१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

उदयपुर गढीको पुँजीगत खर्च ९ महिनामा झण्डै आधा

चालु आर्थिक वर्षको ९ महिना अवधिमा जिल्लाको उदयपुर गढी गाउँपालिकाले पुँजीगत बजेट उत्साहजनक खर्च गरेको छ । गत साउनदेखि चैत मसान्तभित्र उदयपुर गढीले पुँजीगत बजेट झण्डै आधा खर्च गरिसकेको जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले चैत मसान्तभित्र ४६.५९ प्रतिशत खर्च गरिसकेको बताए । उनका अनुसार चालु वर्षका लागि गाउँ सभाले पुँजीगततर्फ २८ करोड ७८ लाख ९८ हजार ७ सय ६५ रुपैँया विनियोजन गरेको थियो । जसमध्ये चैत मसान्तसम्ममा १३ करोड ४१ लख ५४ हजार ५ सय ९२ रुपैँया खर्च गरिसकेको अधिकृत राईले बताए ।

राईका अनुसार चालुतर्फको बजेट भने झण्डै ६० प्रतिशत खर्च भईसकेको छ । यस वर्षका लागि गाउँ सभाले विनियोजन गरेको चालुतर्फको बजेट अङ्क ४० करोड ६९ लाख ३ हजार २ सय १२ रुपैँया हो । जसमध्ये चैत मसान्तसम्ममा २३ करोड ६० लाख १४ हजार ६ सय ८ रुपैँया खर्च भईसकेको हाकिम राईले बताए । यो हिस्सा ५७.८६ प्रतिशत हुन आउने उनले बताएका छन् ।

लेखापाल शेखर बुढाथोकीले उदयपुर गढी गाउँ सभाले आर्थिक वर्ष ०८१/८२ का लागि चालु र पुँजीगत गरी ६९ करोड ५८ लाख १ हजार ९ सय ७७ रुपैयाँको अनुमानित बजेट प्रक्षेपण गरेको बताए । जसमध्ये चैत मसान्तसम्ममा ३७ करोड १ लाख ६८ हजार २ सय रुपैँया खर्च भईसकेको छ । बजेटको समग्र खर्च प्रतिशत भने ५२.२२ हुन आउने लेखापाल बुढाथोकीले बताएका छन् ।

बुढाथोकीका अनुसार विकास निर्माणका कामहरू धमाधम भइरहेको र लगभग सबै योजनाको काम अन्तिम अन्तिम अवस्थामा पुगिसकेकाले पुँजीगत बजेट खर्च योभन्दा २५/३० प्रतिशत बढी नै हुन आउने अनुमान छ । भवन, सडक, खानेपानी, नालाजस्ता कामहरू धमाधम भइरहेको र निर्माणको अन्तिम चरणमा पुगेकाले भुक्तानीको पाईपलाईनमा रहेको उनले बताए । ती बिलको भुक्तानी गर्दा पुँजीगत बजेट खर्च झण्डै ७० प्रतिशत पुग्ने उनको आङ्कलन छ । 

गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले गाउँको विकास निर्माणका लागि विनियोजित रकम आर्थिक वर्ष सक्नु अगावै खर्च गरिसक्ने गरी गाउँपालिका संयन्त्रले काम गरिरहेको बताए । अध्यक्ष मगरका अनुसार गत विगत वर्षहरूमा पनि विकास बजेट फ्रिज हुन नदिएको स्मरण गर्दै चालु वर्ष पनि पुँजीगत बजेट फर्कन नपर्ने गरी काम भइरहेको छ । ‘गाउँको विकास निर्माणका लागि विनियोजित पुँजीगत बजेट समयमै खर्च गर्न नसके फर्केर जाने भएकाले त्यसो हुन नदिन हामी प्रतिबद्ध छौँ’ अध्यक्ष मगरले भने ‘त्यसका लागि समयमै योजना सर्वेक्षण, डिपिआर, सम्झौता र कार्यान्वयन गर्ने गरेका छौँ ।’

उदयपुरगढीमा चालु वर्ष महत्त्वपूर्ण र दूरगामी सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधार संरचनाहरुको निर्माण कार्य भइरहेको छ । जसमध्ये गाउँपालिका प्रशासनिक भवन, गाउँ अस्पताल, विभिन्न वडामा स्वास्थ्य चौकी भवनहरु निर्माण भइरहेका छन् । त्यस्तै मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डमा पर्ने नेपालटारदेखि गाउँमुकाम उदयपुर गढी जोड्ने सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने काम पनि भइरहेको छ । 

प्रकाशित: २४ वैशाख २०८२ ११:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App