१६ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

असिनाबाट सुन्तलाका बोट जोगाउन जाली

७० प्रतिशत अनुदान

असिनाबाट जोगाउनका लागि पोखरा–२१ मा सुन्तलाका बोटमा लगाइएको जाली। तस्बिरः नागरिक

असिनाबाट सुन्तलाका बोट र भर्खर लागेका दाना कसरी जोगाउने? सुन्तला खेती गर्ने किसानलाई वर्षेनी यस्तै चिन्ताको विषय हुन्छ। यो सिजनमा पोखरा क्षेत्रमा असिनापानी पर्ने र असिनाको चोटले भर्खर लागेका सुन्तलाका दानामा क्षति पुग्ने हुँदा किसानले वर्षेनीजसो यो समस्या झेल्दै आएका थिए।  

तर, सुन्तलाका बोट जोगाउन योपटक नयाँ जुक्ति निकालिएको छ। त्यो हो, सुन्तलाका बोटलाई नै ढाक्नेगरि जाली प्रयोग गर्ने। सुन्तलाका बोटलाई जालीले ढाकेर असिनाबाट जोगाउने उपाय थालिएको छ। मान्छेले वर्षाबाट जोगिन छाता ओढेजस्तै सुन्तलाका रुखलाई जालीको छाता ओडाएर असिनापानीको मारबाट जोगाउने प्रयास गरेको किसानले बताएका छन्। कास्कीमा यो पहिलो अभ्यास हो। यसले सुन्तलाका बोट, पात, डाठ, फलमा पुग्ने असिनाको क्षति कम हुने आँकलन गरिएको छ।  

पोखरा महानगरपालिका–२१ र २२ का किसानको सुन्तला बगैंचामा यो अभ्यास थालिएको छ। पोखरा–२१ का किसान प्रकाश पौडेलका बगैंचामा करिब ५ सय बोट छन्। ती सबै बोटमा फल्न लाग्ने गरेको छ। असिनापानी र रोगब्याधीबाट जोगाउन सके पौडेलले वर्षमा करिब १० लाख रुपैयाँ सुन्तला बेचेरै कमाउने गरेका छन। तर, हरेकवर्ष जसो असिनापानीले क्षति पु¥याएपछि पौडेल चिन्तामा थिए। यो वर्ष करिब ४० बोटलाई जालीले ढाकेपछि ती रुखको दाना असिनापानीबाट जोगिन सक्ने उनको विश्वास छ।  

‘असिनापानीले हैरान पारेको थियो। सुन्तलाका बोटमा दाना लाग्न नपाउँदै असिनापानी परेर क्षति हुने गरेको थियो। यो पटक केही रुखलाई भने जोगाउन सकिनेमा आशावादी छु,’ पौडेलले भने, ‘४० वटाजति रुखलाई जालीले ढाकेको छु। ती रुखको दाना जोगाउन सकियो भने अर्काेवर्ष बाँकी रुखमा पनि यो अभ्यास गर्ने योजना छ।’

फागुनको मध्यतिर फूल खेल्ने र त्यसपछि लागेका दाना चैतको अन्तिमतिरको असिनापानीले नोक्सान हुने गरेको उनले बताए। ‘असिनाबाट सुन्तलाका बोट जोगाउनै हम्मेहम्मे भयो। वर्षेनी असिनाको क्षति भोग्नुपरेको छ। भर्खर लागेको दानामा असिनाको चोट परेपछि फस्टाउँदै पाउँदैनन। दाना मात्र नभई असिनाको चोट खेपेको बोटले पनि राम्रो फल दिन सक्दैन,’ पौडेलले भने, ‘सुन्तलाका दाना जोगाउने चूनौती भएको बेला यो अभ्यास थालिएको छ। यो वर्ष असिनाबाट सुन्तलाका बोट र दाना जोगिए भने आगामि वर्ष अरु बोट पनि यसरी नै जोगाउनुपर्छ।’  

उनका अनुसार फागुन मध्यदेखि सुन्तला फूल्न थाल्छ। चैतपछि पोखरा क्षेत्रमा असिना पर्न सुरु हुन्छ। ‘जेठ १५ पछि मात्र जाली निकाल्नुपर्छ भन्ने सुझाव पाएका छौ। त्यसपछि भने असिना नपर्ने भएकोले जोगिने सम्भावना रहन्छ,’ उनले भने, ‘जेठसम्म दानार्ला रुखमै जोगाउन सकियो भने आम्दानी हुन्सक्छ।’ उनका अनुसार सुन्तलाका बोट भन्दा केही अग्लो बासको पोल गाडेर जाली अड्याइएको छ। त्यसपछि जालीले रुखलाई माथिबाट ढाक्ने हो।  

