जुम्लाको तातोपानी गाउँपालिकाले गिडिदह भ्रमण वर्ष २०८२ घोषणा गरेको छ।
गाउँपालिकाको विकास, समृद्धि र पर्यटन प्रवर्द्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यले पर्यटन वर्षको शुभारम्भ गरिएको हो। तातोपानी गाउँपालिकाको प्रसिद्ध पर्यटकीय स्थल गिडिदहबाट पर्यटन वर्षको शुभारम्भ कर्णाली प्रदेश क्षेत्र (क) का सांसद देवेन्द्रबहादुर शाहीले गरेका छन्।
शाहीले तातोपानीको अर्थतन्त्रलाई महत्त्वपूर्ण सहयोग पुर्याउने बताए। उनले विदेशी पर्यटकलाई गन्तव्यको थलो बनाउनुपर्ने बताए। अब, आन्तरिक तथा बाह्य पर्यटकलाई गिडिदहमा पुगेर प्राकृतिक सुन्दरतासँग रमाउन उत्साहित बनाउने उनले बताए। शाहीले भने, ‘कर्णाली प्रदेश आफैँमा पर्यटनका लागि अब्बल मानिन्छन्। दर्जनौँ पाटन, सयौँ प्रजातिका जडीबुटीहरूको सुगन्ध र धेरै प्रजातिका चराहरूको चिरबिर सुन्दै यात्रा गर्नुमा मज्जा नै बेग्लै हुनेछ ।’
पर्यटन वर्ष शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले पर्यटनको समृद्ध वर्षका लागि तातोपानी गाउँपालिका पर्यटन वर्षले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। यो भ्रमण वर्षभित्र गिडिदहमा ९ सय जना आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य छ ।
प्राकृतिक सौन्दर्यतालाई प्रवद्वन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना रहेको तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावल (सीमा) ले बताइन्। उनले भनिन, ‘पर्यटकीय उपजहरूको व्यवसायीकरण गरी यसबाट प्राप्त लाभको समन्यायिक वितरण सुनिश्चित गर्न आवश्यक छ । गिडिदहमा पर्यटक भित्र्याउन यो कार्यक्रम कोशेढुङ्गा साबित हुनेछ।'
प्रकाशित: ४ वैशाख २०८२ ११:५५ बिहीबार





