९ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्ने

कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको  लगानी सम्मेलनको तयारी पूरा भएको छ । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारले लगानी सम्मेलनको सबै तयारी पुरा भएको जानकारी दिएको हो ।

कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते गर्न लागेको लगानी सम्मेलनमा  एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजनाहरू सोकेसिङ गर्ने भएको छ । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आइटिलगायतका क्षेत्रहरू छन् । लगानी सम्मेलनकै क्रममा २४ वटा भन्दा बढी परियोजनामा भने सम्झौता (एमओयु) नै हुने  जनाइएको छ । लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला लगानी सम्मेलनकै क्रममा २४ वटा भन्दा बढी परियोजनामा एमओयु नै गर्ने गरी तयारी गरिएको जानकारी दिए ।

लगानी सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैर आवासीय नेपालीहरूको सहभागिता हुने कोइरालाले बताए । कोइरालाले भने ‘लगानी सम्मेलनमा निजी क्षेत्र, गैर आवासीय नेपालीहरू र विदेशी लगानीकर्ताहरूसमेत सहभागी हुने छन्।’ लगानी सम्मेलनलाई मध्यनजर गरी कोशी प्रदेश सरकारले विभिन्न आठ वटा ऐन पनि संशोधन गरेको छ । मंगलबार अध्यादेश जारी गरी संशोधन गरेका ऐनहरूमा सार्वजनिक साझेदारी ऐन २०७६, प्रदेश सहकारी ऐन २०७६, प्रदेश सवारी तथा यातायात  व्यवस्था ऐन २०७६, प्रदेश भवन ऐन २०७६ रहेको छ । यस्तै  प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६, प्रदेश पर्यटन ऐन २०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्टेशन ऐन २०७७ र प्रदेश वन ऐन २०७७ रहेका छन् ।

लगानी सम्मेलनमा कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास, ऊर्जा, स्वास्थ्य सेवा, मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावनाका विषयकमा छलफल हुने जनाइएको छ । साथै, पहिलो दिनको मुख्य सत्रका रूपमा कोशी प्रदेशका हकमा लगानीमैत्री वातावरण र तीन तहका सरकारहरूबीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरू र जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत हुने कोइरालाले जानकारी दिए ।

लगानी सम्मेलनका लागि प्रदेश सरकारले केही नीतिगत प्रतिबद्धतासमेत गरेको छ । जसमा प्रदेशभित्रका कृषि, उद्योग, पर्यटन, पूर्वाधार र जलस्रोतसँग सम्बन्धित सम्भाव्य आयोजना वा परियोजनाहरूको सूची तयार गरी तिनको प्राविधिक एवम् आर्थिक अवस्थाको विश्लेषण गरी लगानीकर्ता समक्ष प्रस्तुत गर्ने । संघीय सरकार, स्थानीय तह र लगानीकर्ताहरूबाट प्राप्त आयोजना वा परियोजनाहरूको समेत सम्भाव्यता अध्ययन गरी लगानी आकर्षक गर्न आवश्यक कदम चाल्नेलगायत रहेका छन् । विराटनगर स्थित विरेन्द्र सभागृहमा लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जनाइएको छ । 

प्रकाशित: १७ वैशाख २०८२ १८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App