२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
अर्थ

थोरै जग्गामा मुस्कानको धेरै तरकारी उत्पादन

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मुस्कान चौधरी विदेशबाट फर्केर व्यावसायिक तरकारी खेतीमा लागेका छन्। 

छ वर्षदेखि तरकारी खेती गर्दै आएका चौधरीले चार वर्ष मलेसियामा काम गरेर फर्केपछि वार्षिक सात लाखभन्दा बढी आम्दानी गरिरहेका छन्। वैदेशिक रोजगारीको कमाइबाट चार कठ्ठा जग्गा किनेका उनले त्यसमा बाह्रै महिना तरकारी खेती गर्छन्। ‘थोरै जग्गा थियो,’ उनले भने, ‘सात जनाको परिवार चलाउन चुनौती थियो, घर फर्केर चार कठ्ठा जग्गा थपेँ।’

पहिला घरका लागि मात्र थोरै तरकारी खेती हुन्थ्यो। आर्थिक अभाव भए पनि खेतीको तरिका थाहा थियो। वैदेशिक रोजगारीको कमाइ लगानी गरेर व्यावसायिक तरकारी खेतीमा लाग्ने निर्णय गरे। परिवारको साथ पाएपछि खेतीमा होमिए। पहिलो वर्ष नै सोचेभन्दा बढी आम्दानी भएपछि खेतीलाई निरन्तरता दिए। गत हिउँदमा काउलीबाट ८० हजार र लहरेबालीबाट ६० हजार आम्दानी गरे।

वैशाखदेखि असारसम्म काँक्रा, बोडी, तरबुजा, तितेकरेला, तोरैया, खुर्सानी, वर्षातमा लौका, काँक्रा, फर्सी र हिउँदमा काउली, गोलभेँडा, खुर्सानी खेती गर्छन्। बेमौसमी तरकारीबाट बढी आम्दानी हुने गरेको छ। सात जनाको परिवार र बालबालिकाको पढाइ खर्च तरकारी खेतीले धान्छ।

चौधरीसँग चार कठ्ठा किनेको र पहिलेदेखिको छ कठ्ठा गरी १० कठ्ठा जग्गा छ। चार कठ्ठामा बाह्रै महिना तरकारी र छ कठ्ठामा गहुँ, धान खेती हुन्छ। बारी तयार गर्ने, बीउ रोप्ने, मल राख्ने, गोडमेल गर्ने र बजार पुर्‍याउन परिवार सबै खटिन्छ। मोटरसाइकलमा तरकारी राखेर महेन्द्रनगरको सब्जीमण्डी र झलारी बजारमा बेच्छन्।

‘विदेशमा तलब मात्रै पाइन्थ्यो,’ उनले भने, ‘तरकारी खेतीमा जति मेहनत, त्यति फल पाइन्छ। विदेशमा एक्लो हुन्थ्यो, अहिले परिवारसँग सुखदुख बाँड्न पाइएको छ। बिरामी हुँदा परिवारले हेर्छ, विदेशमा त्यस्तो थिएन। स्वदेशमै भएको कमाइमा सन्तुष्ट छु, अब विदेश जाने योजना छैन।’

थोरै जग्गामा धेरै तरकारी फलाउने किसानका रूपमा शुक्लाफाँटा नगरपालिकाको कृषि विकास शाखाले उनलाई उत्कृष्ट कृषकको प्रमाणपत्रसहित पुरस्कृत गरेको छ। वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी उनलाई मेहनती र साहसी किसान मान्छन्। ‘थोरै जग्गामा बाह्रै महिना तरकारी खेती गरेर राम्रो आम्दानी गर्ने किसानमा मुस्कान पर्छन्,’ उनले भने, ‘उनको काम अरू किसानले सिक्नुपर्छ।’

पिपलाडी नगरपालिका क्षेत्रमै सबैभन्दा बढी व्यावसायिक तरकारी खेती हुने ठाउँ हो। यहाँ ५० भन्दा बढी किसान तरकारी खेतीमा संलग्न छन्। रासस

प्रकाशित: २७ वैशाख २०८२ ११:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App