६ माघ २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरामा पर्यटक आगमन: डेढ दशकमा ५ प्रतिशत वृद्धि

२००९ मा ४० प्रतिशतको आगमन अहिले बढीमा ४५ पुगेको छः व्यावसायी

सरकारी तथ्यांक अनुसार सन् २००५ मा नेपालमा हवाई माध्यमबाट मात्र ३ लाख ७५ हजार ३ सय ९८ जना विदेशी पर्यटक भित्रिएका थिए। तीमध्ये करिब २० प्रतिशत (७५ हजार) पर्यटक पोखरा भित्रिएको सरकारी तथ्यांक  ।

नेपालमा विदेशी पर्यटक आगमन बढ्दै जाँदा सन् २००९ मा ५ लाख ९ हजार ९ सय ५६ जना पर्यटक भित्रिएका थिए। तीमध्ये करिब ४० प्रतिशत (२ लाख ३ हजार) पर्यटक पोखरा भित्रिएको सरकारी तथ्यांक छ। चारवर्षको अन्तर (२००५–२००९) मा पोखरामा विदेशी पर्यटकको आगमन २० प्रतिशतबाट बढेर ४० प्रतिशत पुगेको थियो।  

तर, पर्यटन व्यावसायीले अहिले हवाई माध्यमबाट नेपाल भित्रिएका विदेशी पाहुनामध्ये बढीमा ४५ प्रतिशत मात्र पोखरामा आउने गरेको बताउँदै आएका छन्। सरकारी निकायले २०१० पछाडि पोखरामा विदेशी पर्यटकको आगमनको तथ्यांक राख्न छाडेको छ। हवाई माध्यबाट भित्रिएका पर्यटकको आगमनको तथ्यांक भने विमानस्थलले राख्ने गरेको छ। तर, व्यावसायीले नेपाल भित्रिएकामध्ये ४५ प्रतिशत पर्यटक मात्र पोखरा आउने गरेको बताउँछन्।  

सन् २००९ मै नेपाल भित्रिएका मध्ये ४० प्रतिशत पर्यटक पोखरा भित्रिएको तथ्यांक रहेकोमा सन् २०२५ लागिसक्दा त्यो वृद्धि बढीमा ४५ प्रतिशत मात्र पुगेको व्यावसायीको भनाई छ। त्यसको अर्थ डेढदशक अवधिमा पोखरामा विदेशी पाहुनाको आगमनमा ५ प्रतिशत मात्र सुधार भएको उनीहरुको भनाई छ।

पोखराको पर्यटनबारे अध्ययन गर्दै आएका पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा भन्छन, ‘पोखराले डेढदशक अवधिमा विदेशी पर्यटकको आगमनमा बढीमा ५ प्रतिशत मात्र वृद्धि गरेको छ । यो वृद्धिदर निकै नै कम हो। यो अवधिमा लगानी थपियो, तर, पाहुनाा थपिएनन। अहिलेसम्म वृद्धि ६० प्रतिशतको हाराहारीमा पुगिसक्नुपर्ने हो। तर, सुधार भएको छैन।’  

सन् २००९ मै ४० प्रतिशतको आगमन २०२५ पुग्दा ४५ प्रतिशतमा उक्लिनुलाई उत्कृष्ट सुधार भन्न नसकिने उनले बताए। ‘पोखराले पछिल्लो समय विदेशी पर्यटक झनै बढी गुमाईरहेको छ। त्यसले गर्दा आगमनमा सुधार हुन नसकेको हो,’ उनले भने, ‘पोखरामा आकर्षण बढाउने गतिविधि नै हुन सकेनन्। त्यसबाहेक पहुँचमा पनि समस्या भएकोले पाहुना आएनन्।’ उनका अनुसार पछिल्लो केहीवर्षदेखि पोखरासँगको पहुँचमा झन्झट भएकोले पर्यटक आगमनमा सुधार हुन सकेको छैन। नेपालमा ६० प्रतिशत भन्दा बढी पर्यटक साहसिक गतिविधिमा रमाउनका लागि भित्रिने गरेको पनि अनुमानित तथ्यांक छ।

