कोशी प्रदेशका किसानहरूले कृषि ऐन जारी गर्न माग गरेका छन् । मंगलबार विराटनगरमा आयोजित राष्ट्रिय कृषक समूह महासंघ नेपाल प्रथम कोशी प्रदेश परिषद् भेलामा सहभागि किसानहरूले यस्तो माग गरेका हुन् ।
भेलामा झापा बाह्रदशी ५ का किसान प्रेम पौडेलले किसानलाई राज्यले सहयोग नगरेको गुनासो गरे । उनले किसानका समस्यालाई वेवास्था गरेकै कारण स्थानिय तहदेखि संघ सरकारलेसमेत कृषि ऐन निर्माण नगरेको गुनासो गरे । उनले भने ‘सरकार किसानका समस्या समाधान गर्न तत्परै देखिंदैन । किसानका समस्या समाधान गर्न सरकार तत्पर नभएकै कारण तीनै तहका सरकारले कृषि ऐन निर्माण गरेका छैनन् ।’
कृषि स्थानिय तहको एकल अधिकार क्षेत्र भित्र पर्ने भए पनि स्थानिय तहहरूले ७ वर्ष वितिसके पनि अझै कृषि सम्बन्धी कानुन निर्माण नगरेको उनले बताए । यति मात्रै हैन विभिन्न प्राकृतिक प्रकोपका कारण बालिनाली नष्ट हुने गरेको र प्रदेश तथा संघ सरकारले क्षतिपूर्ति दिने घोषणा गरे पनि त्यस्तो क्षतिपूर्ति किसानले नपाउने गरेको पौडेलको गुनासो छ । उनले तीन वर्ष पहिले कार्तिक महिनामा आएको बाढीले धानबालीमा ठूलो क्षति पुर्याए पनि सरकारले घोषणा गरेको क्षतिपूर्ति अझैसम्म किसानले पाउन नसकेको बताए ।
पाँचथर फिदिमकी किसान दिलकुमारी घिमिरे(ओझा)ले किसान एकातिर सरकार अर्कोतिर लागेका कारण किसानका समस्या समाधान हुन नसकेको बताइन् । उनले कृषि ऐन निर्माण गरी किसानलाई दिने सुविधा,सौलियत र अनुदानको कानुनी रुपमै व्यवस्था गर्न माग गरिन् । उनले किसानलाई कार्ड देखि पेन्सन सम्मको व्यवस्था गरी कृषि क्षेत्रमा युवा पुस्तालाई पनि आकर्षित गर्नुपर्ने धारणा राखिन् ।
इलाम चुलाचुलीका किसान गंगा चापागाईले कृषिलाई व्यवसायीकरण नगरेसम्म र अर्नौपचारिक क्षेत्रका रुपमा रहे सम्म किसानका समस्या समाधान नहुने बताए । उनले इलामको चुलाचुली क्षेत्रमा सिमलतरुलको खेति प्रयाप्त हुने गरेको बताए । किसानले सिमलतरुल प्रयाप्त उत्पादन गरे पनि सिमलतरुलले बजार नपाउँदा किसानले प्रतिकिलो २० रुपैयाँमै बेच्नु परिरहेको गुनासो उनको छ ।
ताप्लेजुङका किसान भीमबहादुर गुरुङले अलैंची विकास वोर्ड गठन गर्न माग गरे । उनले ताप्लेजुङलगायत कोशी प्रदेशका पहाडी जिल्लाहरूमा धेरै अलैंची उत्पादन हुने भए पनि नेपालमै अलैची प्रशोधन नहुने हुँदा भारतले आफ्नो लोगो राखेर अन्तराष्ट्रिय बजारमा बिक्रि गरिरहेको उनको गुनासो छ । उनले अलैंची नेपालमै प्रशोधन र नेपालकै लागो राखेर अन्तराष्ट्रिय बजारमा पु¥याउने व्यवस्था गर्न सरकारसँग माग गरे ।
इलामका किसान राम मगरले किसानका माग सम्बोधन गर्न केन्द्रीय मन्त्रीलाई समेत २७ बुंदे ज्ञापनपत्र बुझाएको बताए । उनले उत्पादन बढाउने, बजारीकरण र व्यवसायीकरण गर्न आबश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरे । कोशी प्रदेश परिषद्को भेलाले किसानहरूका माग र समाधानका विषयलाई समेटेर विराटनगर घोषणापत्रसमेत जारी गरेको प्रदेश अध्यक्ष कुसुम दाहालले बताइन् ।
प्रकाशित: १३ फाल्गुन २०८१ १८:५६ मंगलबार





