क्षेत्रीय होटल संघ चितवनको अध्यक्षमा पर्यटन व्यावसायी ओमप्रकाश पाण्डे निर्वाचित भएका छन्। संघको १० औं अधिवेशनबाट आगामि दुइवर्षका लागि पाण्डे अध्यक्ष चयन भएका हुन।
अधिवेशनबाट निर्वाचित पाण्डे ल्याण्डमार्क होटलका संचालक पनि हुन। संघको उपाध्यक्षमा गुणराज थपलिया, महासचिवमा महेश खनाल, कोषाध्यक्षमा बबिता चौधरी, सचिवमा संगम घिमिरे, सहकोषाध्यक्षमा रञ्जन भण्डारी निर्वाचित भएका छन्। त्यसैगरि सदस्यहरुमा गोपिचन्द्र सापकोटा, कृष्णप्रसाद दाहाल, दिलीप माली, सुभाषचन्द्र गौतम, गणेशकुमार दाहाल र दीपक अधिकारी चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष पाण्डेले सौराहा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि पहल गर्ने बताए। ‘विभिन्न कारणले आन्तरिक र बाह्य पर्यटक आउजाउमा केही अप्ठेरा छन। त्यसको मार पर्यटन क्षेत्रले भोग्नुपरेको छ,’ पाण्डेले भने, ‘आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गरेर चितवनमा पाहुना भित्र्याउनमा पहल गर्नुपर्ने अवस्था छ।’ नवनिर्वाचित अध्यक्ष पाण्डेले सौराहा, पोखरा, काठमाडौं र लुम्बिनीमा ल्याण्डमार्क होटल संचालन गरेका छन। उनका अनुसार संघमा ८० होटल आवद्ध छन्।
प्रकाशित: १३ चैत्र २०८१ १३:४१ बुधबार