानका लागि मल्चिङ प्लास्टिक र बिउ दिएर सहयोग थालेको छ। यो प्लाष्टिकले जमिनको माटोलाई तातो बनाउन सघाउने भएकोले तरबुजा फलाउन सघाएको महानगरको आर्थिक विकास महाशाखा प्रमुख कडरियाले बताए।
प्रकाशित: ४ जेष्ठ २०८२ १६:४५ आइतबार





