पोखराको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक विश्व शान्ति स्तुपा क्षेत्रका होटल तथा रेष्टुरेन्ट राति ९ बजेसम्म खुल्न थालेका छन्।
पोखरा–२२ पुम्दीभुम्दीस्थित शान्ति स्तुपा क्षेत्रमा यसअघि होटल तथा रेष्टुरेन्ट साँझ नपर्दै बन्द हुने गरे पनि हाल सुरक्षा व्यवस्थाका उपाय अपनाइएपछि व्यवसाय खुला समय बढाइएको हो।
स्थानिय व्यवसायी र एलिट क्याफेका सञ्चालक राजु क्षेत्रीका अनुसार, यसअघि सुरक्षा व्यवस्था कमजोर हुँदा व्यवसाय साँझ ६ बज्न नपाउँदै बन्द गर्नुपर्ने बाध्यता थियो।
उनका अनुसार, गुम्बा क्षेत्रमा सुरक्षा नहुँदा व्यवसायीले जोखिम मोलेर राति व्यवसाय सञ्चालन गर्न सकिरहेका थिएनन्। यसले गर्दा पर्यटकले रातिसम्म रमाइलो गर्न नपाउने र साँझ परेसँगै फर्किनुपर्ने बाध्यता थियो।
हाल क्षेत्रको सुरक्षा व्यवस्थामा सुधार गर्दै टोल विकास संस्थामार्फत सिसी क्यामरा जडान र बिजुली बत्तीको व्यवस्था गरिएको छ। प्रहरीबाट पनि सुरक्षा प्रत्याभूति दिइएको छ।
व्यवसायी क्षेत्रीका अनुसार, सुरक्षा उपायका कारण अहिले राति ९ बजेसम्म व्यवसाय सञ्चालन गर्न सहज भएको छ। प्रहरी विट राख्न माग गरे पनि तत्काल सम्भव नभएपछि अन्य विकल्पमार्फत सुरक्षा सुनिश्चित गरिएको क्षेत्रीले बताए।
होटल तथा रेष्टुरेन्ट रातिसम्म खुल्न थालेपछि पर्यटकले राहत महसुस गरेका छन्। अब पर्यटकले साँझमात्र होइन, राति अबेरसम्मै बसेर सेवाको उपयोग गर्न पाउने भएका छन्। क्षेत्रीका अनुसार, यसले पर्यटकलाई मात्र होइन, व्यवसायलाई पनि टेवा पुगेको छ।
विश्व शान्ति स्तुपा क्षेत्रबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमश्रृंखला, फेवाताल र पोखरा बजारको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। रानीवन क्षेत्रमा अवस्थित यो गुम्बा बौद्धमार्गीका लागि पवित्र स्थल हो। चीनको सहयोगमा बनेको चिनियाँ शैलीको यो स्तुपा चिनियाँ पर्यटकका लागि विशेष आकर्षण बनेको छ।
पोखरा घुम्न आउने पर्यटकका लागि यो गन्तव्य छुटाउन नहुने स्थानका रूपमा परिचित छ। व्यवसाय सञ्चालन समय लम्बिँदा यो क्षेत्र थप जीवन्त बनेको व्यवसायीहरूले बताएका छन्।
प्रकाशित: ६ माघ २०८१ १९:०६ आइतबार