१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

मोरङका उद्योगी भन्छन्- उद्योग क्षेत्र कुलमानकै कार्यकालमा पनि लोडसेडिङमुक्त भएको थिएन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाएको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका बेला मोरङका उद्योगीहरूले भने उद्योग क्षेत्रले कुलमानकै कार्यकालमा पनि लोडसेडिङ मुक्त भएको महसुस गर्न नपाएको बताएका छन्।

उनीहरूले उद्योग क्षेत्रले अहिले पनि सुख्खायाममा दैनिक ६ देखि १२ घण्टासम्म लोडसेडिङ भोग्नु परिरहेको गुनासो गरे।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले कुलमान घिसिङले सस्तो लोकप्रियताका लागि लोडसेडिङ मुक्त पारेको हल्ला चलाएको बताएका छन्। उनले नेपालको उद्योग क्षेत्र कहिल्यै लोडसेडिङ मुक्त नभएको स्पष्ट पारे। 

राठीले केही महिना दैनिक २ घण्टा र केही महिना दैनिक १२ घण्टासम्म उद्योगहरूले लोडसेडिङ बेहोर्नु परिरहेको दाबी गरे। ‘उद्योग क्षेत्रमा सधैं लोडसेडिङ गरिरहने तर लोकप्रियताका लागि लोडसेडिङ मुक्त भयो भन्ने हल्ला चाहिं चलाई रहने प्राधिकरण नेतृत्वको प्रवृत्ति देखिएको थियो,’ उनले भने।

विगतको १८ घण्टासम्मको लोडसेडिङ पछिल्ला वर्षहरूमा घटे पनि उद्योग क्षेत्रले कहिल्यै लोडसेडिङ मुक्त भएको महसुस गर्न नपाएको राठीले बताए। अघोषित लोडसेडिङले उद्योगमा ठूलो क्षति पुर्याएपछि लोडसेडिङको सेड्युल दिन उद्योगीहरूले माग गरेको तर प्राधिकरणले सेड्युल कहिल्यै नदिएको उनको गुनासो छ।  

राठीले प्राधिकरणको नयाँ नेतृत्वले झुटो हल्ला नफिजाइँ उद्योगलाई प्राथमिकतामा राखेर विद्युत् उपलब्ध गराउनु पर्ने बताए। उनले भने, ‘बरू विद्युत् दिन सकिँदैन भने कति समय नसक्ने हो त्यसको सेड्युल दिनुपर्छ। लोडसेडिङ मुक्त भन्ने जतिबेला पनि झ्याप्प झ्याप्प विद्युत् काटिदिने प्रवृत्ति अब दोहोर्याउनु हुँदैन।’

बिनाजानकारी विद्युत् कटौती गर्दा उद्योगहरूका उत्पादन बिग्रने र त्यसले धेरै नोक्सान पुर्याउनेउनले बताए। प्राधिकरणको सेवासमेत गुणस्तर नरहेको उनको भनाइ छ। औद्योगिक क्षेत्रमा अझै पनि ट्रिपिङको समस्या रहेकाले ट्रिपिङको समस्या पनि समाधान गर्न प्राधिकरणलाई आग्रह गरे। विगतमा उद्योगहरूमा इलेक्ट्रोनिक सामानको प्रयोग कम मात्रामा हुने गरेकोमा हाल अधिकांश उपकरणहरू इलेक्ट्रोनिक नै हुने गरेकाले ट्रिपिङ हुँदा इलेक्ट्रोनिक उपकरणमा क्षति पुगेर उत्पादन प्रभावित हुने गरेको उनले स्पष्ट पारे।  

यता, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले कुलमान हटाउने विषय सरकारको भए पनि थप लोडसेडिङ नहोस्, लोडसेडिङ घट्दै जाओस् भन्ने आफूहरूको चाहना रहेको बताए। जोसुकै व्यक्ति नियुक्त भए पनि निरन्तर गुणस्तरीय विद्युत् उपलब्ध गराइयोस् भन्ने आफूहरूको चाहना रहेको अध्यक्ष सुरानाको भनाइ छ। ‘कसलाई नियुक्त गर्ने भन्ने सरकारको विषय हो,’ उनले भने, ‘हामीलाई नियमित र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराइयोस्।’

नयाँ नेतृत्वले विद्युत् वितरणलाई थप व्यवस्थित पार्न आवश्यक रहेको उनको सुझाव छ। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि घिसिङले लोडसेडिङमुक्त अभियान सञ्चालन गरेका थिए। सो अभियानले ग्राहस्थ क्षेत्र लोडसेडिङ मुक्त भएको थियो। औद्योगिक क्षेत्रमा भने अघोषित रूपमा लोडसेडिङ भइरहेको उद्योगीहरूले गुनासो गर्दै आएका थिए।

प्रकाशित: १३ चैत्र २०८१ १०:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App