आर्थिक वर्ष सुरु भएको १० महिना बितिसक्दासम्म उदयपुरको कान्छो नगरपालिका बेलकाको बजेट खर्च अत्यन्त टिठलाग्दो अवस्थामा छ। चालु आर्थिक वर्ष सकिन २ महिना मात्र बाँकी रहँदा बजेट खर्च कछुवा गतिमा भइरहेको पाइएको छ।
त्यसमा पनि पुँजीगत बजेटको खर्च प्रतिशत त नगन्य रहेको छ। साउनदेखि चैतसम्मको १० महिने अवधिमा बेलकाको पुँजीगत बजेट १० प्रतिशतमा सीमित रहेको छ। २४ करोड ६२ लाख ४ हजार ३५ रुपैयाँ प्रक्षेपण गरेको पुँजीगत बजेट हालसम्म २ करोड ९५ लाख ३० हजार १ सय ५३ रुपैयाँ मात्र खर्च भएको लेखा अधिकृत राजन भट्टराईले बताए।
विकास निर्माणसँग सम्बन्धित पुँजीगत बजेट खर्च हुन नसक्नुको अर्थ नगरपालिकाले भौतिक पूर्वाधार संरचना निर्माण गर्न ढिला भएको भन्ने अर्थ लाग्छ। लेखा अधिकृत भट्टराईका अनुसार हालसम्म लगभग ३ करोड हाराहारी मात्र पुँजीगत रकम खर्च भइरहेको छ। तर, भुक्तानीका लागि बील भर्पाईहरू पाइपलाइनमा रहेकाले यो भन्दा बढी नै खर्च हुने उनले बताए। तथ्याङ्क अद्यावधिक भएको अङ्क भुक्तानीको विवरण यति भए पनि विकास निर्माणका योजनाको बाँकी भुक्तानी जोड्ने हो भने यो भन्दा बढी नै रहेको उनले बताए।
‘यो फिगर भुक्तानी भएको रकमको अङ्क हो, कतिपय योजनाहरु धमाधम सञ्चालन भइरहेका छन् भने कति दोस्रो तेस्रो फेजमा पुगेर भुक्तानीको पाईपलाईनमा रहेकाले खर्च प्रतिशत यो भन्दा बढी हुनसक्छ,’ अधिकृत भट्टराईले भने, ‘केही योजना निर्माणको मध्ये चरणमा, कतिपय अन्तिम चरणमा र कति योजनाहरु पहिलो र दोस्रो किस्ता भुक्तानीको पाइपलाइनमा छन्। त्यसैले योभन्दा झण्डै दोब्बर खर्च भइसकेको हुनसक्छ।’
उनका अनुसार पुँजीगत खर्च ३ करोड हाराहारी भुक्तानी भए पनि काम भएकोसमेत जोड्ने हो भने झण्डै दोब्बर अर्थात ६ करोड (२० प्रतिशत) हाराहारी खर्च भइसकेको हुन सक्छ।
नगरको चालुतर्फको बजेट भने झण्डै आधा हिस्सा खर्च भइसकेको छ। साउनदेखि चैत मसान्तसम्म चालु बजेट २३ करोड ७० लाख २८ हजार ९ सय ३७ रुपैयाँ खर्च भइसकेको छ। आर्थिक वर्ष ०८१–८२ का लागि नगरसभाले चालुतर्फ ५३ करोड ८० लाख ७९ हजार ९ सय ९२ रुपैयाँ पारित गरेको छ। जसमध्ये १० महिनाको अवधिमा ४९.६२ प्रतिशत हिस्सा खर्च भइसकेको लेखा अधिकृत भट्टराईले बताए।
बेलका नगरसभाले चालु वर्षका लागि ७८ करोड ४२ लाख ८४ हजार २८ रुपैयाँको आयव्यय प्रक्षेपण गरेको थियो। चालु र पुँजीगत गरी समग्र बजेट खर्च भने अहिलेसम्म ३६.८१ प्रतिशत भएको छ। चालुतर्फको बजेट तलबभत्ता र पारिश्रमिकवापत खर्च हुने हुँदा त्यसको विकास निर्माणसँग कुनै साइनो हुँदैन। विकास निर्माणका कामहरू कति भए भन्ने मापन पुँजीगत खर्चको हिस्साले देखाउँछ। पुँजीगत खर्च १० प्रतिशतमा सीमित हुनुको अर्थ बेलकाको विकास निर्माणको काम १० प्रतिशत भइरहेको छ भने नै हो।
नगरप्रमुख अशोक कार्कीले नगरपालिकामा हाकिम नभएका कारण बजेट खर्च हुन नसकेको बताए। प्रमुख प्रशासकीय अधिकृत नभएका कारण पुँजीगत बजेट खर्च गर्न नसकेको बताउँदै उनले हाकिम नहुँदा योजना सम्झौता, अनुगमन, मूल्याङ्कनदेखि भुक्तानी र फरफारकसम्म प्रभावित भएर बजेट खर्च हुन नसकेको बताए। उनका अनुसार गएको पुस पहिलो साता नगरपालिका छाडेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे नफर्केपछि चैत अन्तिममा स्थानीयतहका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेर काम चलाउ जिम्मेवारी दिइएको छ।
‘पहिलेका हाकिम पुस ९ गते नै नगरपालिकाबाट हिडेका हुन्, उनलाई फर्काउन पटकपटक प्रयास गर्दा नसकेपछि अर्को हाकिम मगाएँ’ मेयर कार्कीले दुःखेसो गरे, ‘तर, मन्त्रालयले वास्तै गरेन। ३ महिना बढी भइसक्दासम्म हाकिम नपठाएपछि स्थानीतहकै कर्मचारीलाई निमित्त दिएर काम चलाउनु परेको छ।’ जनप्रतिनिधिका काम बजेट तर्जुमा, नीति कार्यक्रम र योजना निर्माण भए पनि कार्यान्वयन तथा खर्च प्रक्रिया कर्मचारीबाट हुने भएकाले हाकिम नहुँदा बजेट खर्च प्रभावित भएको मेयर कार्कीले बताए।
प्रकाशित: ६ वैशाख २०८२ १०:३१ शनिबार





