एउटा धार्मिक कार्यक्रममा कति भक्तजन जालान् ? हजार, १० हजार, लाख वा एक करोड । भारतको एक धार्मिक स्थलमा भने विश्वलाई नै चकित पार्ने गरी तिर्थालु पुगेका छन् । भारत उत्तरप्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाले विश्वमै नयाँ इतिहास रचेको दाबी गरिएको छ। महाकुम्भमा स्नान गर्न करिब ५० करोड धार्मिक पर्यटक पुगेको प्रदेश सरकारलाई उद्धृत गर्दै टाइम्स अफ इन्डिया दैनिकले जनाएको छ।
हिन्दूहरूमा पवित्र मानिने गंगा, यमुना र पौराणिक सरस्वती नदीहरूको संगम–त्रिवेणी संगमको किनारमा महाकुम्भ मेला जारी छ। यो महाकुम्भ मेलालाई मानव इतिहासको सबैभन्दा ठूलो धार्मिक, सांस्कृतिक वा सामाजिक कार्यक्रमका रूपमा लिइएको छ। जनवरी १३ मा सुरु भएको यो मेला फेब्रुअरी २६ सम्म सञ्चालन हुन्छ।
जनवरी २९ मा भागदौड हुँदा ३० जनाको मृत्यु भएको थियो। भागदौडमा मृत्यु भए पनि तीर्थालु आउने क्रम जारी छ। भारतको उत्तर प्रदेश सरकारले ४५ दिनमा भक्तजनहरूको संख्या ४५ करोड पुग्ने अपेक्षा गरेको गरेको भए पनि महाकुम्भ समाप्त हुन १० बाँकी रहँदा अनुमान गरे भन्दा करिब पाँच करोड बढी तिर्थालु महाकुम्भमा पुगेका छन्। पछिल्लो समय डिजिटल मिडिया र सामाजिक सञ्जालबाट व्यापक प्रचार भएपछि पनि महाकुम्भमा मानव सागर ओइरिएको हो।
प्रयागराजमा विश्वभरबाट धार्मिक पर्यटक आएको महाकुम्भ मेलाका सूचना अधिकारी गगन यादवले बताए। उनका अनुसार दैनिक एक करोड बढी तीर्थालु आएका छन्। विशेष दिनमा यो संख्या बढी छ। चोकचोकमा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित क्यामेराबाट महाकुम्भमा आउनेहरूको गणना गरिएको यादवले बताए।
महाकुम्भमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह लगायत धेरै केन्द्रीय मन्त्री, मुख्यमन्त्री र राज्यपालहरू त्यहाँ पुगेर स्नान गरेका छन्। त्यसैगरी, अर्बपतिहरू, बलिउड र भारतीय खेलकुद जगतका सेलिब्रेटीहरू पनि स्नान गर्न पुगे। भारतका खर्बपति ब्यापारी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले पनि परिवारसहित प्रयागराजको संगममा स्नान गरेका थिए।
महाकुम्भ मेला हिन्दू धर्मावलम्बीहरूका लागि सबैभन्दा ठूलो धार्मिक पर्व हो। प्रत्येक १२ वर्षमा एकपटक प्रयागराज, हरिद्वार, उज्जैन र नासिकमा आयोजित हुने यो पर्वमा करोडौं श्रद्धालुहरू त्रिवेणी संगम, गंगा, गोदावरी स्नान गर्छन्। यहाँ स्नान गरेपछि पापमोचन तथा मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ।