त्यसबाहेक पदयात्राका लागि आउने पर्यटकको संख्या पनि घटिरहेको उनले बताए। पदमार्गमा मोटरबाटो बिस्तार भएसँगै पदयात्री पर्यटक अन्नर्पूण क्षेत्रलाइ छाडेर अन्यत्र गएको सापकोटाको भनाई छ। ‘डेढदशक अघिसम्म पोखरासँग निकै नै बढी आकर्षण थियो। पदमार्गमा पनि सबैतिर मोटर पुगिसकेको थिएन। अन्नपूर्ण क्षेत्रको पदयात्राकै कारणले पर्यटक पोखरा क्षेत्रमा आकर्षिक भएकोमा अहिले ती पर्यटक पदमार्गमा मोटर पुगेसँगै एभरेष्ट क्षेत्रमा डाईभर्ट भएको पनि उनले बताए।  

‘पदमार्ग छोटिनु सबैभन्दा बढी घातक भयो। पदयात्राका लागि अन्नपूर्ण क्षेत्रमा आउने पर्यटक अन्यत्र गए। पछिल्लो समय पोखरा बाहेक अन्यत्र पनि पर्यटकीय गतिविधि बढेकोले पर्यकटलाई पोखरा आउन बाध्यता भएन,’ सापकोटा भन्छन।  

सापकोटाका अनुसार पछिल्लो समय त पर्यटकले पोखरालाई अझ बढी ‘बाईपास’ गरेका छन्। किनभने अहिले बाटोघाटोका कारण पोखरामा नबसी पर्यटक सिधै फरक गन्तव्यसम्म जान सक्ने भएका छन्। त्यसले गर्दा पनि पोखराले विदेशी पाहुना गुमाईरहेको उनले बताए। ‘बेलैमा सोचबिचार नगर्ने हो भने पोखराको पर्यटन क्षेत्र आगामि दिनमा झनै बढी मारमा पर्नेछ। पहुँच बिस्तारमा ध्यान दिने र नयाँनयाँ गतिविधि गर्ने हो भने पर्यटक आउनेछन,’ उनले भने।  

पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२४ मा नेपालमा सबैगरि ११ लाख ४७ हजार भन्दा बढी विदेशी पाहुना हवाई माध्यमाबाट भित्रिएका छन्। तर, २०२४ मै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने विदेशी पाहुनाको संख्या १ लाख ७६ हजार थियो। ‘हवाई माध्यमबाट पोखरा भित्रिने पर्यटकको संख्या १५ प्रतिशत हाराहारीमा हो। सन् २०२४ मा पनि त्यही आकारमा हवाई माध्यमबाट पोखरामा विदेशी ओर्लिएका थिए। काठमाडौं ओर्लेका पर्यटकमध्ये १५ प्रतिशत मात्र पर्यटक हवाई माध्यम मार्फत पोखरा आएको यसले पुष्टि गर्छ,’ सापकोटाले भने, ‘पोखरा भित्रिएका ४५ प्रतिशतमध्ये बाँकी ३० प्रतिशत पर्यटक स्थलमार्गबाटै भित्रिएको हाम्रो अनुमान हो। किनकी पोखरा हवाइ माध्यम भन्दा स्थगमार्गबाट बढी पर्यटक आउँछन्।’

अर्का पर्यटन व्यावसायी नरेश भट्टराई विदेशी पर्यटकको आगमनमा पोखराले खासै प्रगति गर्न नसकेको बताउँछन्। सन् २००९ मै नेपाल भित्रिएका विदेशी पर्यटकमध्ये ४० प्रतिशत पोखरा आउने गरेकोमा अहिले पनि त्यो आगमन त्यहि आकारमै रहेको उनी बताउँछन्।

