चालु आर्थिक वर्ष सुरु भएको ९ महिना बितिसक्दा जिल्लाको रौतामाई गाउँपालिकाको पुँजीगत बजेट खर्चको अवस्था टिठलाग्दो छ। साउनदेखि चैत मसान्तसम्म रौतामाईको पुँजीगत बजेट खर्च ३० प्रतिशत पनि नपुग्नुले यो कुरा प्रमाणित गर्दछ।
गाउँपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको १७ करोड १७ लाख ७१ हजार २ सय ७८ रुपैयाँ पुँजीगत बजेट अहिलेसम्म ५ करोड पनि खर्च गर्न सकिरहेको छैन। चैत मसान्तसम्म पुँजीगत बजेट खर्च ४ करोड ९८ लाख ९० हजार ८ सय १५ रुपैयाँ मात्र खर्च भइरहेको लेखा अधिकृत भूपध्जव रायमाझीले बताएका छन्। उनका अनुसार अहिलेसम्मको पुँजीगत बजेट खर्च २९.०४ प्रतिशत मात्र भएको छ।
चालुतर्फको बजेट भने ६० प्रतिशत कटिसकेको छ। गाउँसभाले यस वर्षका लागि चालुतर्फ ४० करोड ३१ लख ५० हजार ३ सय ५८ रुपैयाँ खर्च हुने प्रक्षेपण गरेको थियो। जसमध्ये हालसम्म २४ करोड ५६ लाख ८७ हजार ६ सय ७६ रुपैयाँ खर्च भएको अधिकृत रायमाझीले बताएका छन्। यो हिस्सा चालुतर्फ विनियोजित बजेटको ६०.९४ प्रतिशत हो।
प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले भुक्तानीको अवस्था हेर्दा कम देखिए पनि कामको हिसाबले भने पुँजीगत खर्च यो भन्दा बढी रहेको बताएका छन्। धेरै विकास निर्माणका योजनाहरूको काम भइरहेको र भुक्तानी माग्ने बील भर्पाइ गाउँपालिकामा बुझाइसकेको बताउँदै हाकिम श्रेष्ठले त्यो समेत हिसाब गर्ने हो भने ४० प्रतिशतभन्दा बढी हुन आउने आँकलन गरे।
गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले अहिलेसम्मको खर्च प्रतिशत देख्दा थोरै भए पनि काम धेरै भइसकेको बताए। असार मसान्त (साल तमामी)को बेलासम्म विकास निर्माणका योजनाहरू प्रायः सबै सक्ने गरी धमाधम काम भईरहेको उनको भनाइ छ। ‘पुँजीगत बजेट विकास निर्माण गर्न विनियोजित रकम हो, त्यसैले काम भईरहदा भुक्तानी लिन बाँकी नै हुन्छ,’ अध्यक्ष मगरले भने, ‘काम भटाभट भइरहेको छ, भुक्तानी बाँकी भएर खर्च थोरै देखिएको मात्र हो।'
विगत वर्षहरू झैँ यस वर्ष पनि रौतामाईले पुँजीगत बजेट फ्रिज हुन नदिने अध्यक्ष मगरको प्रतिबद्धता छ। असार मसान्त आउन दुई-अढाई महिना बाँकी नै रहेकाले त्यस बेलासम्म सबै पैसा खर्च हुने गरी पुँजीगत बजेटको काम भइसक्ने उनले दाबी गरे।
रौतामाईमा आउँदो असारभित्रै सकिने योजनाहरू पुल, सडक, नाला, खानेपानी, भवनहरूजस्ता भौतिक पूर्वाधार संरचनाहरू निर्माण भइरहेका छन्। केही योजनाहरू भने बहु वर्षीय रहेकाले क्रमागत रूपमा निर्माण भइरहेको अध्यक्ष मगरले बताएका छन्।
प्रकाशित: २५ वैशाख २०८२ १२:४९ बिहीबार





