पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको दुइवर्ष भन्दा बढी समय नाघिसकेको छ। अहिलेसम्म विमानस्थल आन्तरिक उडानमा मात्र सीमित रहेकोमा अब अन्तर्राष्ट्रिय उडानको तयारी भएको हो। हिमालय एयरलाइन्सले पोखरादेखि पहिलो व्यावसायिक उडान गर्न थालेको कम्पनिले बताएको छ।
हिमालयले आगामि चैत १८ गतेदेखि पोखराबाट चीनको ल्हासा उडान गर्ने तयारी गरेको बताएको छ। कम्पनिले सातामा एकपटक उडान गर्नेछ। कम्पनिका अनुसार काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं सेक्टरमा जोड्नेगरि उडान तयारी थालेको विज्ञप्तीमार्फत जनाएको छ। अहिलेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक बाहेक करिब एकदर्जन चार्टर उडान मात्र भएका छन्।
‘हाल सातामा एउटा मात्र उडान गर्दैछौ। मागको आधारमा आगामि दिनमा उडान थप्ने योजना छ,’ हिमालय एयरलाइन्सका उपाध्यक्ष तथा प्रवक्ता विजय श्रेष्ठले भनेका छन, ‘हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान संचालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने हो। हिमालय एयरलाइन्सले सधैं चीनमा नयाँ गन्तव्य खोज्दै आएको छ र नियमित उडान संचालन गर्दै आएको छ।’
पोखरालाई चीनसँग जोड्ने यो उडानले नेपाल र चीनबीचको सम्बन्धलाई अझ बलियो बनाउने, पर्यटन र व्यापारलाई प्रर्वद्धन गर्न प्रोत्साहन गर्ने श्रेष्ठले बताएका छन्। कम्पनिका अनुसार चैत १८ गते बिहान काठमाडौंबाट जहाज चीनको ल्हासाका लागि उड्नेछ। ल्हासास्थित गोंगर विमानस्थलमा अवतरण भएको जहाज त्यही दिन ल्हासाबाट पोखराका लागि उडान भर्नेछ।
पोखरा आएको रात्रीकालिन विसानपछि जहाज भोलिपल्ट पोखराबाट ल्हासा उड्नेछ। त्यहीदिन ल्हासाबाट काठमाडौंका लागि उडान भर्ने हिमालयले बताएको छ। हिमालय एयरलाइन्सले पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वर्ल्ड’ ल्हासाबीचको यो उडान हिमालय एयरलाइन्सका लागि महत्वपूर्ण कोशेढुंगा भएको पनि विज्ञप्तीमा उल्लेख छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हिमालय एयरलाइन्सको पोखराबाट पहिलो व्यावसायिक उडान पक्का भएको बताए।
‘अहिले पनि हिमालयले काठमाडौं–ल्हासा सातामा ५ वटासम्मका उडानका लागि अनुमति पाएको छ। यात्रुको चापको आधारमा कहिलेकाँही उडानसंख्या घट्न सक्छ। तर, अनुमति भने पाँचवटाको छ,’ भूलले भने, ‘अब काठमाडौंबाट ल्हासाका लागि सातामा चारवटा र पोखराबाट एउटा गर्नेगरि स्लट पाएको छ।’
पर्यटकीय सिजन सुरु भएकोले पनि यो उडानले टिकाउनका लागि सहज हुने उनले बताए। मार्च ३० देखि हवाई उडानका लागि समर सिजन सुरु हुने र त्यसको भोलिपल्टै हिमालयले उडान गर्ने उनले बताए।
यसैगरि चीनको सिचुआन एयरलाइन्सले पनि पोखरादेखि चीनको छेन्दुसम्मका लागि व्यवासायिक उडानको योजना बनाएपनि अहिलेसम्म आधिकारिक रुपमा उडान अनुमति लिनका लागि प्राधिकरणमा प्रक्रिया भने सुरु गरेको छैन। भूलका अनुसार सिचुआनले यसअघि पोखराबाट काठमाडौंसम्म डेमो उडान भने गरिसकेको छ। त्यस्तै छेन्दु–पोखरा चार्टर उडान पनि गरेको छ।
‘सिचुवानले पनि चाँसो देखाएको हो। तर, अहिलेसम्म आधिकारिक रुपमा प्रक्रिया भने सुरु गरेको छैन,’ उनले भन, ‘सिचुआनले आन्तरिक तयारी गरेको बुझेका छौ।’ उनका अनुसार सिचुवानले छेन्दु–पोखरा–काठमाडौं–छेन्दु वा छेन्दु–काठमाडौं–पोखरा–छेन्दु रुटमा उडान गर्ने योजना बनाएको छ।
तर, पोखरा पर्यटन परिषद्(पिटिसी)का अध्यक्ष तारानाथ पहारीले चैत ५ गते सिचुआन एयरलाइन्सले पोखरा–छेन्दु उडान गर्नेगरि व्यावसायीले योजना बनाएको बताए । पहारीका अनुसार चैत ५ गते छेन्दुबाट जहाज यात्रु लिएर पोखरा आउनेछ। पोखराबाट फर्किँदा करिब एकसयजना पर्यटन व्यावसायी लिएर जहाज छेन्दु फर्कनेछ। छेन्दु पुगेका व्यावसायीले एकसातासम्म चीनको छेन्दु र चोङक्विङमा बजारीकरण गर्नेछन। एकसातापछि त्यही जहाज पोखरामा रहेका यात्रु लिन पोखरा आउँदा व्यावसायी पनि आउनेछन।
‘चिनियाँ पर्यटक एकसाता पोखरा बस्छन । हामी पनि एकसाता चीन घुम्छौ । दोश्रो पटक सिचुआनले अप्रिल १ मा पनि उडान गर्नेछ,’ उनले भने। उनका अनुसार छेन्दु–पोखराका लागि सिचुआनले तीनमहिने उडान अभियान चलाएको छ। ‘हुन त चार्टर उडान हो। तर, यसबाट पोखराले पर्यटन क्षेत्रका लागि पर्याप्त लाभ लिने योजना बनाएको छ,’ अध्यक्ष पहारीले भने।
पर्यटन बोर्डका अनुसार यो फेब्र्रुअरीमा नेपालमा ८ हजार २ सय ८३ जना मात्र चिनियाँ पाहुना भित्रिएका छन्। सन् २०२३ मा करिब ६१ हजार चिनियाँ नेपाल भित्रिएका थिए। नेपालमा सन् २०२४ मा १ लाख १ हजार ८ सय ७९ जना चिनियाँ पाहुना भित्रिएका थिए।
प्रकाशित: २० फाल्गुन २०८१ १७:४३ मंगलबार