‘नेपाल भित्रिएकामध्ये अहिले पनि ४० प्रतिशत पर्यटक पोखरा भित्रिने हुन। ४५ प्रतिशत पुग्न सकेको पनि देखिन्न,’ भट्टराई भन्छन, ‘अहिले भन्दा ढेढदशक अघिकै आगमन आकारमा पोखराको पर्यटन क्षेत्र अडिएको छ । यो आकारको आगमनले पर्यटनमा उत्साह देखिन्न।’

माउन्ट कैलाश रिसोर्टका संचालक समेत रहेको भट्टराईले पोखरामा विदेशी पाहुना भित्रिन नसक्नुमा सबैभन्दा बढी समस्या पहुँचमा रहेको बताउँछन्। उनका अनुसार अधिकांश विदेशी पर्यटक काठमाडौंबाट पोखरा आउँदा हवाई माध्यम रोज्दैनन्। किनकी नेपालको हवाई माध्यमबारे अन्तर्राष्ट्रियस्तरमा राम्रो सन्देश छैन। त्यसैले गर्दा काठमाडौं ओर्लिएका विदेशी पर्यटक स्थलमार्गबाट पोखरा आउने हुन। काठमाडौंदेखि पोखरासम्मको स्थलमार्ग पनि सकसपूर्ण रहेकाले सकेसम्म पोखरालाई बाइपास गर्न चाहने गरेका छन्।  

‘नेपालको आन्तरिक हवाई यात्रा असुरक्षित रहेको र स्थलमार्ग झन्झटपूर्ण रहेको सन्देश सर्वत्र फैलिएको छ। त्यसैले पोखराले पर्यटक आगमनमा उत्कृष्ट सुधार ल्याउनै सकेको छैन,’ उनले भने। उनका अनुसार महंगो रकम खर्चने पर्यटक स्थलमार्गबाट पोखरा आउँछन्। १०–२० जनासम्म हुने महंगा ती पर्यटक सुविधासम्पन्न सवारी चढेर पोखरा आउँछन्। नेपालको आन्तरिक हवाई यात्राप्रति ‘भीआईपी’ पर्यटकको अविश्वास रहेको उनले बताए।

‘नेपाल भित्रिएका मध्ये कम्तिमा ६० प्रतिशत विदेशीलाई पोखरा ल्याउन सक्नुपर्ने हो। त्यो हुन सकेन,’ उनले भने, ‘तर पोखराले आगमनको ४०–४५ प्रतिशतमै रोकिनुपरेको छ, जुन २०१० मै पुगेको थियो। डेढदशक अवधिमा पोखराको पर्यटनले कुनै तरिकाबाट पनि प्रगति गरेको भन्न सकिन्न।’  

अन्नपूर्ण क्षेत्रको पदयात्रा अवधि छोटिँदा पदयात्राका लागि आउने पर्यटक अन्यत्र गएको र त्यसको मार समग्र पर्यटन क्षेत्रले खेपेको उनले बताए। ‘अन्नपूर्ण फेरोको पदयात्रा अवधि तीनसाताको हो। तर, अहिले तीनदिनमा सकिन्छ। त्यसैले अन्नपूर्ण क्षेत्र आउने पर्यटकजति सबैजसो एभरेस्ट क्षेत्रमा तानिए। हामीकहाँ पर्यटक आकर्षण गर्न सकिएन,’ उनले भने, ‘पदयात्रा अवधि छोटिएको त छँदैछ, पर्यटकको बसाई अवधि बढाउने आकर्षण कार्यक्रम पनि हामीले दिन सकेको छैनौ।’ पर्यटकका लागि नौलो प्रडक्ट पस्कन सक्ने हो भने आकर्षण बढ्ने भएपनि त्यसमा पोखरा क्षेत्र चुकेको उनले बताए।  

प्रकाशित: ५ माघ २०८१ १६:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App