१ असार २०८२ आइतबार
image/svg+xml
अर्थ

बोटमै कुहिन थाल्यो टमाटर र बन्दा : ५ रुपैयाँ किलोमा पनि नबिकेपछि किसानले टिप्न छोडे

बुद्धभूमि नगरपालिका–१० धनकौलीमा टमाटर र बन्दा बोटमै कुहिन थालेका छन्। बोटभरि टमाटर लटरम्म फले पनि कृषकले टिप्न छाडेका छन्। टमाटर र बन्दा ५ रुपैयाँ किलोमा पनि नबिक्दा खेतमै छाडिएको छ। बिचौलिया व्यापारीले टमाटरको मूल्य ५ देखि १० रुपैयाँ तोकेका छन्।

‘टिप्ने ज्याला पनि नउठ्ने भएपछि टमाटर खेतमै कुहिन छाड्यौँ,’ अगुवा कृषक बहराईची केवटले भने, ‘लगानी र परिश्रमको मूल्य पनि पाएनौँ।’ उनले वडाका ९ गाउँमा एक करोडभन्दा बढीको टमाटर खेतमै कुहिएको बताए। बढी उत्पादन र बजार माग नहुँदा यस्तो भएको हो। देउपुरा, मथुरानगर, लौहरौला, धर्मपुर, हरहवा, शिवपुर, मोतीनगर, गगनी र चेतरादेई गाउँमा टमाटर खेतभरि छरिएको छ। कतिपय कुहिसके, कतिपय ताजा छन्।

यी गाउँमा ७० हेक्टरमा टमाटर खेती गरिएको छ। ‘बोटमा टमाटर लटरम्म छन्,’ देउपुरा कृषक राम केवटले भने, ‘आफैँ खस्छ, हेर्न मन लाग्दैन।’ उनले ५० हजार खर्चेर टमाटर लगाए तर २० हजार पनि नउठेको बताए। ‘बोटमा ३ लाखको टमाटर छ, त्यसै दिए पनि कसैले लैजाँदैन,’ उनले थपे।

कृषक मुरली केवटले उत्पादन सुरु भए पनि बिक्री नहुँदा खेतमै कुहिन छाडेको बताए। ‘कृषकको समस्यामा कसैले ध्यान दिँदैन, नेताहरू भोट माग्न मात्र आउँछन्,’ उनले गुनासो गरे। बहराईची केवटका अनुसार ६ लाखको टमाटर खेतमै कुहिएको छ। वडाका १५० कृषक प्रभावित छन्।

धनकौली तरकारी पकेट क्षेत्र हो। यहाँ ५५ हजार क्विन्टल टमाटर उत्पादन हुने अनुमान छ। बिचौलियाले मूल्य तोक्दा समस्या भएको कृषक भीम केवटले बताए। गत वर्ष १० कठ्ठा टमाटर बेचेर ४ लाख कमाएका रामकुमार यादवले यस वर्ष ७५ हजारमात्र कमाए। ‘टमाटर राम्रो फल्यो, तर मूल्यले टिप्ने जागर मरेको छ,’ उनले भने।

चेतरादेईमा रामघाट ताजा तरकारी सङ्कलन केन्द्र सञ्चालक बालदीन केवटले दाङ, बुटवललगायत बजारमा व्यापारीले टमाटर नलिएको बताए। बिक्री नहुँदा कृषकको टमाटर किन्न गाह्रो भएको उनको भनाइ छ। गाउँनजिकै निजी चिस्यान केन्द्र भए पनि कृषकको तरकारी राख्न नदिएको गुनासो छ।

कृषकका अनुसार १० हजार क्विन्टलमात्र बिक्री भयो, २० हजार क्विन्टल टमाटर कुहियो। बुद्धभूमि–१०, बुद्धभूमि–५ र कपिलवस्तु नगरपालिका–९ मा एक करोडभन्दा बढीको टमाटर र बन्दा कुहिएको अगुवा कृषक रामशङ्कर केवटले बताए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कपिलवस्तुका प्रमुख राकेश ओझाले बढी उत्पादनले मूल्य घटेको बताए। ‘बिस्तारै टमाटरको मूल्य बढ्दै छ, आत्तिनुपर्दैन,’ उनले भने। परियोजनाले बिउमा अनुदान दिएको छ।

कृषक राजु केवटले टमाटर र बन्दा लगाउने कृषकले ठूलो नोक्सान व्यहोरेको बताए। ‘बन्दा नबिकेपछि खेतमै कुहायौँ, भैँसीलाई खुवायौँ,’ उनले भने। उनले तरकारी जोनले बजार व्यवस्थापनमा ठोस पहल गर्नुपर्ने माग गरे।

प्रकाशित: ६ वैशाख २०८२ १७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App