१० चैत्र २०८१ आइतबार
image/svg+xml
अर्थ

बाढीले भत्काएको झण्डै तीन वर्षपछि शिवाई पुलको ठेक्का रद्द

शिवाईस्थित त्रियुगा नदीमा भत्केर अलपत्र परेको पुल । तस्विरः महेश्वर चामलिङ राई/नागरिक

बाढीले भत्काएको झण्डै तीन वर्षसम्म मर्मतसंभार नभएपछि उदयपुरको शिवाईस्थित त्रियुगा नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको ठेक्का तोडिएको छ । चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर शिवाईस्थित त्रियुगामा निर्माण सम्पन्न हुनै लाग्दा ०७८ असार २० गते रातिको बाढीले भत्काएको थियो । पुल भत्किएको २ वर्ष ८ महिनापछि ठेक्का सम्झौता रद्द गरिएको हो ।

गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुर १५ वर्षअघि निर्माण थाले पनि सम्पन्न नभएको भन्दै ठेक्का सम्झौता रद्द गर्नुपरेको हो । सडक कार्यालय प्रमुख (डिई) पशुपति ज्ञवालीका अनुसार पुल छिटो निर्माण सम्पन्न गर्न पटकपटक ताकेता गर्दा पनि काम पुरा नगरेकाले ठेक्का तोड्नु परेको हो । एकातिर काम ढिलो भएको अर्कातिर प्राकृतिक प्रकोपको सिकार पनि भएको शिवाई पुल ठेकेदारकै लापरबाहीका कारण यस्तो अवस्था भएको हुनाले ठेक्का रद्द गर्नुपरेको उनले बताए ।

पुल बनाउने जिम्मा काठमाडौंको बालाजुमा रहेको महालक्ष्मी÷लोकप्रिय जेवीले लिएको छ । कार्यालयले सार्वजनिक खरिद ऐन् ०६३ को दफा ५९(७) र नियमावलीको नियम १२१ (ख) बमोजिम सम्झौता रद्द गरेको डिई ज्ञवालीले बताएका छन् । ९ करोड ७६ लाख लागतमा ३ वर्षभित्र बनाईसक्ने सम्झौता थियो । २ सय ८० मिटर लामो र साढे ५ मिटर चौडाईको उक्त पुल निर्माणको ठेक्का ०६७ सालमा लगाइएको हो ।

१३ स्पानको पुल १२ वर्षमा बल्ल बनिसक्न लाग्दा बाढीले भत्काएर अलपत्र पारेको हो । ठेकेदार कम्पनीले समयमा काम नगरिदिँदा पुनर्मूल्यांकन (भिओ) गर्दै जाँदा १२ वर्षमा पुलको बजेट आकार बढेर पौने १० करोडबाट ११ करोड २७ लाख पुगेको थियो ।

पुल निर्माणको अन्तिम चरणमा पुगेकै बेला ०७८ असार २० गते रातिको बाढीले २ वटा पिल्लर भत्काए स्ल्याब ढलान भत्काएको थियो । निर्माण सकेर उद्घाटन गर्ने सुरसार हँुदै गर्दा भत्केको पुलको हालसम्म मर्मत कि पुनः निर्माण गर्ने भन्ने केही टुङ्गो नलागेकै बेला ठेक्का सम्झौता तोडिएको हो । पुल भत्केको केहीदिनपछि नै डिभिजन सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमक, पुल महाशाखा र पुल सेक्टर १ धरानबाट आएको संयुक्त प्राविधिक टोली आएर स्थलगत अनुगमन गरी फर्केको थियो ।

तर, अध्ययन टोली फर्केर प्रतिवेदन बुझाउन नपाउँदै १५ दिनपछि साउन २ गतेको अविरल वर्षपछिको बाढीले थप २ पिल्लर भाँचेपछि पुलको तेस्रो स्पान पनि भत्केको थियो । अर्को प्राविधिक टोलीले पुलको अवस्था अध्ययन गरी बुझाइएको प्राविधिक प्रतिवेदनमा मर्मत गर्नुभन्दा नयाँ बनाउनु उत्तम हुने राय दिइएको छ । ५ पिल्लर र ३ स्पान बाढीले भत्काउँदा ४ वटा स्ल्याब भाँचिएर पुल कामै नलाग्ने अवस्थामा पुगेको छ । तर, यत्तिका समयसम्म पुल मर्मत गर्ने वा नयाँ बनाउने भन्नेबारे सरकार अन्यौल्मा रहेको छ ।

पुल बाढीले भत्काउनुको कारण निर्माण सामग्री कम गुणस्तरीय भएको स्थानीयको आरोप छ । सो पुलको सर्भेदेखि डिजाईन र माटो परीक्षणसममको काम ‘बालाजु स्वाइल कन्सल्टेन्सी’ काठमाडौले गरेको योजना कार्यालयले जनाएको छ ।

पुल बनाउने निर्माण सामग्री गुणस्तरहीन भएकैले बाढीले भत्काएको हुनसक्ने पूर्व वडाध्यक्ष आनन्द चौधरीले बताए । चौधरीका अनुसार चौदण्डीगढी नगरपालिका केन्द्र बेलटार बजार आउजाउ गर्न ५ नं. को सुन्दरपुर, ९ र १० हडिया र ज्यामिरेबासीका लागि अत्यावश्यक सो पुल बेलैमा सक्न आवश्यक भएकोमा डेढदशकसम्म नबन्नु विडम्बना छ ।

प्रकाशित: २ फाल्गुन २०८१ १९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App