२ माघ २०८१ बुधबार
image/svg+xml
अर्थ

एक वर्षमा डेढ लाख बढी पुगे तिलौराकोट

विश्व सम्पदामा सुचीकृतका लागि प्रस्तावित प्राचीन कपिलवस्तुको बुद्धको क्रिडास्थल स्थल तिलौराकोटमा ४८ बढी देशका विदेशी पर्यटकले भ्रमण गरेका छन् । जापान, जर्मन, फान्स अमेरिकालगायत देखि ठुलो चीन सम्मका पर्यटकले तिलौराकोट अवलोकन गरेका छन् ।

तिलौराकोटमा सुरु गरिएको उत्खनन पछि विदेशी पर्यटक निरन्तर बढेका छन् । सन २०१४ देखि तिलौराकोटमा बेलायतको दुर्हम विश्व विद्यालयको प्राविधिक सहयोगमा पुरातत्त्व विभागले उत्खनन गर्दै आएको छ । कोरानाकाल पछि भने सन २०२०, २०२१ र २०२२ मा भने तिलौराकोटमा एकदमै न्यून पर्यटक आएका थिए । सन २०२४ मा कुल १ लाख ५२ हजार ११४ जना पर्यटकले तिलौराकोट भ्रमण गरेको लुम्बिनी विकास कोषको तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव आचार्यले बताए । कपिलवस्तु बाहेकका जिल्ला, भारतीय र ४८ देशका पर्यटक गरी सन २०२४ मा त्यति जनाले मात्र भ्रमण गरेको उनले बताए । सन २०२३ मा कुल ८१ हजार ८१९ पर्यटकले तिलौराकोटको अवलोकन गरेका छन् ।

सबै भन्दा बढी म्यानमार, थाइल्यान्ड, कोम्बोडिया, श्रीलंकाका बौद्धमार्गी यहाँ आएका थिए । सेप्टेम्बर देखि मार्च महिनालाई पर्यटक आउने सिजन मानिएको छ । अक्टोबर, नोभेम्बर र डिसेम्बरलाई पर्यटक आउने सिजन मानिन्छ । डिसेम्बरमा ६ हजार ९०५, नोभेम्बरमा ६ हजार ३४५ र ओक्टोरमा  २ हजार ९९७ जनाले तिलौराकोटमा भ्रमण गरेको तिलौराकोटकाका सुरक्षा गार्ड श्यामलाल तेलीले बताए ।  तिलौराकोट भगवान गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको तथा उनका पिता राजा शुद्धोदनको राजप्रासादका रुपमा परिचित छ । ९० प्रतिशत बढी विदेशी विश्व शान्ति, सद्भावको कामना र तीर्थाटन गर्न आउने गरेको तिलौराकोट स्थित लुम्बिनी विकास कोष तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव आचार्यले बताए ।

तिलौराकोटमा गरिएको उत्खनन र विश्व सम्पदा सुचीमा सुचिकृतकालागि प्रस्तावित गरिए पछि लगातार विदेशी पर्यटक बढ्नु राम्रो सङ्केत भएको लुम्बिनी विकास कोषका परिषद् सदस्य गोपीकृष्ण शर्मा किरनले बताए । ‘ तिलौरोटमा उत्खनन र विश्व सम्पदा सुचीकृतकालागि प्रस्तावित गरिए पछि विदेशीहरू आउने क्रम समेत बढेको हो ’ उनले भने । खास गरी यहाँ म्यानमार, श्रीलङ्का, बर्मा, भियतनाम, चीन, थाइल्यान्ड, कोरिया, जापान लगायतका पर्यटक अत्याधिक मात्रामा आउने गरेका छन् ।

तिलौराकोटमा पर्यटकको संख्या बढ्नु सकारात्मक कुरा भएको कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले बताए ।  स्थानीय युवा अगुवा प्रकाश घिमिरेले ठोस योजना र भौतिक पूर्वाधारको अभाव भएकाले प्राय भारतको बाटो हुँदै लुम्बिनीको भ्रमण पछि मात्र यहाँ आउने गरेका बताए  । बुद्धको क्रिडास्थल तिलौराकोटमा पाइला टेके पुण्य प्राप्ति हुने भएकाले पवित्र स्थल मानेर आउने गरेका छन् । यहाँको मुख्य दरबार भग्नावशेषमा आई सुत्रपाठ, पूर्वी र पश्चिमी गेटमा भगबान गौतम बुद्धको बाल्यकालको जीवन लीला पाठ गरे पछि मात्र शान्ति प्राप्त भई आत्म सन्तुष्टि हुने हुँदा यहाँ बौद्ध धर्मावलम्बी आउने बौद्धमार्गी बताउँछन् । बुद्धको जीवनसँग सम्बन्धित धेरै पुरातातिवक स्थल यहाँ हुँदा विदेशी पर्यटक आउने गर्दछन् ।

तिलौराकोट पछि निग्रमोधराम कुदान, धमनिया स्तुप, सगरहवा, निगालीकोट, गोटिहहवा, सिसहनियाकोट समेत पर्यटकहरू जाने गरेका छन् ।  विदेशी पर्यटक बढे पनि होटेल तथा पर्यटन व्यवसायी भने निराश छन् । तिलौराकोटमा आएका पर्यटकहरू सरदर ३९ मिनेट मात्र बिताएर फर्कने गरेका छन् । तिलौराकोट आएका पर्यटकको बसाई र व्यतीत गर्ने समय बढाउने किसिमले पूर्वाधार र सुन्दरी करण गर्नु पर्ने होटेल पामका मालिक माहन दाहालले बताए । तिलौरोटलाई सन २०२५ भित्रै विश्व सम्पदा सुचीमा सुचीकृतकालागि आवश्यक तयारी गरिएको कोषका ज्ञानिन राईले बताए । पुरात्व विभागले तिलौराकोट दरबार क्षेत्रमा जग्गा अधिग्रहणको काम समेत तीव्र रूपमा अघि बढाएको पुरातत्त्व विभागमा वरिष्ठ पुरातत्त्व अधिकृत राम बहादुर कुवरले बताए । 

प्रकाशित: १ माघ २०८१ १७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App