१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ४:१७ पूर्वाह्न
अर्थ

उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टर गठन

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले लुम्बिनी प्रदेश च्याप्टर गठन गरेको छ। बुधबार भैरहवामा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रदेश च्याप्टरको शुभारम्भ गरे। 

सो अवसरमा उपप्रधानमन्त्री पौडेलले उत्पादन र उत्पादकत्व बढाउने काममा नेपाल उद्योग परिसंघले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै सरकारले थप भूमिकाको आशा गरेको बताए। उनले गतिशील समय र तीव्र प्रतिस्पर्धाको दुनियाँमा समयको गतिलाई बुझ्न, प्रतिस्पर्धामा आफ्नो स्थान सुरक्षित राख्ने गरी अगाडि बढ्न युवा उद्यमीहरूलाई सुझाव दिए।

अर्थमन्त्री पौडेलले औसत काम गरेर बस्ने सुविधा सरकारलाई नभएको भन्दै सरकारले कानुनमा, नीतिमा सुधार गरेर सुधारको काम गरेको बताए। उनले सरकारले विगतदेखिका निजी क्षेत्रका समस्या समाधान गर्न उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवाहरूलाई उद्यमशील बनाउन नीतिबाटै सहजीकरण, प्रोत्साहन गर्न आवश्यक रहेकोमा जोड दिए। देशमा रोजगारी बढाउन, औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरूलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेको बताउँदै उनले आगामी बजेटले युवा लक्षित कार्यक्रम ल्याउन समेत आग्रह गरे।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले कानुन संशोधन, स्टार्टअप नीति निर्माणमा परिसंघ र युवा उद्यमी मञ्चले महत्त्वपूर्ण योगदान गरेको बताए। उनले सरकारले युवाहरूलाई उच्च प्राथमिकतामा राख्दै सोहीअनुरूप नीति बनाएको र बनाउने क्रममा रहेको बताए। उनले कम्पनी दर्ता घरमै बसेर गर्न सकिने र प्रविधिको प्रयोगलाई बढावा दिइएकाले युवाहरूलाई देशभित्रै काम गर्न वातावरण सरकारले बनाइरहेको बताए। 

नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले युवा पलायन बढिरहेका बेला देशभित्रै केही गर्नुपर्छ भनेर यहाँ उद्यमी बन्ने युवालाई धन्यवाद व्यक्त गरे।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशिष अग्रवालले लुम्बिनी प्रदेशको आर्थिक विकाससँगै देशलाई नै समृद्धि बनाउन सक्ने भन्दै युवालाई प्रोत्साहनको खाँचो रहेको बताए। उनले मञ्चमार्फत नयाँ अवसरहरू खोज्दै, उद्यमशीलतामा नयाँपन ल्याएर र देशको आर्थिक विकासमा योगदान पुर्‍याउने संकल्पका साथ युवाहरू अघि बढ्न चाहेको बताए। युवाहरूलाई नीतिबाट प्रोत्साहन गर्ने हो भने देशभित्र धेरै अवसर रहेकाले युवा देशमै बसेर केही गर्न सक्ने उनको भनाइ थियो।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी च्याप्टरका अध्यक्ष राजन कसजुले स्थानीय मौलिकतामा आधारित रही राष्ट्र निर्माणमा समर्पित भई विश्व दृष्टिकोणका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनी प्रदेश च्याप्टरको बोर्डमा राजन कसजुसँगै विकास पाण्डे, अभिषेक पाठक, अर्जुन पाठक, रोनिश श्रेष्ठ, सुरज उप्रेती, विवेक कसौधन, अभिनव थापा रहेका छन्।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००५ मा गठन भएको नेपाल उद्योग परिसंघको युवा संगठन हो। मञ्चले युवा उद्यमीहरूलाई प्रोत्साहन, प्रवर्द्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै सोहीअनुरूपका गतिविधि समेत गर्दै आएको छ।

प्रकाशित: १४ चैत्र २०८१ ०९:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App