भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आगामी बजेटमा आवश्यकता र औचित्यपूर्ण आयोजनाहरूलाई प्राथमिकता दिने बताएका छन्।
अन्तरदेशीय पहुँच स्थापित गर्ने, बढी जनसंख्यालाई लाभ हुने, गाउँ र शहर जोड्ने तथा उत्पादन र बजारलाई जोड्ने योजना तथा आयोजनहरू प्राथमिकतामा रहने उनको भनाइ छ।
शुक्रबार नुवाकोटमा एकै दिन दुई ओटा मोटरेबल पुलको उद्घाटनपछि विदुर नगरपालिकाको त्रिशूली बजारमा आयोजित कार्यक्रममा उनले योजना माग गर्ने चरणमा पनि प्राथमिकताका आधारमा माग गर्न उनले आग्रह गरे।
निर्माण कार्यमा हुने ढिलासुस्ती र गुणस्तरहिनता मान्य नहुने उल्लेख गर्दै मन्त्री दाहालले तीनै तहका सरकार र नागरिकको सहकार्यले नै समृद्धिको यात्रा अघि बढाउन सकिने बताए।
गल्छी-मैलूङ-श्याफ्रूवेशी सडक, पासाङ्गल्यामू राजमार्ग, मध्य पहाडी राजमार्ग जस्ता दीर्घकालीन महत्वका योजना सरकारको उच्च प्राथमिकतामा रहेको जानउँदै उनले अहिले देशभरि नै तीव्र गतिमा निर्माण कार्य भइरहेको बताए।
अहिलेको सरकार काम गर्न र समृद्धिको यात्रा अघि बढाउन गठन भएको जानाउँदै उनले अहिलेको सरकारलाई काम नगर्न छुट नभएको समेत भनाइ राखे। विकासलाई समृद्धिसँग जोडेर लेजान जरुरी रहेको बताएका दाहालले विकासको प्रभाव नागरिकको जीवनमा देखिनुपर्नेमा जोड दिए।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, पुल महाशाखा प्रमुख ललीजन खनाल लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नुवाकोटका नेताहरूले जिल्लमा अधुरा रहेका योजनाहरुलाई गति दिन माग गरेका थिए।
मन्त्रालय मार्फत सिमचौर तथा त्रिशूली बजारस्थित त्रिशूली नदीमा निर्माण गरिएको पलको मन्त्री दाहालले उद्घाटन गरेका थिए। निर्धारित समयअघि नै काम पूरा गरेको जानउँदै निर्माण कम्पनीलाई सम्मान पनि गरिएको थियो।
प्रकाशित: १६ फाल्गुन २०८१ १५:३३ शुक्रबार