महाकुम्भ २०२५ अन्तर्गत विशेष तिथिहरूमा स्नानको अझै महŒव रहेको छ। मकर संक्रान्ति (जनवरी १४) को पहिलो अमृत स्नानका अवसरमा भक्तजनले त्रिवेणी सङ्गममा पवित्र स्नान गर्छन्। स्नान तिथिहरूमा मौनी अमावस्या (फेब्रुअरी ९) र वसन्त पञ्चमी (फेब्रुअरी १४) प्रमुख मानिन्छन्। शैव, वैष्णव र उदासीन परम्पराका अखाडाहरूले आ–आफ्ना अनुयायीहरूसँग मेलामा भाग लिएका छन्। मेलामा नागा साधुहरूको पनि भिड लागेको छ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भाजपाले महाकुम्भ मेलामा राजनीति पनि गरेको देखिन्छ। महाकुम्भ मेलामा जताततै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र आदित्यनाथका तस्बिर राखेका होडिङ बोर्डहरू राखिएका छन्।
भाजपा सरकारले २०२५ को महाकुम्भ मेलालाई एक सय ४४ वर्षको अन्तरालपछि भएको महाकुम्भ मेला भनेर प्रचार गरेको छ। कुम्भ मेलाको महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनमा महाकुम्भ मेला प्रत्येक एक सय ४४ वर्षमा, पूर्ण कुम्भ मेला (केएम) प्रत्येक १२ वर्षमा, अर्ध कुम्भ मेला (एकेएम) प्रत्येक ६ वर्षमा र गंगा नदी र यसको सहायक नदी यमुनाको किनारमा प्रत्येक वर्ष माघ मेला आयोजना गरिँदै आएको उल्लेख छ। विश्वभरका भक्तजनहरू पुगिरहेका छन्। भारत, नेपाल, ग्रीस, बेल्जियम, अमेरिका, जापान, थाइल्यान्डलगायत विभिन्न देशका पर्यटक त्यहाँ पुगेका छन् ।
महाकुम्भकमा आगन्तुकहरूको ओइरो लागेपछि भीड व्यवस्थापन चुनौती बनेको छ। मेला क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाइएको छ। मेला क्षेत्रमा भिआइपी, अति आवश्यक र आपतकालीन सेवाहरू मात्र अनुमति दिएको छ। मेलामा भक्तालु पु¥याउन भारतीय रेलवे सेवालाई पूर्ण क्षमतामा सञ्चालन ल्याइएको छ। प्रयागराज जक्सनसहित सबै आठ स्टेसनहरू पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ।
सरकारले सुरक्षा व्यवस्था मजबुत बनाउन सुरक्षाकर्मीको व्यापक परिचालन, एआई–सञ्चालित सिसिटिभी क्यामेरा, ड्रोन निगरानी गरिएको छ। करोडौं तिर्थालु पुगेर स्नान गर्ने भएकाले कुम्भ आसपासमा सरसफाइ व्यवस्थित बनाइएको छ। फोहोर हुन नदिन करिब २२ हजार सरसफाइ कर्मचारी खटाइएको छ। कुम्भ मैदानमा हजारौं जैविक शौचालय र स्वचालित फोहोर व्यवस्थापन एकाइहरू रहेका छन्।
तीर्थयात्रीहरूलाई स्वास्थ्य सेवा पनि प्रदान गरिएको छ। तीर्थयात्रीहरूलाई आयुर्वेद, होमियोप्याथी र प्राकृतिक चिकित्सा उपचार प्रदान गर्ने व्यवस्था मिलाइएको छ। एम्स दिल्ली, आइएमएस बिएचयुका विशेषज्ञहरूसहित क्यानडा, जर्मनी र रूसका अन्तर्राष्ट्रिय विशेषज्ञहरूसमेतले स्वास्थ्य सेवा दिइएको भारत सरकारले जनाएको छ।
अर्थतन्त्र चलायमान
मेलाले भारतीय अर्थतन्त्र चलायमान बनाएको छ। आधा अर्ब मानिसको आवतजावत हुँदा आर्थिक गतिविधि बढेको छ। होटल, रेस्टुरेन्ट, पसल, बस, जिप, कार, रेल, हवाई यातायातको क्षेत्रले राम्रो आम्दानी गरेका छन्। महाकुम्भमा जाँदा मानिसहरूले हजारौं खर्च गरेका छन्।
