नमूना पेट्रोल पम्प दर्ताका लागि नियम मिचेर प्रक्रिया अघि बढाएको पाइएको छ। नियमानुसारको एक पम्पबाट अर्को पम्पबीचको दूरी नपुगे पनि पुगेको भनेर सिफारिस गरिएको खुलेको हो।
नेपाल आयल निगम लिमिटेडको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ को नियम १४ को १ (ग) मा एउटा नमूना पेट्रोल पम्पको बिक्री स्थलबाट अर्को नमूना पेट्रोल पम्पको बिक्री स्थलसम्मको दूरी दश किलोमिटर अनिवार्य हुनुपर्ने व्यवस्था छ। तर, सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरमा एक पम्पका लागि दूरी नपुग्दा पनि दूरी पुगेको सिफारिस दिइएको छ।
नेपाल आयल निगमको बिराटनगरस्थित प्रादेशिक कार्यालयदेखि सडक डिभिजन लहान, नापी कार्यालय लहानसमेतले भगवती ट्रेड सेन्टरका लागि दूरी पुगेको सिफारिस गरिदिएको हो। यी कार्यालयहरूले दिएको सिफारिसमा सखुवानन्कारकट्टी गाउँपालिका ३ मा रहेको एसपी आयल स्टोरदेखि नयाँ खोल्न लागिएको पम्पसम्मको दूरी दश किलोमिटर एक सय मिटर रहेको उल्लेख छ।
तर, ओडो मिटर लिएर नाप्दा सञ्चालित पम्प र खोल्न लागिएको पम्पको दूरी ९.६८ किलोमिटर मात्रै पुगेको छ। पम्पका लागि दूरी मापन गर्दा भरपर्दो साधन प्रयोग गर्नुपर्ने कानुनी प्रावधान छ। तर, ती कार्यालयहरूले भने मोटरसाइकल र कार लगेर दूरी नापेका थिए।
सडक डिभिजन लहानका प्रमुख आशुतोष कर्णले पनि कार र मोटरसाइकलले दूरी नापेको स्वीकार गरे। सडक डिभिजन कार्यालयबाट दूरी पुगेको भन्दै फागुन ८ मा दिइएको सिफारिसमा कार्यालयका इन्जिनियर संजीवकुमार दासको हस्ताक्षर छ।
नापी कार्यालय, लहानले पनि मोटरसाइकल लिएर नाप गरेको जनाएको छ। नाप पुगेको सिफारिस दिने कार्यालयका कर्मचारी भन्छन्, ‘हामीसँग नाप्ने अन्य श्रोत साधन छैन, त्यसैले मोटरसाइकलले नै नाप्यौँ, हामीभन्दा पहिल्यै सडकले सिफारिस दिएको थियो, त्यसलाई पनि आधार मानेर सिफारिस दियौँ।’
तर, एक स्थानीय प्रत्यक्षदर्शीका अनुसार ती कार्यालयबाट दूरी नाप जाँचका लागि आएका कर्मचारीहरूले पनि ओडो मिटर लिएर नापेका थिए। तर, दूरी नपुगेपछि मोटरसाइकल र कारले नापेका थिए। मोटरसाइकल र कारले नाप्दा पनि दूरी नपुगेको र तर केही समयपछि दूरी पुगेको भनेर सिफारिस दिइएको सुनेको ती स्थानीय बताउँछन्।
सडक डिभिजन लहान हेर्ने झापाको दमकस्थित संघीय सडक अनुगमन तथा निरीक्षण कार्यालयका प्रमुख विनोद मौवारले दूरी नपुगेको खण्डमा त्यसरी सिफारिस दिन मिल्दै नमिल्ने भन्दै आफूले यस विषयमा थप बुझ्ने प्रतिक्रिया दिए।
यस विषयमा दूरी नपुग्दा पनि पुगेको सिफारिस दिइएको भन्दै एसपी आयल स्टोरको तर्फबाट फुलोदेवी यादवले फागुन १८ मा नेपाल आयल निगमको आपूर्ति तथा वितरण विभाग, टेकुमा उजुरी पनि दिएका छन्।
नेपाल आयल निगमको प्रादेशिक कार्यालय, बिराटनगरका प्रमुख पुष्कर कार्कीले उजुरी आइसकेपछि आफू पनि यस विषयमा थप बुझिरहेको बताए।
नेपाल आयल निगमका केन्द्रीय प्रवक्ता मनोज ठाकुरले अहिलेसम्म दूरी पुगेको भन्ने कुरा नै आएको र नपुगेको खण्डमा पम्पलाई विक्रेता नियुक्त नगरिने बताएका छन्। ‘अहिलेसम्म हामीसँग दूरी पुगेको भन्ने नै छ,’ उनले भने, ‘यदि पुग्दैन भने पम्प हुँदैन।’
नयाँ खोल्न लागिएको नमूना पम्पका सञ्चालक हुन्, नवराजपुर गाउँपालिका १ का धनपति दास। उनी नेपाल आयल निगमकै कर्मचारी रहेका चितरञ्जन दासका बुवा हुन्। चितरञ्जनसहित धनपतिका अन्य तीन छोरा पनि सरकारी जागिरे नै छन्।
उनीहरूले दबाब प्रभाव र आर्थिक चलखेल गरेर पम्प खोलिरहेको स्थानीय सुनाउँछन्। ‘एउटा छोरा आयल निगममै छन्, अन्य तीन पनि जागिरमै छन्, बुवालाई सञ्चालक राखेर जागिरमा कमाएको कालो धन पेट्रोल पम्पमा खन्याएर सेतो बनाउन खोज्दै छन्,’ एक स्थानीय भन्छन्, ‘पम्प खोल्न पनि व्यापक आर्थिक चलखेल भएको छ, कार्यालयपिच्छे नै लाखौं खर्च गरिएको छ।’
प्रकाशित: १५ चैत्र २०८१ ०७:३२ शुक्रबार