पोखरा महानगरले यो पटक सुन्तलामा असिनाले क्षति नगरोस भनेर जालीले ढाक्ने गरि अनुदान दिन थालेको छ। महानगरको कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार महानगरले यो पटक ७० प्रतिशत अनुदान दिएर सुन्तलाका बोटमा जाली लगाउन थालिएको हो। पहिलो चरणमा यो अभ्यास थालनी गर्दा महानगरले यो आर्थिक वर्षका लागि १० लाख रुपैयाँ बजेट छुट्याएको छ। किसानले जाली लगाएबापत ३० प्रतिशत लागत बेहोर्नुपर्छ। एउटा बोटमा जालीले ढाक्दा करिब १ हजार रुपैयाँ खर्च लाग्ने उनले सुनाए।  

‘जसोतसो सुन्तलाका विरुवा हुर्कायो, फलको आसमा मलजल पनि गर्यो, अनि फल पनि लाग्छ, तर, एकाएक असिना पर्छ, त्यसपछि लागेको दाना भूँइमा बजारिन्छ,’ कडरियाले भने, ‘प्राकृतिक विपत् परेकोले किसानले असिनापानी रोक्न सक्ने अवस्था रहेन। पर्याप्त कमाईको आशमा रहेका किसानको सपना एकैपटकको असिनाको चुटाँइसँगै तुहिन्छ।’

कडरियाका अनुसार पोखरा–२१ र २२ मा यो अभ्यास थालिएको हो। ‘फलफूलमा यो पटक पहिलो अभ्यास हो। तरकारीमा भने यस्तै अभ्यास पहिलो देखि नै गरिएको थियो। ‘तरकारी खेतीमा भने टनेल माथि पनि कतिपयले जाली हाल्छन। जालीले टनेलको आयु लम्बिन्छ। तर, कतिपयले भने टनेल बिना जाली नै मात्र पनि प्रयोग गर्छन,’ उनले भने, ‘तर सुन्तलामा भने पहिलो अभ्यास हो।’ उनका अनुसार रुख भन्दा अग्लो बास गाडेर जाली अड्याउने र चारैतिर तन्काएर डोरीले बाँधेपछि रुखले जालीको छाता ओड्छ, त्यसो हुँदा असिनाको चोट बोट र दानाले खेप्नुपर्दैन।  

उनका अनुसार एउटै जाली ५० मिटर लामो हुन्छ । त्यो जालीले ७–८ वटा रुखलाई ढाक्न सक्छ। ‘खासमा महानगरले कृषि क्षेत्रमा ५० प्रतिशत अनुदान दिने गरेको थियो। तर, योपटक सुन्तलाको जालीका लागि भने ७० प्रतिशत महानगरले अनुदान दिएको छ। महानगरले सुन्तला खेतीलाई प्रोत्साहन गर्न खोजेको हो,’ उनले भने।  

उनका अनुसार अहिलेसम्म महानगरले सुन्तलाका बोट जोगाउनका लागि मात्र किसानका लागि अनुदान दिएको थियो। त्यो अनुदानबाट सुन्तलाका बोटमा मल हाल्ने, बोडो पेष्ट लगाउने, काँटछाँट गर्ने कार्यक्रम गरिएको थियो। त्यसले गर्दा बोट व्यवस्थापन त भएको थियो। तर, प्राकृतिक प्रकोपबाट भने जोगाउन सकिएको थिएन। 

‘मलजल, काँटछाँट गरेपछि बोटले फल पनि पर्याप्त दिए। बोट विरुवा राम्रोसँग हुर्कियो। तर असिनाको क्षति धान्न सकिएन। यो पटक असिनाबाट जोगाउने चूनौती भएपछि यो विधि अपनाइएको हो,’ कडरियाले भने, ‘प्राकृतिक प्रकोपटबाट जोगाउन सक्ने हो भने किसानले राम्रो लाभ पाउँछन्।’  

महानगरपालिकाका अनुसार पोखरा महानगरका विभिन्न वडामा करिब ३० हजार सुन्तलाका बोट छन। ती सबै बोटले फल दिन्छन। महानगरले २२ हजार बोटका लागि अनुदान दिँदै आएको थियो। अहिलेको करिब १ हजार बोटमा जाली लगाइएको छ। ‘जालीको प्रयोग टिकाउ पनि हुन्छ। एकपटक जाली किनेपछि त्यो ५ वर्षसम्म प्रयोग गर्न मिल्छ। जेठको मध्यतिर बोटबाट निकालेर सुरक्षित राखिएको जाली अर्काे वर्ष फेरि प्रयोग गर्न सकिन्छ।

बोटलाई असिनाबाट जोगाउन, पात, डाठ र फललाई समेत बचाउन यो तरिका प्रभावकारी हुन सक्ने उनले बताए। असिनाबाट जोगाउन सकियो भने बोटको आयु पनि बढ्ने र त्यसले दीर्घकालिन लाभ दिने उनले बताए। पोखरामा मात्र वर्षमा करिब १० करोड रुपैयाँको सुन्तला फलेको महानगरको अनुमान छ।  

प्रकाशित: ४ वैशाख २०८२ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App