मेलाबाट विश्वभरबाट धार्मिक पर्यटक आएका छन्। भारतका सबै प्रदेशबाट प्रयागराज पुगेका छन्। यसले उत्तर प्रदेशको मात्र नभएर भारतकै अर्थतन्त्र थप चलायमान बनाउन सहयोग पुगेको छ। चटपट बेच्नेदेखि, छाप्राका ससाना पसलदेखि, होटल, रेस्टुरेन्ट, तारे होटलसम्मको व्यापार बढेको छ। रिक्सा, कार, जिप, बस, रेलदेखि हवाई यातायातमा पनि चाप बढेको छ।
अन्तर्राष्ट्रिय धार्मिक पर्यटकहरू आउँदा विदेशी मुद्रा आर्जन भएको छ। लाखौंले रोजगारी रोजगारी पाएका छन्। महाकुम्भ मेलाको व्यवस्थापन मात्र नभए त्यहाँ पुग्ने सडक निर्माण लगायतमा सरकारले ठूलो धनरासी खर्च गरेको थियो। महाकुम्भ पुगेका ५० करोड तीर्थालुले औषत न्यूनत ५ हजार भारु खर्च गर्दा पनि करिब २५ खर्ब भारुको कारोबार हुन्छ। क्षमता अनुसार न्यूनतमदेखि हजारौं रूपैयाँ खर्च गर्छन्।
यसरी हेर्दा खर्बौंको कारोबार भएको छ। भारत सरकारले पनि मेला व्यवस्थापनदेखि पूर्वाधार निर्माणमा अर्बौं रूपैयाँ खर्च गरेको छ। हिन्दुस्तान टाइम्स दैनिकका अनुसार उत्तर प्रदेश सरकारले धार्मिक कार्यक्रमहरूमा लगभग ७५ सय करोड भारु खर्च हुने अनुमान छ। मेलामा हस्तकला, हस्तकला उत्पादनहरू र धार्मिक कलाकृतिहरू प्रदर्शन गर्ने स्टलहरू पनि रहेका छन्।
नेपालीको पनि आकर्षण
महाकुम्भ मेलामा नेपाली तिर्थालुको पनि आकर्षण देखिएको छ। हिन्दुहरूको आस्थाको धरोहर भएकाले प्रयागराजमा स्नान गर्न ठूलो संख्यामा गएका छन्।
बाँकेका रविन्द्र थापाले आफ्ना ७४ वर्षका बाबुलाई लिएर प्रयागराज पुगे। बाबु र छोरासहित महाकुम्भ स्थान गर्न आएको बताए। ‘धेरै वर्षपछि पवित्र महाकुम्भ मेला लागेको छ,’ थापाले भने, ‘विरलै यस्तो अवसर पाइने भएकाले वृद्ध बुवालाई लिएर आएको हुँ।’
नेपालबाट सर्वसाधारण, उद्योगी, व्यापारी, नेता, खेलाडी पनि महाकुम्भमा हजारौं पुगेका छन्। महाकुम्भमा स्नान गर्नकै लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आइतबार भारत प्रस्थान गरेका छन्। धार्मिक यात्राका लागि आफू उत्तरप्रदेश जान लागेको थापाले बताए। क्रिकेटका राष्ट्रिय खेलाडी सोमपाल कामी र करण केसी पनि महाकुम्भ पुगी स्नान गरेर फर्किएका छन्।
नेपालका विभिन्न ठाउमा हवाई माध्यम तथा सडक मार्गबाट दिनहुँ जसो धार्मिक पर्यटक प्रयागराज गइरहेका छन्। नेपालगन्जको रूपैडिया, भैरहवा, जनकपुर, विराटनगर लगायतका नाकाबाट गएका छन्। धर्मप्रति अधिकांश वृद्ध, वृद्धाको रुचि भए पनि सामाजिक सञ्जालमा महाकुम्भको प्रचार भए पनि युवाहरूमा पनि आकर्षण देखिएको छ। सुर्खेतका युवा प्रमोद क्षेत्री दम्पत्ति पनि महाकुम्भमा भेटिए। ‘सबै आएर महाकुम्भमा डुबुल्की मारेको तस्बिर र भिडियो देख्दा जाउँजाउँ लागेर आएका हौं,’ थापाले भने।
प्रकाशित: ५ फाल्गुन २०८१ ०८:३९ सोमबार


-600x400.jpg)


